नेकपाको अवसान अब टाढा छैन « Jana Aastha News Online
Logo
२० मंसिर २०७८, सोमबार
|  Mon Dec 6 2021

नेकपाको अवसान अब टाढा छैन

प्रकाशित मिति :  २ असार २०७७, मंगलवार १३:२१


यति बेला देशभर नै सरकारविरोधी आन्दोलनको उभार आएको छ । कुनै पनि दलसँग सम्बद्ध नरहेका युवाहरु ह्वारह्वारी सडकमा उत्रिएका छन् । दिनप्रतिदिन बढ्दो जुलुसको आकार र देशभर फैलँदो उभारले सरकारको निर्लज्ज चरित्रप्रतिको जनआक्रोश प्रकट गरिरहेको छ । कुनै पनि दलको झण्डा नबोकेको २० देखि ३५ वर्षभित्रका युवाहरुको यो स्वतःस्फूर्त विद्रोहले नेकपासहित प्रमुख राजनीतिक दलहरुलाई नालायक र निकम्मा सावित गरिरहेछन् । यद्यपि जुलुसमा राजावादी र विवेकशील साझा पार्टी समर्थकहरु मिसिएको तथ्यलाई भने नकार्न सकिन्न ।

तर ओलीका अन्धभक्त र मतियारहरुचाहिँ यो आन्दोलनलाई ‘प्रायोजित’को सज्ञा दिँदै आन्दोलनकारीहरुप्रति निकृष्ट गालीगलौजमै उत्रन थालेका छन् । त्यो पनि ज्ञानेन्द्रकालका टङ्क ढकाल, नीक्ष समसेर, श्रीष समसेर, कमल थापा आदिलाई समेत बिर्साउने गरी । कालापानी र लिम्पियाधुरासहितको नयाँ नक्सा जारी भएसँगै रुष्ट भएको भारतको गुप्तचर संस्था ‘रअ’को योजना मुताविक यो आन्दोलन भएको लाञ्छना उनीहरुले लगाइरहेका छन् । संविधान संसोधन हुन लागेको समयमा ओलीलाई असफल सिद्ध गराउन सरिता गिरी, अमेरेशकुमार सिंहहरुले गरेको नियोजित षडयन्त्र हो भन्ने मनोगत निष्कर्ष उनीहरुको छ । भारतीय दूतावासका तावेदार अमरेश, सरिताहरुको त्यति औकात के हुनु ?

सरकारका कतिपय समर्थकहरुले चै “यसरी भीडभाड गर्दा कोरोनाको संक्रमण अरु फैलन सक्ने” भन्दै आफ्ना निकटहरुलाई जुलुसमा नजान आग्रह गरिरहेका छन् । यसो भनेर उनीहरुले घुमाउरो पारामा सरकारको बचाउ गरिरहेका छन् । तर प्रम ओलीकै शब्दमा ‘हिमालको चीसो हावा र औषधिय तत्वहरु भएको खाना खाने’ नेपाली युवाहरु रोग संक्रमणप्रति होसियारी अपनाउँदै आन्दोलनमा होमिएका छन् । आन्दोलनको उर्लंदो उभार र ओलीका मतियारहरुको चढ्दो अहंकार देख्दा लाग्छ– नेकपाको अवसान अब टाढा छैन ।

यसरी झाँगियो अहङ्कारको बीउ

ओली स्वप्नद्रष्टा पक्का हुन् । उनमा आँट पनि प्रचुर छ भन्ने कुरा पटकपटक पुष्टि भइसकेको छ । चुनावअघि दुई तिहाइ बहुमतको सरकार बनाउने सपना देख्नु यही कुराको द्योतक हो । देउवाको कुशासनबाट वाक्क भएका नेपालीजनले उनलाई विश्वास पनि गरे ।

तर ओलीमा सत्ता चलाउने विवेक र आलोचकहरुका कुरा सुन्ने चेत भने पित्को बराबर पनि रहेनछ । ती गुण केही मात्रामा भए पनि सत्तामा पुगेसँगै सत्ताउन्मादले एकाएक अवसान हुन पुगे । केही दिनअघि कांग्रेस सांसद गगन थापाको प्रश्नमा उनले दिएको जवाफ सुन्दा लाग्यो– ओलीले आफूलाई श्री ३ महाराजहरुभन्दा माथि ठान्न थालेछन् । उनको निम्छरो उत्तरमा हाँस्ने, ताली बजाउने सत्तापक्षीय सांसदहरुलाई विचरा भन्नुबाहेक दिनलायक अर्को उपमा नै छैन ।

