सरुवा अर्थ मन्त्रालयको, उपसचिव डलर अर्बपतिको

सरुवा अर्थ मन्त्रालयको, उपसचिव डलर अर्बपतिको

अर्थ मन्त्रालयले हालै गरेको कर्मचारी सरुवामा डलर अर्बपति विनोद चौधरीको रोजाइका उपसचिवलाई रोजिएको भन्सार कार्यालयमा पुर्याइएको छ । पूर्व नायव सुब्बा रघु घिमिरेको टाइपिष्टसमेत रहेका उपसचिव मणिराम पौडेललाई भैरहवा भन्सार कार्यालयमा लगिएको छ ।

घिमिरे उनै हुन् जसलाई अर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा चालु आर्थिक वर्षको बजेटको रकम र शीर्षक हेरफेरको निम्ति गत जेठ १४ गते राति मन्त्रालय पुगेको आरोप लाग्दै आएको छ । अर्थमन्त्री शर्मा,विना विभागीयमन्त्री उमेश श्रेष्ठ,प्रधानमन्त्री पुत्र जयवीर देउवा र डलर अर्बपति विनोद चौधरीको व्यापारिक योजनामा सहयोग पुर्याएको समूहमा उनै पौडेल थिए ।

पदीय रुपमा सुब्बा तहका कर्मचारी घिमिरेका टाइपिष्ट भने उपसचिव पौडेल थिए । उनै पौडेललाई पुरस्कारस्वरुप भैरहवा सरुवा गरिएको बताइन्छ । मणिराम पहिले भन्सार विभागमा निर्देशक थिए । पद शाखा अधिकृत हुँदै उपसचिव भए पनि काम टाइपिष्टको भएकाले उनले मन्त्रालयको बजेट महाशाखामा बसेर लामो समयसम्म सबै काम तमाम गर्दै आएको बताइन्छ ।

‘अर्थमन्त्रीलगायतले भन्ने,रघुले बजेटमा सिसाकलमले लेख्ने र त्यसलाई कम्प्युटरको भाषामा मिलाउने उनै हुन् । पौडेल पहिले भन्सार र करमा बसेकाले अंक मिलाउन खप्पिस छन् । त्यही पुरस्कारवापत भैरहवा भन्सारमा लगिएको छ । अहिलेको सरुवा अर्को सेटिङको निम्ति भएको हो,’ मन्त्रालयको उच्च स्रोतले बतायो । भन्सारबारे राम्रो बुझेका ज्ञानेन्द्र ढकाललाई एक वर्ष नपुग्दै त्यहाँबाट तानेर अहिले भैरहवामा पौडेललाई लगिएको हो ।

चौधरी ग्रुपका अधिकांश सामान र कच्चा पदार्थ भैरहवा नाकाबाटै ल्याइन्छ । अन्य नाकालाई सिजीले आफ्ना सामान आयातको निम्ति प्राथमिकतामा राखेको देखिँदैन । पौडेललाई चौधरी ग्रुपसँग निकट भएकाले अब बाँकी काम तमाम गर्न त्यहाँ पुर्याइएको स्रोतको दाबी छ ।

‘अर्थमन्त्री र चौधरीका विश्वासिलो मान्छे भएकाले पनि पौडेल छनौटमा परेको र बियरको कच्चापदार्थदेखि सिजीले सबैजसो सामान सुनौली नाकाबाट मगाउने गरेकाले उनी प्राथमिकतामा परेका हुन्,’ भन्सार विभागका एक जना सहसचिवले भने ।

प्राप्त जानकारीअनुसार अर्थ मन्त्रालयको सरुवाअन्तर्गत सिमराको कर कार्यालयमा काम गरेका नारायण भण्डारीलाई रसुवा लगिएको छ । त्यहाँबाट रामप्रसाद मैनालीलाई फिर्ता गरिएको छ । भलै उनी काँग्रेस समर्थकको रुपमा चिनिन्छन् । राजेन्द्र चुँडाललाई वीरगञ्ज पठाइएको छ । उनी सहसचिव तुलसी सेढाईंका सालो हुन् । सेढाईं पहिले मन्त्रीको पिए थिए ।

यस्तै,काकडभिट्टा, तातोपानीलगायतका भन्सारमा पनि कर्मचारी फेरिएको छ । कर्मचारी सरुवामा लागेको मन्त्रालयले गत साउन र भदौ महिनाको राजश्व उठ्तीको रकमबारे अहिलेसम्म चासो नदिएको कर्मचारीहरु बताउँछन् । अहिले गस्ती चेकिङलाई महत्व दिइएको भन्न थालिएको छ । गस्ती चेकिङको नाममा भन्सारबाट छुटेका ट्रकलाई राजमार्गमा रोकेर आफ्नो काम फत्ते गरिएको व्यवसायीहरुको गुनासो छ ।

टिप्पणीहरू