क्वालालम्पुरस्थित नेपाली दूतावासमा श्रमिक सहायता केन्द्र स्थापना गरिने

क्वालालम्पुरस्थित नेपाली दूतावासमा श्रमिक सहायता केन्द्र स्थापना गरिने

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले त्यहाँ कार्यरत नेपाली श्रमिकहरुले भोग्दै आएका समस्या समाधानको निम्ति श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले गैरआवासीय नेपाली संघसहित मलेसियामा रहेका नेपाली संघ–संस्थाहरुले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै घर फिर्ती, तलब सुविधा, आवास, कानुनी समस्या तथा स्थानीय प्रशासनसँग सम्बन्धित समस्या तत्काल समाधान गर्न २४ सै घण्टा श्रमिक सहायता केन्द्र सञ्चालन गरिने जानकारी दिएका हुन् ।

विषम परिस्थितिमा जोखिममा परेका नागरिकहरुको उद्धार तथा समस्या समाधानका लागि कल सेन्टर, कानुनी सहायता तथा सेल्टरलाई व्यवस्थित गरिने राजदूत पौडेलले बताए । मलेसियामा रहेका नेपाली संघ संस्थाहरुसँगको समन्वय तथा सहकार्यलाई विशेष महत्व दिने एवम् दूतावासको सेवा पुग्न नसक्ने स्थानमा नेपाली संघ संस्थालाई परिचालन गर्ने योजना रहेको राजदूतले उल्लेख गरेका छन् ।

नेपाल सरकार र मलेसिया सरकारबीच सन् २०१८ अक्टोबरमा भएको श्रम समझदारीमा उल्लेखित श्रमिक अधिकारका विषयको प्रभावकारी कार्यान्वयन आफ्नो प्राथमिकतामा रहेको राजदूतको भनाइ छ । सो अवसरमा मलेसियामा रहेका नेपालीलाई बैंकिङ च्यानलबाट मात्र रेमिटेन्स पठाउन आग्रह गर्दै हुण्डीलगायत अवैध माध्यमको प्रयोगलाई नियन्त्रण गरिने जानकारी पनि राजदूतले दिए ।

टिप्पणीहरू