‘पञ्चतन्त्र’, ‘चाणक्य नीति’, ‘शुक्रनीति’ आदि हिन्दूग्रन्थहरुले भन्छन्– “सत्तामा पुगेपछि जस्तै विवेकशील मान्छेले पनि विवेक गुमाउँछ र उसमा उन्माद पलाउँछ । उसले आफूलाई शासन र जनतालाई रैती ठान्न थाल्छ ।” आन्दोलनमा उत्रिएका र राष्ट्रपति कार्यालयमा हुन गइरहेको विलासी खर्चको विरोध गर्नेहरुलाई गणतन्त्र विरोधी ठहर गर्नुले ओलीमा श्री ३ मोहन समसेरको भूत सवार भएको प्रष्ट देखिन्छ ।

यद्यपि ओलीमा विवेकहीनता, अहङ्कारी चरित्र, गुटमा रमाउने बानी भने पछि पलाएको नभई जेलमा बस्दादेखि नै विकसित भएको हो । सानो गुटमा रमाउने, आफ्ना आसेपासेबाहेक अरु कसैलाई विश्वास नगर्ने, आफ्नो कुतर्कमा लिंडेढिपी गर्ने चरित्रलाई जेलबाट बाहिरिएपछि पनि त्याग्न सकेनन् । आफ्नै अगुवाईमा दुई तिहाइ आएपछि त उनी झन् मैमत्त साँढेचरित्रका हुनु अनौठो हुँदै भएन । जनतामा जानुपर्छ कि भन्ने भय नभएका दुष्टमतिका डा. युवराज खतिवडालाई अर्थमन्त्री र विष्णु रिमालजस्ता जनतामा झिज्दै नभिजेका ‘ल्वाँठ’लाई राजनीतिक सल्लाहकार बनाएर पार्टीका पुराना र काविल मान्छेहरुको तेजोबध गर्नुले यो कुरा सिद्ध हुन्छ ।

उनी कतिसम्म तुच्छस्तरको गुट चलाउँछन् भन्ने कुराको अनेक प्रमाण छन् नेकपाका उपल्लास्तरका नेतासित । मचाहिँ दोस्रो स्थानीय निर्वाचनताकाको एउटा घटना सम्झन्छु । त्यति बेला एमाले नेतृत्वले झापा जिविसको उम्मेदवारमा ओलीकै सहयोद्धा नरेश खरेललाई उठाएको थियो । तर ओलीले पार्टीका अधिकारिक उम्मेदवार खरेलको बागीमा आफ्नो गुटका अर्जुन राईलाई उठाएर जिताए । यसपटकको स्थानीय चुनावमा अर्जुनधारा, झापाका कुन्दन भट्टराईलाई जिविस सभापतिको आश्वासन दिएर त्यसरी नै लोप्पा खुवाए ।

०२८ साल काण्डका योद्धामध्येका एक स्व. अमर अधिकारीले भन्नुभएको एउटा किस्सा यतिबेला म झलभली सम्झन्छु । नख्खु जेलभित्र रहँदाको कुरा हो यो । लामो समय जेल बसेपछि वाक्कदिक्क भएका केपीले एकपटक आरके मैनाली, मोहनचन्द्र अधिकारीहरुसँग भनेछन्, “पार्टीले पनि खासै गति लिन सकेन । यसरी जेलमै कुँजिएर बस्नुभन्दा त बरु राजासँग आत्मसमर्पण गरेर पञ्चायतको पक्षमा लागुँ कि जस्तो लाग्यो ।”

उनका कुराले आरके आरके मैनाली, नरेश खरेलहरु झोक्किएछन् । मोहनचन्द्रले सम्झाउन सुरु गरेछन् । ओलीले अलि बढी नै बर्बराउन थालेपछि आरकेको पालो ओलीका गाला चड्काइदिएछन् । निकैबेरसम्म रोएका थिए रे ओलाी । त्यसपछि निकै दिनसम्म ओली र आरकेको बोलचाल बन्द भयो रे । तर समयले यसरी फन्का मारिदियो कि आरके राजाको पोल्टामा पुगे भने ओली खरा गणतन्त्रवादीमा दरिए । राजावादी हुनुअघि एक भेटमा पुष्टिका लागि पङ्तिकारले सोध्दा आरके मज्जाले हाँसेका थिए, “तपाईंले कसरी थाहा पाउनु भो ?” भन्दै ।

