सैनिक संरचनालाई खेलाँची ठान्दा…

सैनिक संरचनालाई खेलाँची ठान्दा…

व्यक्तिको रहर र महत्वाकांक्षामा संस्था कसरी फितलो बन्दै जान्छ भन्ने कुरा नेपाली सेनामा पूर्णचन्द्रकालीन घटना र आजैदेखि भूल सच्याइँदाको स्थिति हेरे पुग्छ ।

प्रधानसेनापतिबाट अवकाश पाउनुअघि पूर्णचन्द्रले तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई रिझाएर सेनाका अनेक मामिला सदर गराए । भारतमा बिपिन राउतले सम्हालेजस्तै सिडिएसको ५ तारे फुली टल्काएर अर्को जागिर खाने रहर थियो । त्यसअघि ‘राम्रो काम गरेको छु’ भन्ने पार्नलाई पृतनाहरु गाभेर कमाण्डको अवधारणा अगाडि सारियो । कार्यान्वयन पनि भयो । त्यत्रो अमेरिका र भारतमा ५ र ६ कमाण्ड तर बिहारभन्दा सानो नेपालमा भने ४ कमाण्ड बनाउनु सानो महत्वाकांक्षा होइन ।

तर, सैनिक संगठनभित्र त्यसले समन्वय र जनशक्ति व्यवस्थापनमा विकराल समस्या ल्याएपछि एक वर्ष पनि बित्न नपाउँदै फेरि पृतनाकै अवधारणाअनुसार काम गर्नुपर्ने परिस्थिति बनेको छ । सेना लडाईं लड्नैका लागि मात्रै खडा भएको संस्था होइन । तर, भारतसँग आजभोलिमै लडाइँ गर्नुपर्नेजस्तो सैनिक अभ्यास र सैनिक संरचना निर्माणका काम त्यसबीच भए । त्यसो गर्दा थुप्रै उपरथीहरु काठमाडौंमा थन्किए ।

तर, राज्यका अन्य निकायसँग सहकार्य गर्नका लागि पनि त्यो अभ्यास व्यवहारिक होइन भन्ने कुरा गत स्थानीय तह निर्वाचनदेखि नै खड्किएपछि कमाण्ड खारेज गरी पृतनाको अभ्यासमा सेना फर्किएको छ । संविधान जारी हुनुपूर्व विकास क्षेत्रका आधारमा सिमित सेनाले अहिले बर्दिबास, बुटवल, हेटौंडा, पोखरा र दिपालयमा पृतना थपेको छ ।

०७४ को निर्वाचनपछि प्रदेश सरकार बन्नुअघि सेनाका उपत्यकासहित आठ पृतना थिए । तर, त्यसलाई पूर्णचन्द्रले खारेज गरी चार कमाण्ड बनाएपछि प्रदेशसँग समन्वय गर्नै मिलेन । अब पृतनाले नै प्रदेश सरकारसँग सम्पर्क गर्ने भयो । नत्र, कमाण्डकालीन संरचना कस्तो भने, एउटा बाहिनीले सम्पर्क गर्दा अर्को बाहिनी बेकामे हुने ! अहिले तैनाथी संख्या बढाउनका निम्ति ११–१२ वटा गण बनाउने भनिएको छ । कमाण्डमा जाँदा खडा भएका र हाल पृतनामै फर्केपछि बेवारिस बनेका २ तारे चलाउने कल्याणकारी महानिर्देशनालय, मद्दति तथा सेवा मद्दति निर्देशनालय, वार कलेज र राष्ट्रिय निकुञ्ज तथा वन पर्यावरणको दरबन्दी अब के होला ?

यसैबीच, अड्डाहरुलाई एक ठाउँबाट अर्को ठाउँमा सारियो । बाग्लुङको बाहिनी मुस्ताङ पुग्यो, हेटौंडाको ७ बाहिनी खरिपाटी आयो, हिलेको इटहरी झ¥यो । पृतना, अर्थात् डिभिजन भनेको विश्वव्यापी रुपमा चलेको संरचना हो । पहिला पूर्णचन्द्रले इष्टर्न कमाण्ड र वेष्टर्न कमाण्ड ल्याए पनि सैनिक ऐन, नियमावलीमा कमाण्ड लेखिएको छैन । ओलीसँग मिलेर जे–जे उनले भने, त्यही–त्यही पास हुँदा यस्तो भद्रगोल आइलागेको चर्चा सैनिक मुख्यालयमा चल्ने गरेको छ ।

यसबीच, सहायक रथीबाट २ तारेमा बढुवाका लागि एक नम्बरमा विजय थापा छन् । त्यही भएर गत हप्ता उनलाई हेटौंडाको कामु पृतनापति बनाएर पठाइएकोमा सुदूरपश्चिमका होमनाथ दवाडीसँग साँटफेर गरिएको छ । दुई नम्बरमा आशबहादुर तामाङ छन् । गोकुल भण्डारी र बालकृष्ण कार्की छिट्टै अनिवार्य अवकास हुँदैछन् । म्याद थपिएन र उमेरसम्बन्धी रिटलाई सर्वोच्चले तलमाथि गरेन भने प्रेम शाही पनि छिट्टै रिटायर्ड हुन्छन् ।

टिप्पणीहरू