शेखर समूहको गतिविधि पार्टी हित प्रतिकूल : काँग्रेस प्रवक्ता

शेखर समूहको गतिविधि पार्टी हित प्रतिकूल : काँग्रेस प्रवक्ता

समानुपातिक उम्मेदवारहरुको बन्दसूचीमा एकलौटी गरिएको भन्दै पार्टी नेतृत्वविरुद्ध संघर्ष गर्ने डा. शेखर कोइराला समूहका गतिविधिलाई नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अनुशासनहीनताको संज्ञा दिएका छन् । चुनावको मुखमा अनावश्यक विरोध चर्काइएको भन्दै उनले त्यस्तो कदम पार्टीको हितमा नरहेको बताए ।

आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले समानुपातिकको बन्दसूची सहमतिबाटै तयार पारिएको दाबीसमेत गरे । यद्यपि बन्दसूचीमा भएका त्रुटि परिमार्जन गर्न सकिने उनको भनाइ छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची असोज २ र ३ गते कांग्रेससहितका दलहरुले निर्वाचन आयोगमा बुझाएका छन् । सूचीमा भएका त्रुटि सच्याउन आयोगले असोज १६ गतेसम्मको समय दिएको छ ।

‘निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फका उम्मेद्वारहरुको बन्दसूची पेस गर्ने कार्य सम्पन्न गरिसकेको छ । समानुपातिक बन्दसूचीमा भएका त्रुटिहरु परिमार्जन निर्वाचन आयोगले दिएको समयसीमा भित्र गरिनेछ,’ पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

तर, त्यसैलाई लिएर विरोध गर्नु जायज नहुने महतले बताए । बन्दसूचीमा केही त्रुटी भए पनि एकलौटी नगरिएको उनको दावी छ ।

टिप्पणीहरू