महाकाली सन्धी एमालेबाट अनुमोदन गराउनुअघि वार्षिक अर्ब र खर्ब आम्दानीका कुरा गर्ने, अधिल्लो दिनसम्म महाकाली सन्धीको विपक्षमा रहेका देवराज घिमिरेप्रवृत्तिहरुलाई रातारात भारतीय राजदूतावासको सम्पर्कमा पु¥याएर बामदेव, साधना प्रधान, प्रेमसिंह धामीहरुलाई अल्पमतमा पार्ने चतुर खेलाडी ओलीले यतिबेला खुंखार राष्ट्रवादीको छवि बनाइसकेका छन् । नाकाबन्दीका बेला लिएको अडान र कालापानी लिम्पियाधुरासहितको परिमार्जित नक्साले यो कुरा सिद्ध गरिसकेको छ ।

तर सत्ता चार्तुयता भने उनमा पटक्कै रहेनछ । यदि उनका चार्तुयता हुन्थ्यो भने यिनले नक्सा परिमार्जन गर्नुभन्दा पहिला विज्ञहरुको टोली बनाएर त्यो क्षेत्र आफ्नो भएको प्रमाण जुटाउने थिए । अनि ती प्रमाण र विज्ञहरुसँगै पूर्वराजा ज्ञानेन्द्रलाई नेपाल सरकारको प्रतिनिधि बनाएर नक्सा विवाद सुल्ट्याउन भारत पठाउने थिए । त्यसपछि चरणबद्ध रुपमा कुटनीतिक पहल गर्दै नक्सा परिमार्जन र संविधान संशोधनमा पुग्ने थिए ।

चौतर्फी संकटमा ओली

यतिबेला ओली मण्डली अनुकूलता मिलाएर एमसिसी संसदबाट पारित गराउने दाउमा छ । तर त्यो पास हुँदा चीन कति चिढिन्छ भन्ने कुरा उनीहरुले हेक्कै राख्न सकेका छैनन् । अमेरिकालाई खुसी बनाउने नाममा सीमाना जोडिएको छिमेकीलाई चिढ्याउने यो नीति कति घातक हुन्छ भन्ने कुरा ओलीका निकटकाहरुले विश्लेषण गर्न नसकेका हुन् या नजरअन्दाज गरेका हुन् ठम्याउन मुस्किल छ ।

कालापानी र लिम्पियाधुरासहितको नयाँ नक्साले भारत कति चिढिएको छ भन्ने कुरा भारतीय मिडियाहरुको बर्बराहटले पनि पुष्टि भइसकेको छ । उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले त “नक्सा फेर्नुअघि परिणामको बारेमा ख्याल गर्नुपथ्र्यो” भनेर चेतावनी नै दिइसकेका छन् । तर त्यो चेतावनी र बर्बराहटसँग युवाहरुको स्वतःस्फुर्त आन्दोलनलाई लगेर जोड्नु चै युवाहरुको चेतनास्तर र जनताको आक्रोशको अवमूल्यन हो । ०६२–०६३ को आन्दोलनको उभार चढिरहेका बेला ज्ञानेन्द्रका मतियारहरुले गरेजस्तो कुतर्क र म्याद गुज्रिएका टियरग्यास फ्यालेर दमन गर्न थाले भने आन्दोलनलाई अरु विस्फोटक हुनबाट कसैले पनि रोक्न सक्दैन ।

नाकाबन्दीका बेलाझैँ नयाँ नक्सा परिमार्जनको कदममा नेपाली जनताले सरकारलाई अपार साथ दिए । तर त्यो साथ र समर्थनलाई कथित डाक्टर अर्थमन्त्री युवराज खतिवडाको भोका जनता मारेर ज्वाइँ पोस्ने बजेट ल्याइदिए । खासमा त्यो बेला सरकारका शुभेच्छुकहरुले कसरी हातमुख जोर्ने भन्ने अवस्थामा पुगेका जनतालाई राह्रत दिने कार्यक्रमहरु घोषणा हुने अपेक्षा गरेका थिए । तर जनताका घरदैलामा जानुपर्ने भयभन्दा बाहिर रहेका टिके अर्थमन्त्रीले अर्को चेतावनी दिए– “सरसापट गरेर भए पनि भाकाभित्र कर चुक्ता गर्नुस्, नत्र कारवाही गर्छु ।” उनको यो अभिब्यक्तिले पीडामा परेका जनतालाई घाउमा नुनखोर्सानी दलिदिए बराबर हुन गयो ।

