जन्मदाताहरू, एकैछिन नजर यता जाओस्

जन्मदाताहरू, एकैछिन नजर यता जाओस्

– सुशीलानाथ योगी

मलाई भोगाइको अनुभव त छैन लागुऔषधको मात र कुरूपता कस्तो हुन्छ तर खोज र अध्ययनअनुसार विभिन्न पदार्थ जसले प्राणीकोे शरीर तथा मस्तिष्कलाई नै लट्ठ बनाउँछ त्यसलाई लागुपदार्थ भनिन्छ अनि त्यही पदार्थको खराब लतलाई दुव्र्यसन भनिन्छ । यस्ता लागुपदार्थको लतले मानव मन निष्क्रिय हुन्छ ।

यसको अत्यधिक प्रयोगबाट मानिस एकदम बौलाहाजस्तै हुन्छ र लुटपाट, चोरी, डकैती, वेश्यावृत्ति, आत्महत्या, ठगी आदिजस्ता सामाजिक अपराधमा सम्मिलित हुन पुग्छ । लागुपदार्थको लत मुख्यतया दिमागसँग सम्बन्धित हुन्छ, जसले दिमागको कार्यशैली परिवर्तन गर्छ । ड्रग्स उपभोग गर्नका लागि एक अनियन्त्रित इच्छा हुन्छ, परिणामस्वरूप दुव्र्यसनी मानिस ड्रग्स लिन बाध्यकारी व्यवहारमा संलग्न हुन्छ । जब दुव्र्यसनीले ड्रग्सको सेवन नियन्त्रण गर्न असम्भव भएको पाउँछ, परिणामस्वरूप दिनहुँको जिम्मेवारी पूरा गर्न असफल हुन्छन् । लागुपदार्थको दुव्र्यसनलाई ड्रग निर्भरता पनि भनिन्छ । किनभने दुव्र्यसनले विशेष पदार्थका लागि निर्भरताको विकास गर्छ । यसलाई नशा पनि भन्ने गरिन्छ । लागुपदार्थको प्रयोगबाट निस्कने परिणाम निकै डरलाग्दो हुन्छ । यसले व्यक्ति स्वयंलाई मात्र नभएर, परिवार, समाज, राजनीति, राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमै खतरा पैदा गर्छ । यो मादक पदार्थ, रक्सीभन्दा दशौं गुणा हानिकारक हुन्छ । अहिले विश्वमै लागुपदार्थको प्रयोगकर्ता बढिरहेको छ र त्यसमा युवाको संख्या अधिक छ ।

विभिन्न कारणले गर्दा मानिस लागुपदार्थ दुव्र्यसनमा लाग्ने गरेको हुन्छ । साथी–संगीको दबाब र लहैलहैमा लाग्नु, बाबु–आमा तथा आफूभन्दा ठूलाहरूको देखासिकी गर्नु, पीर, चिन्ता, दुःख र तनाव हटाउनु छ भन्ने भ्रमपूर्ण विश्वास, लागुपदार्थको स्वाद लिने र अनुभव गर्ने इच्छा, लागुपदार्थले आनन्द दिन्छ, मज्जा आउँछ, मनोरञ्जन हुन्छ भन्ने भ्रमपूर्ण विश्वास, अशिक्षा, अज्ञानता, लागुपदार्थ सजिलैसँग उपलब्ध हुनु र पाउँदा प्रयोग गरी हाल्ने खराब बानी, लागुपदार्थ प्रयोग गर्ने व्यक्ति र विदेशी पर्यटकको प्रभावका कारण पनि लागुपदार्थ दुव्र्यसनमा लाग्ने गरेको पाइन्छ । घरको भित्ता पर्खाल, सडक, सिनेमाहल, पत्रिका, रेडियो, टेलिभिजन आदिमा देखाइने र प्रसार गर्ने आकर्षक विज्ञापन देखेर, आफ्नो घर–परिवारमा माया ममता रेखदेख र कदर नपाएर, व्यक्तिगत जीवन र परिवारमा नैराश्य, असफलता, ठूलाबडाबाट हैरानी, बेरोजगारी, आर्थिक संकटजस्ता समस्या एकपछि अर्को थपिँदै जानु, केटाकेटीलाई आवश्यक भन्दा बढी पैसा उपलब्ध गराउनु, दिएको पैसा कहाँ कसरी खर्च गर्यो भनी खोजी नगर्नु र छोराछोरीको गलत क्रियाकलापमा पनि चुप लागेर बस्नु, छोराछोरीको अगाडि बाबुआमा बीचको झगडा, बाबु आमाबाट माया–ममता नपाउनु, आमाबाबु नहुनु, परिवारबाट झुटा आश्वासन पाउनु पनि दुव्र्यसनमा लाग्नुका कारण हुन् ।

