रविको गिरोहले यसरी कुम्ल्यायो

रविको गिरोहले यसरी कुम्ल्यायो

मेरो घरनजिकै कित्ता नम्बर ५३, ५४ र ५५ नम्बरको प्लटिङसहितको नक्सा प्रिन्ट निकालें । ह्युल्ला इञ्जिनियरिङ एण्ड कन्स्ट्रक्सनलाई नक्सा स्केच बनाउन लगाएँ । बुकिङ खुला गरें । जग्गाधनीहरूसँग उक्त जग्गा किनेको भने थिइन । म विरुद्ध ज–जसले जाहेरी दिए उनीहरूसँग जग्गा बिक्रीका लागि बैना गरेको थिएँ । सोही कित्तासँग जोडिएका ४७, ५२, ५७, ५८, १४६ र १४७ का जग्गासहित आफूखुशी डिजाइन गर्न लगाएँ । बैना लिएका व्यक्तिहरूले ताकेता गर्न थालेपछि लेखापढी व्यवसायी राजन थापा र सीताकुमारी थापासँग सम्पर्क गरी उनीहरूलाई २०७९ जेठ १२ गते नापी कार्यालयले कित्ताकाट गरेको मालपोत कार्यालयलाई जानकारी गराएको पत्रमा राजन थापाले सही गरे । १५०१ देखि १५७६ नम्बरको कित्ता राजन थापाले सही गरेर तयार गरे । उनले तयार गरेका कित्ताहरू अर्जुनप्रसाद हुमागाईले देखाए ।

०७९ असार १७ गते राजन थापाले कम्प्युटरमा राजीनामा लिखत तयार गरे । मालपोतका कर्मचारी मिलाउन थापाले २ लाख लिए । राजन थापाले तयार गरेको राजीनामा लिई मालपोत कार्यालय गएकोमा जग्गाधनी पुर्जा र नेपाली कागजको लेटरप्याड, अनलाइन फोटो खिच्ने, बायोमेट्रिकको लागि कम्प्युटर अपरेटर शसित भण्डारीलाई ९० हजार दिएँ । उनले नै जग्गाधनी पुर्जा बनाउने मालपोत कार्यालय काभ्रे उल्लेख गरेको लेटरप्याड उपलब्ध गराएका थिए । राष्ट्रिय वाणिज्य बैंकको भौचर र रजिस्ट्रेसन तिर्ने मालपोत रसिद मालपोत कार्यालयबाहिर राजन थापाले ल्याएर दिएका हुन् । २०७९ असार १७ गते जग्गाधनी प्रमाणपत्र, घरबाटो सिफारिस, तिरो तिरेको रसिद विना कम्प्युटर अपरेटर शसित भण्डारीले जग्गाधनीको फोटो खिचे । डिजिटल स्क्यान ल्याप्चे र दस्तखत सहीछाप लिए । राजीनामा लिखत रुजु गर्ने, लेनदेन भए नभएको सोध्ने कार्यको व्यवस्था मिलाउन सीता थापाले मसँग १ लाख ४९ हजार लिएकी थिइन् । राजीनामा लिखत रुजु गर्ने, लेनदेन भए नभएको सोध्ने कार्यको लागि खरिदार रामविनय यादवलाई स्टोर रुममा ७० हजार दिएको थिएँ । उनले पैसा लिएपछि एक हप्ता पछि पुर्जा आउँछ भनेर विश्वास दिलाएका थिए ।

२०७९ असार १७ गते बेलुका शसित भण्डारीले फोटो, औठाछाप राखी जग्गाधनी पुर्जाको लेटरप्याडको सफ्टकपी राजन थापालाई दिएका थिए । निजले विवरण आफैँले टाइप गरेर प्रिन्ट गरेका हुन् । २०७९ असार ३१ गते निर्मला उप्रेतीको जग्गाधनी पुर्जामा छाप हानेको सहि नभएकोमा मैले सहिछाप गरेर दिएँ । गणेश मैनाली, रिता तिमल्सिना, रुक्मणि हुमागाई, पुण्यवती श्रेष्ठ र मेरो नामको अर्को कित्ता नम्बर ५४ र २४५० उल्लेख भएको पुर्जामा राजन थापा र सीताकुमारी थापाले सहीछाप गरेका थिए । गणेश मैनालीसँग १८ लाख, रिता तिमल्सिनासँग १८ लाख, रुक्मणी हुमागाईसँग २५ लाख, निर्मला उप्रेतीसँग २० लाख, पुण्यवती श्रेष्ठसँग ३८ लाख र बालकृष्ण श्रेष्ठसँग ५४ लाख लिएर पुण्यवती श्रेष्ठको ज्वाइँलाई कमिसनबापत ३ लाख दिएको थिएँ । उजुरी परेर म पक्राउ परेपछि पुण्यवतीका ज्वाईं रामचन्द्रले ३ लाख कमिसन फिर्ता गरेका थिए ।

