श्रीमती मारेर किरिया बसेका श्रीमान प्रहरी खोरमा

श्रीमती मारेर किरिया बसेका श्रीमान प्रहरी खोरमा

धनुषामा श्रीमती हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् । मिथिला बिहारी नगरपालिका–५, ललिया घर भएका ५० वर्षीय रामा मण्डल श्रीमतीको हत्या अभियोगमा प्रहरी नियन्त्रणमा पुगेका छन् ।

उनले गत मंगलबार ४५ वर्षे श्रीमती जिवछीदेवी मण्डलको कोदालो प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सोही दिन बिहान मृतक र रामा बिहानै घरबाट कोदालो र हँसिया लिएर भकारी बनाउन बाँस काट्न खेत छेउमा गएका थिए । सोही क्रममा उनीहरुबीच विवाद शुरु भएको बताइन्छ ।

विवादकै क्रममा मृतक जिवछी देवीले श्रीमान् रामाको मृतक बुवाको नाम जोडी विभिन्न किसिमको अश्लील गाली गलौज गर्न थालेपछि रामाले आवेशमा कोदालोले टाउकोमा हानेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

हत्या पश्चात रामाले शंका निवारण गर्न मृतकले लगाएको चुरा आफैंले फुटाई घटनास्थलमा यत्रतत्र छरेको र कोदालो अर्काको खेतमा फालेर भागेको बताइन्छ । प्रहरीले मृतक जिवछी देवीको हत्यामा प्रयोग भएको कोदालो घटनास्थलबाट ८० मिटर उत्तर पश्चिमको धान खेतको कुनामा फेला पारेको हो ।

रामालाई किरिया बसेकै अवस्थामा हिजो साँझ नियन्त्रणमा लिई थप अनुसनधान गरिरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।

टिप्पणीहरू