स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीलाई समस्या

स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीलाई समस्या

-अमृत बास्कुने

जिल्ला कारागार कार्यालय म्याग्दीमा स्वास्थ्यकर्मीको दरबन्दी भए पनि पछिल्लो दुई वर्षदेखि रिक्त हुँदा कैदी बन्दीहरुले सास्ती खेप्नुपरेको छ । बेनी गरपालिका–२, ज्यामरुककोटस्थित खबरामा रहेको २५ पुरुष र सात महिला गरी ३२ जनाको क्षमताको कारागारमा अहिले ८३ पुरुष र दुई महिला गरि ८५ जना कैदी बन्दी छन् ।

कारागार कार्यालय म्याग्दीका प्रमुख जेलर धीरेन्द्रराज पन्तका अनुसार कार्यालय प्रमुख अधिकृतस्तर एकजना, नायब सुब्बा एक, खरिदार एक, सह–लेखापाल एक, सहायक कम्प्युटर अपरेटर एक, अहेब एक र चारजना कार्यालय सहयोगीको दरबन्दी छ । तर साढे दुई वर्षदेखि अहेब रिक्त हुँदा कैदी बन्दीलाई समस्या परेको बताइन्छ ।

पन्तले भने, ‘म आएको डेढ वर्ष भयो । आउनुभन्दा पहिले एक वर्षदेखि नै अहेब नरहेको अघिल्ला जेलर राजेन्द्र शर्माले भन्नुभएको थियो ।’ कारागारमा अहेब नहुँदा कैदीबन्दीको उपचारमा निकै समस्या भएको त्यहाँका चौकीदार बसन्त रोकाले बताए ।

मालिका गाउँपालिका–६, दरबब घर भई कैद भुक्तानी गरिरहेका चौकीदार रोकाका अनुसार नियमित औषधि सेवन गर्नुपर्ने सुगरका दुई जना, प्रेसरका छ जना बिरामी छन् । उनीहरुको स्वास्थ्यको निगरानी गरिरहनुपर्ने भए पनि लामो समयदेखि कारागार कार्यालयमा स्वास्थ्यकर्मी नहुँदा समस्या भएको हो ।

सामान्य समस्या देखिए पनि कैदीबन्दी बेनी अस्पताल जानुपर्ने बाध्यता छ । उनीहरुको समस्या समाधानका लागि भए पनि राज्यले उचित ध्यान दिनुपर्ने रोकाको भनाइ छ । कैदीबन्दी बिरामी परेको समयमा उनीहरुलाई बाहिर जान प्रक्रिया पुर्याउनुपर्ने भएकाले जटिल समस्या हुन सक्नेतर्फ राज्यको ध्यान पुग्नुपर्ने रोकाको भनाइ छ ।

अस्ति कारागारको निरीक्षणमा पुगेका गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलालगायतको टोलीलाई जेलर पन्तले दरबन्दीको स्वास्थ्यकर्मी उपलब्ध गराइदिन माग गरेका छन् । टोलीमा न्यायाधिवक्ता गोविन्द गिरी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक तिलक भारती, इन्सेक प्रतिनिधि अमृत बास्कुने, मानवअधिकार तथा शान्ति समाजका सभापति सन्तोष गौतमलगायत मानव अधिकारसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

जिल्ला कारागार कार्यालय म्याग्दीमा ७० वर्षभन्दा माथिका एकजना थुनुवा र ६० देखि ७० वर्षसम्मका तीन जना कैदी छन् । कारागारको निरीक्षणपछि मुख्य न्यायाधिवक्ता बास्तोलाले दरबन्दीका स्वास्थ्यकर्मीको पदपूर्तिको निम्ति पहल गर्ने बताउँदै एक हप्ताभित्र स्वास्थ्यकर्मी कारागारमा उपलब्ध हुने वातावरण बनाउने प्रतिबद्धता जनाए ।

कारागार निरीक्षणपछि टोलीले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको पनि निरीक्षण गरेको थियो । त्यसपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै बास्तोलाले हाल प्रदेशभित्रका कार्यालयमा समस्या समाधानको निम्ति तत्काल कार्यान्वयनको पाटोलाई अगाडि बढाइएको जानकारी दिएका छन् ।

तनहुँ र गोरखामा आफ्नो अनुगमनपश्चात् स्वास्थ्यकर्मी रिक्तता सम्बन्धी समस्या समाधान भएकाले म्याग्दीमासमेत समाधान हुनेमा ढुक्क हुन आश्वासन दिएका छन् ।

मुख्य न्यायाधिवक्ता नेतृत्वको टोलीले यसअघि गोरखा, तनहुँ, बागलुङ र कास्कीको कारागार तथा हिरासत कक्षको निरीक्षण गरिसकेको छ । यसपटक म्याग्दीको निरीक्षणपछि टोली मुस्ताङतर्फ लागेको गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयका सूचना अधिकारी एवं निरीक्षण टोलीका सदस्य शान्तिदेवी शर्माले जानकारी दिए ।

टिप्पणीहरू