अहिले मुलुकभर झण्डै लाखौँ कडा लागुऔषध सेवनकर्ता रहेको तथ्यांकले देखाएको छ । प्रति वर्ष यो संख्या बढ्दै गएको छ । जसकारण हजारौँ युवाले बर्सेनि ज्यान गुमाउनुपरेको छ । जीवन भनेको आनन्द मात्रै कहाँ हो र ? तर, कुलतमा फसेका युवाको मनस्थिति ‘अन्तिमचोटि सास रहेसम्म एक सर्को तान्न पाऊँ, खान पाऊँ भनेर सोच्ने र जीवनलाई रमाइलो तरिकाले लिने र ड्रगलाई नै जिन्दगीजस्तो बनाउने । हुन त जीवनको व्यक्तिपिच्छे फरक–फरक परिभाषा होला मलाई भने जीवन भनेको एउटा सुन्दर उपहार हो, जुन उपहारलाई खेर फाल्नु हुँदैन, आफ्नो कारण कसैलाई पनि कुनै प्रकारको चोट दिनु हुँदैन जस्तै लाग्छ । लागुपदार्थ सेवकले आफ्नो मात्रै नभएर सिंगो परिवारको जीवनलाई कहालीलाक्दो सपनाजस्तै बनाएको हुन्छ । हिजो पारिवारिक संसारमा बाँचेको जीवन सम्झनसमेत सक्दैन, बस् आफ्नै नशाको संसारमा व्यस्त हुन्छ, कामुक हुन्छ । मैले देखेकी छु, धेरै नजिकैबाट अनुभव गरेकी छु, एक युवकले सानैदेखि लागुऔषध सेवन गरिरहँदा परिवारको विश्वासलाई टुटाएको साथीभाइको सम्बन्धलाई बिगारेको, समाजले हेर्ने नजरबाट गिरेको, आफ्नो सुन्दर जीवनको गला आफ्नै हातले निमोठेको ।

त्यति मात्रै कहाँ होर, अत्यधिक लागुऔषध सेवन गर्नाले कैयौं पटक साथीहरूको कुटाइ पनि खाएको । जीवनमा नसोचेको कुरा भएको । लागुऔषधका कारण केहीले ज्यान गुमाएको पनि देखे । यसबीच नशाले मानिसलाई के–केसम्म गराउन बाध्य गराउने रै’छ भन्ने बुझेँ । मलाई लाग्छ लागुऔषधको नशामा पूरै डुबिसकेपछि त्यसलाई छुटाउन त्यति सजिलो हुँदैन । सायद नखाएरै एक दिन पनि, एकछिन पनि बस्नै नसकिने हुन्छ । नखाऊँ भन्दा भन्दै पनि खान मन लागिहाल्छ । नशादेखि उम्कन सक्दैन, नशामै डुबेर मर्छु कि जस्तो लाग्छ । सायद हरकोहीले नशाबाट छुटकारा पाउनका लागि लामो समय आफूभित्रै लडाइँ लड्न सक्दैन । कति पटक आफैँप्रतिको विश्वास टुट्छ होला । आशाहरू निराशमा बदलिन्छन् होला । केही समय सुधारगृहमा बसे पनि मनमा नशाबाट छुट्कारा पाउन गाह्रो छ है भन्ने लाग्छ होला । लागुपदार्थ सेवकमा एकोहोरोपन, फ्रस्टेसन, डिप्रेशन, सोच्न सक्ने शक्ति हराउने, स्मरण शक्ति कम हुने, नकारात्मक भावनाको सिर्जना, आत्महत्या गर्न प्रेरित हुनेजस्ता समस्या हुन्छन् भनिन्छ । हुन त यस्तै स्वभाव हामीले उनीहरूबाट महसुस पनि गरिरहेका हुन्छौं । त्यति मात्रै नभएर जब कुनै एक व्यक्ति परिवारमा लागुपदार्थको शिकार बन्छ तब उसको सिंगो परिवारले पारिवारिक तथा सामाजिक असरहरू भोग्नुपरेको हुन्छ । जस्तै ः पारिवारिक असमझदारी, दैनिक झगडा, अशान्ति, खल्लो अनि रित्तो रित्तो अनुभूति, पारिवारिक दूरी, अनैतिक कार्यमा संलग्नता इत्यादि ।