२०७९ जेठ १२ गते कित्ताकाट गरिएको नापीको २०७९ जेठ १९ गते हाल साविक गरेको पत्र राजन थापाले सहि गरी मलाई दिए । सोही कागज सीताकुमारी थापाले मालपोतमा गई छाप लगाएकी हुन् । राष्ट्रिय वाणिज्य बैंकको रसिदमा मैले सहि गरें, सीताकुमारी थापाले गएर छाप लगाइन् । थप कागजात सीता र राजनको लेखापढी सेन्टरमा बसेर तयार गरेका हौं । ठगी र किर्तेमा राजन थापा, सीताकुमारी थापा, शसित भण्डारी, रामविनय यादव र मेरोसमेत संलग्नता छ । २०७० भदौ ३१ गते बैंकिङ कसुर मुद्दामा ३ हजार जरिवाना हुने गरी उच्च अदालत पाटनबाट फैसला भएको थियो । सरकारी छाप दस्तखत किर्ते र ठगी मुद्दामा कास्की जिल्ला अदालतबाट २०६८ असार १४ मा एक वर्ष कैद र ५ हजार जरिवाना हुने गरी फैसला भएको थियो । यहाँ पनि मैले ठगी योजनाबद्ध रूपमा गरेको हुँ । त्यो दिन थाहा नपाएको भए अझ धेरै ब्यक्तिलाई ठग्ने योजनामा थिएँ । बालकृष्ण श्रेष्ठलाई जग्गा व्यवसाय गर्ने साथी अर्जुनकुमार हुमागाईले कुराकानी गरेका थिए । साविक चण्डेश्वरी २ ख को प्लानिङ नक्साको २६ कित्ताको प्रति आना १५ लाखका दरले लिने सहमति भएको थियो । प्लानिङ स्केचअनुसार कित्ता नम्बर उल्लेख गरी लेखनदास सीताकुमारी थापाले तीन महिनाको पास गर्ने अवधि राखेर कागज गरेका थिए । २०७८ चैत्र ९ गते बालकृष्ण श्रेष्ठसँग ५० लाख र २०७९ असार २६ गते ४ लाखको बैना कागज गरेका थिए । साक्षीहरूको बयान, तत्काल देखिएको प्रमाण र अभियुक्तहरूको स्वीकारोक्तिका आधारमा प्रहरीले बालकृष्ण श्रेष्ठसँग रेग्मीले ५४ लाख रूपैयाँ ठगी गरेको स्वीकारेका छन् । अर्जुनकुमार हुमागाईं समेतले जग्गाको फिल्ड देखाई उक्त जग्गाहरूको स्केच नक्सा निकाली बिक्री गर्न सहयोग गरेका थिए । (रवि रेग्मीको बयान)

बनेपा नगरपालिकामा हुँदै नभएको जग्गा बिक्री गर्ने अपराधमा संलग्न भएको अभियोगमा सरकारी छाप दस्तखत किर्ते र ठगी गरेको तथा ठगी अभियोगमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले अभियोग दर्ता गरिएकामध्ये तीन जनालाई पुर्पक्ष गरेको छ भने एक जनालाई धरौटी माग गरेको छ । बाँकी चार जनालाई पक्राउ पुर्जी जारी गरिएको छ । जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले प्लटिङका लागि नक्सा तयार गर्ने इञ्जिनियर निर्मल स्याङतानलाई किर्ते र सरकारी छाप दस्तखत किर्ते अभियोगमा ७५-७५ हजार धरौटी माग गरेको छ । त्यस्तै, ठगी अभियोगका मुख्य अभियुक्त रवि रेग्मी, मालपोत कार्यालय काभ्रेका कर्मचारीद्वय शसित भण्डारी र रामविनय यादवलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । श्रेस्तेदार गोविन्दप्रसाद घिमिरेका अनुसार अभियोग दर्ता भएकामध्ये बाँकी चार जना लेखापढी कानुन व्यवसायी सीताकुमार थापा, उनका श्रीमान् राजन थापा, रामचन्द्र श्रेष्ठ र अर्जुनकुमार हुमागाईंलाई पक्राउ पुर्जी जारी गरिएको छ । मुख्य अभियुक्त रवि रेग्मीसहित ८ जनाविरुद्ध ठगी र किर्तेमा अलग अलग मुद्दा दर्ता गरिएको थियो । संगठित अपराधमा मुद्दा दर्ता गर्ने भन्दै अदालतबाट पटक–पटक ६० दिनको म्याद पाएको प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

