समझमें नआए तो…

समझमें नआए तो…

यतिखेर भारतीय मिडियाहरु भारत र यसका निवासीहरु दुनियाँका अन्य देशहरुभन्दा शक्तिशाली र लोकतन्त्रवादी सावित गर्ने दुर्भावनाबाट ग्रसित छन । त्यसैले जे पायो त्यही बक्छन्, ‘गु’ र ‘गोबर’बीच फरक छुट्याउने सामथ्र्यमाथि पर्दा हालेर बसेका छन् । कतिपय भारतीय मिडियाहरु हेर्दा, पढ्दा लाग्छ यी चल्ता पुर्जा बदमाश हुन । जसले आफ्नो शीप क्षमता दक्षता र कौशललाई धर्म—जातिवादी अंहकारवादी भारतीय जनता पार्टीको सामु लम्पसार राखेका छन् । मोदीलाई भगवान बनाउन खर्च गरिरहेका छन् । र रुपैया पैसा अनि धोकाधडीलाई आदर्श ठानेका छन् । दिमागी रुपमा गुलामीको संस्कारलाई छोड्न सकेका छैनन । र, नेपाल भारत सम्वन्ध मोदीको विस्तारवादी हस्तक्षेपकारी नीति र बडप्पनलाई मलजल गरेका छन् ।

विश्वव्यापीरुपमा फैलिएको मानवीय विपत्ति कोभिड १९ को सुरुका एकहप्ता सुरक्षित एकान्तबासमा बसेको बेला भारतीय न्यूज मिडियाहरुले प्रस्तुत गरेको विषय, भाषा, शैलीले मलाई हलिउड, बलिउडढ र कलिउडको सिनेमाभन्दा बढी मनोरञ्जन गर्न सफल भए । दिमागलाई रिफ्रेस गर्नु पर्दा अहिले पनि म भारतीय टिभी च्यानलको समाचारहरु हेर्छु किनकि यिनले फिचर होइन फिक्सन पस्कन्छन । यसैक्रममा एकाएक नेपालको भूमि अतिक्रमण गरी मानसरोवर जाने सडक बनाएर उदघाट्न गरेको खबरपछि नेपाल सरकार र नेपालीले दिएको प्रतिक्रियाविरुद्ध भारतीय मिडियाको जेहाद छोडे, यसले भारतीय पत्रकारहरु अन्ध राष्ट्रवादबाट ग्रसित छन् भन्ने मेरो विश्वास र मान्यतालाई झनै दह्े बनाएको छ । मलाई लाग्छ, एकादुई भारतीय मिडिया र वैदेशिक नीति (विशेषगरी नेपाल भारत सम्वन्धका) जानकारहरुलाई छोडेर अधिकांश भारतीय मिडिया, त्यसमा कार्यरत सञ्चारकर्मी र कथित विशेषज्ञहरु अंग्रेजको गुलामीबाट भर्खरे स्वतन्त्रता प्राप्त गरी हुर्केका जस्ता देखिन्छन् । उनीहरुको राष्ट्रबाद भनेको भारतीयले कसैले नबनाएको नदेखेको पुष्पक विमान उडाउन सक्षम छन् । भारतीयहरुसँग मनचिन्ते झोली र बज्रठिङ्गे लौरो र उड्ने गलैंचाहरु छन् । त्यसैले उनीहरु भारतीय अतिक्रमणलाई जायज ठहराउने हक राख्छन । त्यसैगरी उनीहरुसँग बारुद र आग्नेयास्त्र (मिसाइल)सहित मुखबाट ज्वाला निकालेर करोडौं शत्रुहरुलाई क्षणभरमैं खरानी बनाउने ताकत राख्छन् ।