लागुपदार्थ दुव्र्यसन समाजको प्रमुख समस्या हो । यो दिनप्रतिदिन बढ्दै गइरहेको छ । मानिस लागुपदार्थ दुव्र्यसनको कारण परिवार र समाजबाट अलग्गिनुपर्ने, विभिन्न प्राणघातक रोगको शिकार बन्नुपर्ने, लागुपदार्थको दुव्र्यसनमा लागेपछि परिवारमा सधैं नैराश्यता देखा पर्ने, समाजले हेर्ने दृष्टिकोण नै फरक हुने, बीचैमा पढाइ छोडी शिक्षा हासिल गर्न नसक्ने, परिवारमा सधैं झैझगडा पर्ने हुन्छ । पारिवारिक सम्बन्ध बिग्रने, सम्बन्धविच्छेद हुनेजस्ता असर देखा पर्छ । परिवारले बसाइँ सरेर अन्त जानुपर्ने स्थितिसमेत आउँछ । व्यक्तिले लागुपदार्थ प्राप्त गर्न पैसा चोर्ने, गरगहना वा अन्य सरसामान बेच्ने गर्दा परिवारको आर्थिक स्थिति खस्कँदै जान्छ र समाजले परिवारलाई समेत नराम्रो दृष्टिले हेर्छ । समाजले लागुपदार्थ दुव्र्यसनीलाई नकारात्मक रूपले हेर्ने गरेको पाइन्छ । समाजमा लागुपदार्थ दुव्र्यसनीले गर्दा घर, गाउँ, शहर, समाजमा हत्या, हिंसा, बलात्कार, लुटपाट, चोरी, डकैती, पारिवारिक कलह, गुण्डागर्दी बढ्न थाल्छ ।

विकास निर्माणका काममा अवरोध आउँछ । समाजमा उसको अवस्था निरीह र प्रतिष्ठामा कमी हुन्छ । लागुपदार्थको असरले गर्दा व्यक्तिले रोजगारीको अवसर नपाउने, पाएको रोजगारी पनि गुमाउने, राष्ट्रको उत्थान र विकासका कार्यमा टेवा दिन नसक्ने हुन्छ । गरिबी, अशिक्षा, रुढीवादी परम्परा, लिंगभेद र जातीय भेदभावमा आबद्ध समाजमा एक छाक खान र एकसरो लगाउन नसक्ने समस्या बढ्दै जाने र भविष्यका कर्णधारसमेत मानिने युवा वर्गमा एचआईभी एड्स, हेपाटाइटिसजस्ता रोगबाट पीडित हुनुपर्ने स्थिति आउँछ । फलस्वरूप परिवार, समाज र राष्ट्रलाई सधैं आर्थिक रूपमा असर पर्छ । लागुपदार्थ समस्याको समाधानका लागि दुव्र्यसनमा लागेकालाई साथी–संगीको संगत र खराब वातावरणमा नियन्त्रण गर्नुपर्ने हुन्छ । घर र विद्यालयको वातावरणले गर्दा दुव्र्यसनमा फस्ने हुँदा अभिभावकले बेलैमा यसबारे सोच्न सके यसको नियन्त्रण गर्न सकिने देखिन्छ । घरपरिवार र समाजले घृणाको दृष्टिले नहेरी अरु के–कति कारणले दुव्र्यसनमा संलग्न हुन पुगेका हुन् पत्ता लगाई समाधान गर्नेतर्फ ध्यान दिनुपर्छ । केटाकेटीलाई लागुपदार्थबाट हुने असरबारे सचेत पारी त्यस्ता पदार्थबाट टाढै रहन प्रेरित गर्नुपर्छ ।

