विश्व पर्यटन दिवसः कतै नाचगान,कतै रक्तदान,होटेल संघ हैरान

विश्व पर्यटन दिवसः कतै नाचगान,कतै रक्तदान,होटेल संघ हैरान

आज विश्व पर्यटक दिवस । हरेक वर्षको सेप्टेम्बर २७ अर्थात् असोज ११ गते यो दिवस मनाउने गरिन्छ । पर्यटक दिवसको अवसरमा नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । यहाँको संस्कृति र स्थानीय उत्पादनलाई प्रवर्धन तथा धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्धेश्यका साथ विभिन्न निकायहरुले कार्यक्रमको आयोजना गरेका हुन् ।

ललितपुर महानगरपालिकाको आयोजना र उद्योग वाणिज्य संघको सहआयोजनामा ‘पाटनको पहिचान,हाम्रो शान ! संस्कृतिको जगेर्ना,सम्पदाको संरक्षण,हस्तकला प्रवर्द्धन र पर्यटन दिगो विकास पाटनको आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ कार्यक्रम मनाइँदैछ । पाटन दरबार स्क्वायर घुम्न आउने पर्यटकका लागि बिहान ८ बजे स्वागत कार्यक्रम राखिएको थियो ।

कार्यक्रमअन्तर्गत पाटनका भित्री गल्लीहरुमा हेरिटेज वाक पनि गरिएको थियो । त्यस्तै,दिँउसो १ देखि बेलुका ५ बजेसम्म मणि केशवनारायण चोक पाटन दरबार संग्रहालयमा परम्परागत नेवारी लाइफ स्टाइल प्रदर्शनी गरिने बताइएको छ । त्यसपछि पाँच सय जना कलाकारले खुला परम्परागत संगीत तथा नृत्य प्रस्तुत गर्नेछन् । प्रस्तुति साढे ५ बजेदेखि शुरु भएर साढे ७ बजे सकिनेछ ।

पर्यटन दिवसको अवसरमा आज ठमेल पर्यटन विकास परिषद्ले काठमाडौंमा प्रभातफेरी गरेको छ । त्रिदेवी मार्ग, क्षेत्रपाटी,सोह्रखुट्टे, लैनचौर हुँदै पुनः त्रिदेवी मार्ग आएर प्रभातफेरी सम्पन्न गरिएको हो । विभिन्न सांस्कृतिक र पर्यटन क्षेत्रलाई सहयोग पुग्ने कार्यक्रम गरेर दिवस मनाउन लागिएको परिषद्का अध्यक्ष भुविश्वर शर्माले बताए । नेपाल पर्यटनको अपार सम्भावना भएको मुलुक भएपनि आवश्यक काम हुन नसक्दा पर्यटन क्षेत्र उँभो लाग्न नसकेको उनको भनाइ छ ।

त्यस्तै,२ बजेपछि ठमेलका विभिन्न ठाँउमा सांस्कृतिक कार्यक्रमहरु हुने परिषद्ले जानकारी दिएको छ । परिषदले विभिन्न क्लबसंग मिलेर रक्तदान कार्यक्रम पनि राखेको छ । पर्यटक संस्थाहरुको उपस्थितिमा आज पञ्चेबाजा,धिमे बाजा,भैरव नाच, देवी नाच देखाउने जनाइएको छ । यता, होटल एशोसिएशन नेपाल (हान) ले भने यो पटक कुनै पनि कार्यक्रम नगर्ने जनाएको छ ।

टिप्पणीहरू