न्यायपरिषद् सचिव एकाएक किन विरक्त ?

न्यायपरिषद् सचिव एकाएक किन विरक्त ?

न्यायपालिकाको माथिल्लो संस्था न्यायपरिषद्का सचिव देवेन्द्रराज ढकालले फेसबुकमार्फत हदैसम्मको पीर, वेदना र दिग्दारी पनि पोखेका छन् । न्यायपालिकाभित्र विगतमा चाकरी, चाप्लुसी, भजनमण्डली, आफन्तवाद, झारा टारुवा प्रवृत्ति, देवत्वकरणजस्ता प्रवृत्तिको पहिचान बनेको भन्दै उनले सामाजिक सञ्जालमार्फत कवितात्मक शैलीमा यस्ता नौ वटा प्रवृत्ति सार्वजनिक गरेका छन् । यी प्रवृत्तिमा सुधार नभै न्यायपालिकाले जनविश्वास आर्जन गर्न नसक्ने दाबीसहित उनले सुधारका लागि न्यायपालिका नेतृत्व लक्ष्यित सुझाव पनि दिएका छन् ।

ढकालले फेसबुकमा जनाएअनुसार न्यायिक नेतृत्वले आफ्ना मान्छेको नियुक्ति र अनुकूल सरुवामा लिप्त, न्याय दिने र काममा सुधार गर्नेमा ध्यान कम भन्ने जनतामा पहिचान बनेको एउटा कारण दिएका छन् । यस्तै प्रधान न्यायाधीशलगायत माथिल्लो पदमा नियुक्तिका लागि पालो प्रणाली हावी रहेको भन्ने पहिचान न्यायपालिकाले बनाएको उनको भनाइ छ । जनमानसमा तल्लो पदको नियुक्ति वा बढुवा पाउन लेखन क्षमता, अतिरिक्त शैक्षिक योग्यता, इमान्दारी आदिको हिसाब हुने तर प्रधानन्यायाधीशलगायत माथिल्लो पदमा नियुक्तिका लागि पालो प्रणाली हावी रहेको सन्देश बाहिर रहेको बुझाई उनको छ ।

‘न्यायपालिकीय स्वतन्त्रताको प्रयोग स्वार्थपूर्ण कामको बचाउ गर्ने कवचको रूपमा गर्ने । स्वार्थ मिल्दा गिभ एण्ड टेक अपनाउने र नमिल्दा हस्तक्षेपको रोइलो गर्ने नेतृत्व, ’ ढकालले जनतामा विगत न्यायपालिकाको पहिचान यसरी औंल्याएका छन्, ‘फलानो ब्यक्ति फलानो समयमा नेतृत्वमा पुग्छ, फलानालाई रिझाउन सके फलानालाई उछिनेर फलाना ठाउँमा पुगिन्छ भन्ने सोचको विकास ।’ यस्तै भविष्यमा शक्तिमा पुग्ने सम्भावना भएका व्यक्तिका सबै अवगुण छोपेर देवत्वकरण गर्ने आममानसिकता पनि एउटा पहिचान रहेको उनको टिप्पणी छ । न्यायपालिकाभित्रको हानथापको विषयमा पनि बाहिरी पहिचानबारे उनको सटिक टिप्पणी छ, ‘मरेको भैँसीलाई जुम्राले पनि छाड्छ भन्ने उखानको व्यवहारमा प्रयोग । फलानो ठाउँमा पुग्न र टिक्नलाई सबै हतकण्डा अपनाउने र आफूले देशै धानेको छु, अरू सबै भातमारा हुन् भनेर गीत गाउनेको वर्चस्व ।’

न्यायपालिकाभित्र शक्तिमा हुनेले भजनमण्डली तयार गर्ने र मण्डलीले नेताको भजन गाउने चलनको विकास भएको बाहिरी बुझाइ रहेको पनि उनले औंल्याएका छन् । ढकालले औंल्याएअनुसार न्यायपालिकाभित्र जस पाइने काम पालै मिचेर भए पनि छिटो गर्ने तर अपजस पाइने काम गर्नैपर्ने भए पनि टार्दै जाने परिपाटी रहेको विगत पहिचान बनेको छ । परिषद् सचिव ढकालले धेरै कुरा सकारात्मक हुँदाहुँदै पनि यो कालखण्डमा बनेको न्यायालयको यस्तो पहिचान नमेटिएसम्म जनविश्वास आर्जन गर्ने विषय फगत एक गफ मात्र हुने बताएका छन् । फेसबुकमा नौ बुँदे जनगुनासा दर्शाउँदै अन्त्यमा उनको सुझाव छ, ‘विगतमा पदार्पणको समयमा अकारण हिरो बनाइएका व्यक्ति बहिर्गमनको समयमा कसरी जिरो भए, तिनको सहि औकात के थियो भन्ने कुराको निर्मम समीक्षा गर्नुपर्छ। आफ्ना कमजोरी पनि स्वीकार गर्न सक्नुपर्छ, तब मात्र सुधार हुन्छ भन्ने मान्यतालाई आत्मसात् गरौँ ।’

टिप्पणीहरू