सरकारी वकिलको कार्यालयले मुद्दाको अभियोग पत्र बदलेर २४ दिन मात्रै हिरासतमा राखी अनुसन्धान गर्न पाउने सरकारी छाप दस्तखत किर्ते र ठगीमा मुद्दा दर्ता गरेको हो । ठगी र सरकारी छाप दस्तखत किर्ते अभियोगमा भाद्र २९ गते बुधबारबाट अभियुक्तहरूको बयान शुरु भएको थियो । बयान सकिएलगत्तै थुनछेक बहस शुरु भएको थियो । प्रहरीले जग्गा बिक्री गर्ने रवि रेग्मी, मालपोत कार्यालय काभ्रेका दुई कर्मचारी शसित भण्डारी र रामविनय यादव, लेखापढी तथा कानुन व्यवसायी सीताकुमारी थापा र उनका श्रीमान् राजन थापा, इञ्जिनियर निर्मल लामा, जग्गा खरिद गर्न सहयोग गर्ने रामचन्द्र श्रेष्ठ र जग्गा खरिद गरी साक्षी बसेका अर्जुनकुमार हुमागाईंविरुद्ध ठगी र सरकारी छाप दस्तखत किर्ते अभियोगमा मुद्दा दर्ता गरेको थियोे । करिब १ करोड ७३ लाख २९ हजारको बिगो दाबी गर्दै प्रहरीले दर्ता गरेको मुद्दामा पीडितहरूले न्यायका लागि हदैसम्म कारवाहीको माग गरेका थिए ।

रवि रेग्मीले हुँदै नभएको जग्गा बिक्री गरेका थिए भने लेखापढी व्यवसायी सीताकुमारी थापा र उनका श्रीमान् राजन थापाले सरकारी छाप दस्तखत किर्ते गरेका थिए । पुर्जा प्रिन्ट गर्ने, मालपोत, नापी तथा अन्य कार्यालयको छाप तयार गरी कर्मचारीहरूको हस्ताक्षर नक्कल गर्ने काम गरेका थिए । मालपोत कार्यालयका कर्मचारीद्वय भण्डारी र यादवले पुर्जाका लागि आवश्यक पर्ने फोटो खिचाउँदै मोठ भिडाउन सहयोग गरेका थिए । हुँदै नभएको जग्गाको मोठ भिडाउँदै अफलाइन जग्गा पास गर्ने अभियानमा उनीहरूको संलग्नता देखिएको थियो । इञ्जिनियर निर्मलले नापी कार्यालयले गर्ने कित्ताकाट गरी प्लट तयार गरिदिएका थिए । रामचन्द्र श्रेष्ठले आफ्नै जेठानलाई जग्गा खरिद गर्दा कमिसन लिएका थिए । उनले कमिसन फिर्ता गरिसकेका छन् । अर्जुनकुमार हुमागाई आफैँले जग्गा खरिद गरेर पीडित भएका थिए तर उनले अरूलाई जग्गा खरिद गर्दा समेत साक्षी बसेकाले उनको पनि मिलेमतो देखिएको थियो । रविको कोठाबाट बरामद भएका पुर्जाहरूमा अन्य ब्यक्तिहरूका नाममा तयार भएका नक्कली पुर्जा फेला परेका छन् । साविक बनेपा १ हाल बनेपा ५ मा पर्ने खोला किनारको जमिन देखाउँदै ७६ कित्ताको प्लट बनाएर नक्कली कागजात तयार गरी ठगी गर्नेमध्येका रेग्मी र अन्यको संलग्नताबारे प्रहरीले गोप्य अनुसन्धान गरेको थियो । ‘एउटै प्लट देखाएर ठगिनेहरू मध्ये ८ जनाको उजुरी परेको थियो’–प्रहरी प्रमुख एसपी चक्रराज जोशीले भन्नुभयो–‘थप पीडितहरू भए पनि प्रहरीको सम्पर्कमा आएनन् ।’

पीडितहरू गणेश मैनालीको ३२ लाख ७० हजार, सीता तिमल्सिनाको ३३ लाख ३ हजार ७ सय ५०, रुकमणि हुमागाईको २३ लाख ३ हजार ७ सय ५०, निर्मला उप्रेतीको ४६ लाख ५१ हजार ८ सय ७५, लालकृष्ण घिमिरेको ५४ लाख, पुण्यवती श्रेष्ठको ३८ लाख रहेको छ । जग्गा किन्न बैना रकम दिनेहरू बालकृष्ण श्रेष्ठको ५० लाख र बाबुकाजी श्रेष्ठको ५ लाख छ । अनुसन्धानका क्रममा प्रहरीले २६ वटा लालपुर्जाको बारेमा अनुसन्धान गरेको थियो । बनेपा ५ मा गुठीमा रूपमा राखेका ज्ञानबहादुर शाही, जीवन शाही, चन्द्रबहादुर शाहीको जग्गाका साथै रेवती दाहाल र अर्जुन दाहालको नाममा रहेको जग्गा देखाउँदै रेग्मीले सर्वसाधारणलाई ठगेका थिए । प्रारम्भिक अनुसन्धानमा रेग्मीका २६ वटा खाता फेला परे । उनले डेढ करोड रकम दिएर बैना गरेका ५ वटा जग्गा पनि नक्कली देखिएको छ । नक्कली जग्गाको बैना गर्नेहरूमा सहकारीका सञ्चालक पनि थिए । रेग्मीले नाबालक छोरा आयुषका नाममा नुवाकोट, रामेछापलगायतका जिल्लामा जग्गा खरिद गरेका छन् । सबै जग्गा चेक अनादरको मुद्दा दर्तासँगै अदालतले रोक्काको आदेश गरेको छ ।

– मोतीराम तिमल्सिना

टिप्पणीहरू