भारतीय निजी गाडीलाई ‘सुविधा पास’

भारतीय निजी गाडीलाई ‘सुविधा पास’

मेची भन्सार कार्यालयले काँकडभिट्टाबाट निजी प्रयोजनको निम्ति नेपालतर्फ आउने गाडीलाई सुविधा पास दिने निर्णय गरेको छ । कार्यालयले प्रवेश नाकाबाट सबैभन्दा नजिकको धुलाबारी बजारसम्मका लागि सुविधा पासको व्यवस्था मिलाएको बताइएको छ ।

आजबाट कार, जीप, मोटरसाइकललगायत अन्य सवारी साधनले सोही दिन भारत फर्कनुपर्ने शर्तसहितको पास पाउने कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । कार्यालयले भनेको छ, ‘प्रवेश नाकाबाट सबैभन्दा नजिकको बजार धुलाबारीसम्मको लागि सोही दिन फर्किने गरी निजी प्रयोजनका गाडीहरुलाई (कार, जीप, मोटरसाइकल आदि) मिति २०७९–६–१० गतेका दिनदेखि लागु हुनेगरी सुविधा पास प्रदान गरिने छ ।’

त्यस्तो पास बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म दिइने छ । उक्त पास निःशुल्क भएको बताइएको छ । यसअघि भारतीय सवारी साधनले २४ घण्टासम्म नेपालको सीमाभित्र सवारी सञ्चालन गर्न दैनिक पाँच सय रुपैयाँ तिरेर अस्थायी अनुमतिपत्र लिनुपथ्र्यो ।

मेची उद्योग वाणिज्य संघले सुविधा पासको व्यवस्था हटाएपछि बजार, पर्यटन तथा उद्योगधन्दामा नकारात्मक असर परेको बताउँदै पुनः पुरानै व्यवस्था लागु गर्न माग गर्दै आएको थियो ।

स्थानीय बजारमा किनमेल, घुमफिर तथा औद्योगिक प्रयोजनको निम्ति आउने भारतीय नम्बर प्लेटका साना सवारी साधनका लागि थप सुविधा उपलब्ध गराइदिनु पर्नेमा संघले जोड दिएको थियो ।

टिप्पणीहरू