प्रचार प्रसारका साधन जस्तोः रेडियो, टेलिभिजन तथा पत्रपत्रिकालाई प्रभावकारी बनाई यिनको माध्यमबाट लागुपदार्थविरुद्ध जनचेतना जगाउनुपर्छ । नीतिगत रूपमा हेर्दा सरकारले लागुपदार्थ दुव्र्यसनसम्बन्धी राष्ट्रियस्तरबाटै जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने हो भने पनि दुव्र्यसनलाई कम गर्दै लैजान सकिन्छ । जनचेतनामूलक कार्यक्रम गरी नियन्त्रणसम्बन्धी अभियान चलाउने, ध्यान, योग, पारिवारिक परामर्श, लागुऔषध उपचार तथा पुनःस्थापना गर्ने, स्वास्थ्य सेवा तथा परामर्श, खेलकुद कार्यक्रम सञ्चालन गर्ने, लागुपदार्थ दुव्र्यसनसम्बन्धी घर, परिवार, समाजमा विभिन्न खालका सचेतनाका कार्यक्रम सञ्चालन गर्ने, सरकारले कानुनी तवरले पनि यसलाई प्राथमिकतासाथ अघि बढाउने र कार्यान्वयन गरी लागुपदार्थ दुव्र्यसनलाई रोक्न सकिन्छ । जीवनलाई कर्तव्य र आनन्दको संगम ठान्न नसक्दा मानिस अनौठो विकृतिको खाडलमा भासिन पुग्छ । जीवनसँग हरेस खाएर, मानसिक तनाव भएर वा डर र त्रास मेटाउने बहानाले लागुपदार्थको लतमा लाग्ने युवा त वास्तवमा युवा होइनन्, वायु हुन्, त्यो पनि दूषित वायु । लागुपदार्थको लत विकृतिको कारण हो भने सकारात्मक सोच नै उन्नतिको बाटो हो ।

लागुपदार्थको दुव्र्यसन विश्वव्यापी समस्याको रूपमा रहेको छ । जहाँ जति मात्रामा दुव्र्यसनीहरू छन्, त्यहाँ त्यति मात्रामा अशान्तिले जरा गाडेको हुन्छ । आजका युवा भोलिका देश हाँक्ने सारथि हुन् । भोलि देश कुन बाटोतर्फ मोडिनेछ भन्ने कुरा उनीहरूकै हातमा हुन्छ । आजका युवा भोलिका आसलाग्दा शक्ति हुन् । यदि युवाहरू नै दुव्र्यसनी भए भने देशको विकास कसरी हुन्छ त ? आजका युवा नै भोलिको जिम्मेवारीयुक्त तहमा पुगे भने स्थिति के होला, परिकल्पना नै गर्न सकिन्न । जसरी एक अन्यायी व्यक्तिबाट न्यायको कतै पनि कल्पना गर्न सकिन्न, त्यसरी नै एक दुव्र्यसनी र अस्वस्थ व्यक्तिबाट स्वस्थ समाजको परिकल्पना गर्नै सकिन्न । गलत संस्कारले गलत संस्कृतिलाई जन्माउँछ र गलत संस्कृतिले हाम्रो गौरवको ज्यान लिएर राष्ट्रलाई नै खोक्रो बनाउँछ । अब त युवा शक्तिले आँट गरे मात्र लागुपदार्थ दुव्र्यसनको न्यूनीकरण गर्न सकिन्छ । खाली दिमाग सैतानको डेरा हुन्छ, त्यसैले त हरेक युवालाई कुनै सिर्जनशील कार्यमा लगाउनुपर्छ । यसका लागि अब सबै युवाले मिलेर सामाजिक जनचेतनाको अभियान सञ्चालन गर्नुपर्छ । भोलिका सरकार हाँक्ने आजका युवाले प्रमुख पात्रका रूपमा लागुपदार्थ उत्पादकलाई अरू उत्पादनमा लगाउन सरकारलाई दबाब दिनुपर्छ । युवा शक्ति नै त्यो शक्ति हो जसले सकारात्मक सहयोगी र सिर्जनशील भूमिकाका माध्यमबाट लागुपदार्थ दुव्र्यसन न्यूनीकरण गर्न सक्छन् । युवाले चाहे के हुँदैन र ? युग बदलिन सक्छ, क्रान्ति ल्याउन सक्छ भने लागुपदार्थको दुव्र्यसन कुन ठूलो कुरा हो र ? जहाँ इच्छा त्यहाँ उपाय भनेझैं यदि सम्पूर्ण युवाहरू प्रतिबद्ध भएर यसको न्यूनीकरण अभियानमा लाग्ने हो भन्ने यो असम्भव छैन ।

टिप्पणीहरू