ती नाबालिकाको बदनाम गर्नेलाई अब के हुन्छ ?

ती नाबालिकाको बदनाम गर्नेलाई अब के हुन्छ ?

प्रहरीले हिरासतमा लिएको भोलिपल्टै महिनावारी भएकी उनी गर्भवती थिइन् भनेर युट्युब च्यानलहरुले व्यापक प्रशारण गरे । उनको नाम, ठेगाना र तीन पुस्तै खोलिए ।

शुरुदेखि नै भनिएको हो, निरपराधीलाई सतप्रतिशत अपराधी करार गरिँदाको क्षति, त्यसको पुर्ताल र उक्त व्यक्तिको समाजमा पुनर्स्थापना– यी कुराको जिम्मा कसले लिन्छ ?

कोही व्यक्ति कुनै जघन्य अपराधको कसुरदार नै हो भने पनि एउटा जीवित मानिसको सामाजिक पुनस्र्थापनाको मूल्यमा कतिपय कुरा गोप्य राखिन्छन् । रुकुम नरसंहारको घटनासँग जोडिएकी बालिकाका हकमा अहिले त्यस्तो स्थिति आइलागेको हो ।

प्रहरीले हिरासतमा लिएको भोलिपल्टै महिनावारी भएकी उनी गर्भवती थिइन् भनेर युट्युब च्यानलहरुले व्यापक प्रशारण गरे । उनको नाम, ठेगाना र तीन पुस्तै नै खोलिए ।

अनुसन्धानको क्रममा खुल्न आयो, नवराजलाई बोलाएर मार्न लगाएको भनी उनीमाथि लगाइएका सबै आरोप झुठा रहेछन् । सत्य एकमात्र हो, मृतक नवराजले उनलाई मन पराएका थिए ।

सामान्यतया यस्तो स्थितिमा अनुसन्धानको म्याद सकिएपछि हिरासतमा राखिएको मानिसलाई रिहा गरिन्छ ।

तर, उनी यो मौकाबाट पनि बञ्चित भएकी छन् । किनभने, अबको जटिल समस्या हो, उनको सामाजिक पुनर्स्थापना ।

अर्थात्,सामाजिक जीवनमा उनको सहज जीवनयापन अब कष्टकर बनेको छ । उनीमाथि अनुचित तवरले प्रश्नहरु तेर्स्याइएको छ ।

आरोप सत्य भएर होइन, अनुचित प्रश्नहरुको घेराबन्दीले उनलाई मर्नु न बाँच्नुको स्थितिमा पुर्‍याउने खतरा छ ।

तसर्थ, बालबालिका पुनर्स्थापना केन्द्रमा राखेर उनको जीवनलाई सहज बनाउने आदेश अदालतबाट हुँदैछ ।

यो घटनाले भन्छ, कुनै पनि घटनालगत्तै सञ्चार माध्यम नै अदालत बनेपछि निर्दोषको जीवन कहाँ पुग्छ ?

सञ्चारमाध्यमले घटनासँग सम्बन्धित सूचनाका नाममा काल्पनिक तथ्यहरु खडा गर्ने र समाजमा त्यसैलाई प्रचारित गर्ने कुराले धन्न निर्दोषको जीवन आजसम्म त सुरक्षित छ । यदि ती बालिका हिरासतमा हुन्न थिइन् भने थाहा छैन,आजसम्मको स्थिति के हुन्थ्यो !

सँगै प्रश्न उब्जिएको छ, यसरी राज्यको कुनै पनि अंगमा दर्ता वा सूचिकृत नभएको सञ्चारमाध्यमले चलाएको यो ताण्डवलाई प्रवुध्द समाजले कहिलेसम्म हेरेर बस्छ ?

टिप्पणीहरू