नेकपाले पहल गरोस्

समय अझै पनि घर्किसकेको छैन । नेकपा नेतृत्वले तुरुन्तै पहलकदमी लिनु पर्छ र पार्टीको शाखलाई जनस्तरमा क्षतविक्षत बनाउने वेवकुफ अर्थमन्त्री युवराज खतिवडा र असक्षम स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बर्खास्त गर्नु पर्छ । तिनका ठाउँमा सुझबुझ भएका जोकोहीलाई पनि ल्याए हुन्छ । नेकपाभित्र घनश्याम भुषाल, लेखराज भट्ट र वसन्तकुमार नेम्बाङजस्ता काविल मान्छे कति छन् कति !

त्यससँगै जनताका मागलाई सम्बोधन गर्न कत्ति पनि ढिला गर्नु हुँदैन । किनकि जुलुसले गरेको माग एउटा पनि अनुचित छैन । कर चुक्ता गर्ने ताकेतालाई फिर्ता लिएर गल्ती कमजोरीका लागि क्षमायाचना गर्दै जनतासँग सहयोगको आब्हान गर्ने हो भने सरकारको ढुकुटी भरिने पक्का छ । किनकि नेपालीजन मनकारी छन् भन्ने कुरा विगतका भुकम्प, कोशीको बाढी आदि प्रकोपका बेला सिद्ध भइसकेको छ ।

नयाँ नक्साका कारण चिढिएको भारतले पाम आयल र चिया निर्यात बन्द गरेर हाम्रो अर्थतन्त्रको नशा काट्न सुरु गरिसकेको छ । अब हामीले बढी भएको विजुली भारतमा वा भारत हुँदै बाङ्लादेशलाई बेच्ने सपना नदेखे पनि हुने भएको छ । रेमिट्यान्स ठप्प भएको र अर्थमन्त्रीको गलत रवैयाका कारण अढाई वर्षयता एउटा पनि नयाँ कलकारखाना खुल्न नसकेको तीतो यथार्थलाई नेकपा नेतृत्वले बुझ्न ढिला भइसकेको छ । अब अर्थतन्त्रलाई जीवित राख्ने हो भने ओलीले विगतका गल्ती कमजोरीका लागि जनतासँग माफी माग्नु अनि बोली र ब्यवहार सच्याउनुको विकल्प छैन ।

गल्ती कमजोरीका लागि ओलीले जनतासँग विनम्रताका साथ क्षमा माग्ने हो भने उनको लोकप्रियता पक्कै घट्दैन । बरु अरु उचो हुनेछ । तर अहिले प्रकट भइरहेका अहङ्कारजन्य अभिब्यक्ति हेर्दा ओली र तिनको मण्डलीमा जनतासामु विनम्रतासाथ प्रस्तुत हुने सद्बुद्धि आउने सङ्केत पटक्कै देखिँदैन ।

जनताको मन जित्न र भारत चिढिएको बेला चीनको साथ लिन गर्नैपर्ने अर्को काम भनेको एमसिसीको अस्वीकृति पनि हो । एकजना पूर्वराजदूतका शब्दमा “हाम्रो भौगोलिक अवस्था र परिस्थिति बताएर ‘हामीले पास गर्न नसक्ने भयौँ, अर्को कुनै मुद्दामा बरु हामी तिमीहरुलाई सहयोग गर्छौ । हाम्रो यो अफ्ठेरो परिस्थिति बुझिदेओ’ भनेर कुटनीतिक भाषामा पहल गर्ने हो भने अमेरिकीहरुले पक्कै “हुन्न, तिमीहरुले पास गर्नैपर्छ” भन्ने छैनन् । तर ओली सरकारका परराष्ट्र मामिला सल्लाहकारहरुसँग यति चेत पनि देखिएन ।” जसका कारण एमसिसी पास गरे चीन चिढिने, पास नगरे अमेरिकाले सहयोग बन्द गर्ने स्थिति उत्पन्न भएको छ ।

अझै पनि नेकपा नेतृत्वले पहलकदमी लिन ढिलाई गरिरह्यो भने आन्दोलनलाई विदेशी शक्तिले उपयोग गर्न र नेकपालाई एकादेशको कथा बनाउनबाट कसैले पनि रोक्न सक्दैन । चेतना भया ।

(२०७७ जेठ २९)


प्रतिक्रिया दिनुहोस !