यो बकम्फुसे भारतीय दर्शन र आत्मवंचनामा लिन केही भारतीयहरुले अहिले नेपाल भारतको सम्वन्धलाई गोयवल्स शैलीमा प्रचार प्रसार गरिरहेका छन् । चीनको उक्साहटमा लिम्पियाधुरा, लिपुलेक र कालापानीमा नेपालले बखेडा झिकेको मिथ्या आरोप लगाएर यी भूमिहरु भारतीय भएको दावी ठोक्याठोक्यै छन् । तर हामीले निर्भिकता र निडरताका साथ २०७७ जेठ ३० गते नक्शा संशोधनलाई वैधानिकता दिएर जवाफ फर्काएको छौं । यो जवाफ एकदमै अभूतपूर्व र शालिन छ । सँधै सँधै राष्ट्रियताको विषयमा नेपालीहरुलाई खण्डित तुल्याएर रजगज गर्न सकिन्छ भन्ने भारतीय कर्मचारीतन्त्र र मोदीचालले पनि माथ खाएको छ । चिप्लामिठा कुरा गरेर नेपालीहरुबाट वाहवाही लुट्ने भगवा भेषधारी मोदी र योगीलाई नेपालीहरुले गतिलो सन्देश दिएका छन् । सबै पहेला वस्तुहरु सुन हुँदैनन सबै भगवा भेषधारीहरु स्वामी विवेकानन्द हुँदैनन् भन्ने कुरा सावित गरिदिएको छ । विश्लेषण गर्दा प्रस्ट छ, भारतीय मिडियाकर्मीहरु मानसीकता दासताबाट माथि उठेका देखिदैनन् ।

उदाहरणका लागि भारतीय मिडियाहरुले कोरोना भाइरसलाई परास्त गर्न गौमूत्र सेवन गरे पुग्छ भन्ने दावीलाई बडो जोडतोडका साथ प्रचार गरे, जसको नतिजा अहिले कोरोना संक्रमितको संख्या ( मोर्वीडिटी रेट) ले चौथो पाइदान हासिल गरेको छ । मृत्युदर (मोर्टालिटी रेट) पनि बढ्दो छ । यस्ता केयौं उदाहरण छन् विषय गम्भीर तर समाचार र विचार ज्यादै हल्का र हास्यास्पद प्रस्तुत गर्छन । यस्तै हाँसो लाग्दो कुरा नेपालले आफ्नो भूमिमा भएको भारतीय हस्तक्षेपको विरोध गर्ने वित्तिक्कै चीनले उचालेको प्रमाणित गर्न तम्सिन्छन । नेपाल भारतबीच देखिएको सीमा विवादमा भारत भारतीय मिडियाहरु अँध्यारोमा कालो बिरालो खोज्न सफल भएको दावी ठोक्छन । नेपालीको जायज र न्यायोचित मागलाई गलत भन्छन । । तथ्यको जाँच गर्ने धैर्यता राख्दैनन । सुसम्वन्धको दुहाइ दिदैं सम्वन्धमा कटुता ल्याउने भूमिका खेल्छन । भारतीय मिडियाले नेपाली मिडियाबाट धेरै कुरा सिक्न सक्छ । तर उनीहरु तयार देखिदैनन् ।

राजा भोज काठको उड्न तस्तरीमा सयर गर्थे, अलाउद्दीनको चिराग अन्धकार मेट्न सक्षम थियो । चन्द्रमामा रामचन्द्र पुष्पक विमान लिएर पुगेका थिए । हनुमानको पूच्छरले लंका डढाए जस्तै संसार डढाउने क्षमता भारतसँग छ भन्ने मिथ्यापूर्ण भ्रममा भारतीय मिडियाहरु रहेका छन् । कसैले भनेको कुरा सम्झना भइरहेछ, गुलामहरु स्वतन्त्र भएपछि मालिक बन्ने प्रयत्नमा हुन्छन । अहिलेको भारतको मोदी नीतिले यसलाई सय प्रतिशत सत्य वचन सावित गरिरहेको छ । र, भारतीय मिडियाहरु यसका साधन बनिरहेका छन् । भारतीय मिडियाहरुसँग अरुको विचारलाई पनि सुन्ने र सम्मान गर्ने अनि सत्यतथ्य प्रमाणलाई आत्मसाथ गरी न्यायपूर्ण संसारको पक्षमा उभिने हिम्मत भए स्वामीश्री युक्तेश्वर गिरीको ‘युक्तियुक्तं वचो ग्राह्यां बालादपि शुकादपि । अयुक्तमपि न ग्राह्या साक्षादपि बृहस्पतेः ।।’ वचनलाई मनन गर्दा हुन्छ । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रै हुन भन्ने प्रमाण पेश गर्न सक्षम छ ।

 

