विवेकशील छोडेका रविन्द्र भोली राप्रपामा मिसिने

विवेकशील छोडेका रविन्द्र भोली राप्रपामा मिसिने

विवेकशील साझा पार्टीको सम्पूर्ण जिम्मेवारी त्यागेका रविन्द्र मिश्र पूर्वपञ्चहरुको पार्टी राप्रपामा प्रवेश गर्ने भएका छन् । केही महिना अघि विवेकशीलको अध्यक्ष छोडेर निस्क्रिय बसेका उनी भोलि राप्रपा प्रवेश गर्न लागेका हुन्।

मिश्रलाई भित्र्याउन राप्रपाले भोलि एकता घोषणासभाको आयोजना गरेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले रवीन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण पक्षधर समूहसँग पार्टी एकता हुने जानकारी दिए । उनले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् ।

पछिल्लो समय मिश्र वैकल्पिक राजनीतिको ट्रयाक छोडी राजतन्त्र र हिन्दुराष्ट्रको पक्षमा उभिएका थिए । त्यसका लागि उनले विवेकशीलमा ‘विचार माथि देश‘ दस्तावेज पारित गराएपछि विवाद चर्किएको थियो । विवादकै कारण पार्टी विभाजित हुँदा गत स्थानीय निर्वाचनमा विवेकशीलको कन्तबिजोग भएपछि मिश्रले अध्यक्ष छोडेका थिए ।

त्यसयता सामाजिक सञ्जालबाट राजतन्त्रको पक्षमा निरन्तर वकालत गर्दै आएका उनी मंसिरको चुनावमा काठमाडौँ-१ बाट हलो चिन्हमा लड्ने तयारीका साथ राप्रपामा मिसिन लागेका हुन् । राप्रपामा सहअध्यक्ष मागेका उनले अन्तत: बरिष्ठ उपाध्यक्षमा चित्त बुझाएपछि भोलि पार्टी प्रवेश गराइने भएको हो । तर, राप्रपाका पुराना नेताहरु भने मिश्रलाई बरिष्ठ उपाध्यक्ष दिने अध्यक्ष राजेन्द्र लिङ्ग्देनको निर्णयप्रति खुशी नरहेको बताइन्छ ।

टिप्पणीहरू