केही भारतीयहरु यो विषयमा जानकार पनि छन् । तर उनीहरुलाई भारतीय मिडियाले स्पेस दिदैंन । भारतीय मिडियाले अनुसन्धान र विश्लेषण गरुन शक्ति र सामथ्र्यका हिसावले निकै कमजोर नेपाल भारतीय हस्तक्षेप र विस्तारवादी नीतिकाविरुद्ध एकजुट भएका छन ? गुलामहरुलाई अरुको स्वतन्त्रता मन पर्दैन् भन्दैमा अरुको स्वतन्त्रतामाथि धावा बोल्ने अधिकार पनि छैन । मनगढ्न्त कहानी गढेर अरुलाई मिथ्या आरोप लगाएर आत्मवंचनामा रमाउनु भन्दा लौ आउ भारतीय मिडियाहरु छलफल चलाऔं, आफ्ना पुराना मालिक अ्रग्रेजहरुले निकालेको द इम्पेरिएल गजेटिएर अफ इन्डिया भोलुम १९ को (पृष्ठ २५ देखि ५५ सम्मका) नेपालबारे लेखिएका कुरा पढ्म । यो गजेटिएर तत्कालीन भारतीय शासकहरुले राजपत्र हो ।

सो राजपत्रको पृष्ठ २५ मा नेपालको सीमाबारे लेखिएको छ, Along its northen boundary Nepal adjoins Tibet; on the east it is bounded by the state of Sikkim and District of Darjeeling; on the south by Bengal and the United provinces; and on the west by Kumaun and the river kali.

यो पढेर बुझ्ने कोशिस गरे भारतीय पत्रकारहरुको ठालुपनले नेपालको सीमाबारे र अहिलेको भारतीय ज्यादतिबारे अलिक फराकिलो घेरा तयार हुन्थ्यो कि ? जहाँ नेपालको सीमा काली नदी (पुछारको भेगमा शारदा कहलिएकी) रहेको लेखिएको छ, Along its northen boundary Nepal adjoins Tibet; on the east it is bounded by the state of Sikkim and District of Darjeeling; on the south by Bengal and the United provinces; and on the west by Kumaun and the river kali. (पृष्ठ २६) ।

कालीनदी पूर्वका भूभागहरु नेपालका हुन भन्ने कुरा स्पष्ट रुपमा उल्लेख छ । उक्त गजेटिएर द अथोरिटी अफ हीज मेजेस्टीज सेक्रेटरी अफ स्टेट फर इन्डिया इन काउन्सिलले सन् १९०८ मा प्रकाशित गरेको हो । त्यसैगरी गजेटियरको पृष्ठ संख्या ३५ मा पनि सुगौली सन्धिपछिको कायम भएको नेपाल र तत्कालीन बिट्रिश भारत सरकारबीच भएको सन् १८१६ मार्च ४ तारिखमा भएको सन्धिपछिको सीमाबारे उल्लेख छ, Along its northen boundary Nepal adjoins Tibet; on the east it is bounded by the state of Sikkim and District of Darjeeling; on the south by Bengal and the United provinces; and on the west by Kumaun and the river kali.

यति पढ्दा पनि ‘समझमें नआए तो’ बिट्रिश भारतका विभिन्न समयका नक्साहरु, पुराना भारतीय पाठ्यपुस्तक, सत्यजीत रेको चलचित्र, चीनसँग सीमा जोडिएका नेपाली भूभागमा भारतीय फौज राख्न र फिर्ता पठाउँदा गरिएका पत्राचारहरु खोजेर पढे हुन्छ ( १८ भारतीय पोस्टमध्ये १७ फिर्ता गएको र बाँकी १ कालापानी रहेको ) । किनभने यी नेपालीले उब्जाउने सक्ने वा कथित भन्न सक्ने प्रमाणहरु होइनन् । ति भूभागमा बस्ने नेपालीले तिरेको तिरो रसिद, त्यहाँ जनगणना गर्ने नेपाली भैरव रिसाल दाईहरु अझै पनि जिउँदै हुनुहुन्छ । यसको रिर्पोटिङ गर्दा के भारतीय मिडियाको साख घट्छ र ? मलाई थाह छ, कतिपय दासहरु स्वतन्त्र भएपछि आफूलाई मालिक जस्तै ठान्छन् र अरुलाई पुराना मालिकको जस्तै व्यवहार गर्न खोज्छन, तर कतिपय भने पराधिनताको नूनिलो स्वाद अर्थात् दुख अरुले नपाउनु भनेर न्यायका पक्षमा उभिन्छन् । के यस्तो आसा गर्नु एउटा नेपाली भएको अर्घेल्याइ हुन्छ ? हुन्छ भने होस् । परेको बेहोर्न सबै नेपाली तयार छौं । र, हामी हाम्रो भूमि छोड्न भने तयार छैनौं ।

टिप्पणीहरू