माधव नेपालका ज्वाईंको दावी-मेरै क्षमताले राजदूत भएको हुँ

माधव नेपालका ज्वाईंको दावी-मेरै क्षमताले राजदूत भएको हुँ

अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले आफ्नो नियुक्तिबारे उठेका प्रश्नको उतैबाट प्रष्टीकरण दिएका छन् । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बहिनी ज्वाईं भएकै कारण राजदूत बनेको आरोपका बीच गत महिना कार्यभार सम्हाल्न अष्ट्रेलियाको राजधानी क्यानबेरा पुगेका उनले आज आइतवार त्यहाँस्थित नेपाली पत्रकारहरुलाई निवासमै बोलाएर प्रष्टीकरण दिएका हुन् ।

अष्ट्रेलियामा रहेका नेपाली पत्रकारहरुको संस्था अष्ट्रेलियन नेप्लिज जर्नालिष्ट एसोसियनको टोलीलाई दिवा भोजसहित आमन्त्रण गरेका पोखरेलले परराष्ट्र र अर्थ सेवामा आफ्नो योगदानको चर्चा गर्दै नियुक्ति स्वभाविक रहेको दावी गरेका थिए । तथापि माधव नेपालको पारिवारिक सदस्य हुनुमा भने गर्व लागेको उनको भनाई छ ।

कूटनीतिक क्षमताका आधारमा पद पाएकाले माधव नेपालको नाम जोडेर लगाइएका कुनैपनि आरोप पुष्टि हुनै नसक्ने उनले जिकीरसमेत गरे । सो क्रममा उनले आफ्नो छोटो कार्यकालका उपलब्धि र भावी कार्ययोजनासमेत सुनाएको भेटमा सहभागी एक पत्रकारले जानकारी दिएका छन् ।

अष्ट्रेलियामा दूतावास स्थापनाकालदेखि अहिलेसम्म हुँदै आएको नगद कारोबार अन्त्य गर्दै बैंकिंग प्रणालीमार्फत कारोबार शुरु गर्ने नयाँ कार्यको सुरुआत गर्नुलाई पोखरेलले आफ्नो पहिलो सफलताका रुपमा अर्थ्याएका थिए । त्यस्तै,अष्ट्रेलियामा नेपालीहरुले भोग्नुपरेका समस्या केन्द्रित कूटनीतिक प्रयत्न भैरहेको बताएका उनले आफ्नो कार्यकालमै समाधान हुने विश्वास पनि व्यक्त गरे ।

मानव तस्करी र हुण्डी कारोबारका विरुद्ध कलम चलाउँदै आएका पत्रकार हेमन्त काफ्लेले पर्याप्त सरकारी पहल नभएको गुनासो गरेकोमा राजदूत पोखरेलले यस सम्बन्धमा अब पहल हुने बताए । आफूले सामाजिक सञ्जालमा पनि लेखिसकेको र दूतावासका तर्फबाट थप पहल गर्ने भन्दै उनले पत्रकारहरुलाई समस्या समाधान हुनेमा विश्वास गर्न आग्रहसमेत गरे।

त्यस्तै, राजदूत पोखरेलले दूतावास भवन निर्माण र नेपाल-अष्ट्रेलिया सिधा हवाई उडानका लागि पहल भैरहेको र छिट्टै परिणाम प्राप्त हुने जानकारी दिए । साथै, लामो समयपछि पहिलो पटक जलस्रोतका विषयमा दुई देशका सचिवबीच कूटनीतिक वार्ता भएको र त्यसले सफलता हासिल गरेको उनको भनाई छ ।

दुई वर्षअघि निजामती सेवाबाट रिटायर्ड भएपछि पुन: राजदूतका रुपमा आउनु आफ्ना लागि चुनौतिपूर्ण काम भएपनि सफल भएरै छाड्ने बताएका उनले सरकार परिवर्तनले आफ्नो पद जान्छ कि भन्ने डरबाट मुक्त भई निजी प्रलोभनभन्दा माथि उठेर काम गर्ने दावी पनि गरेका छन् । कूटनीतिक शैलीमा प्रस्तुत भएका पोखरेलले त्यहाँस्थित नेपाली पत्रकार, व्यवसायी, सामाजिक अगुवालगायत सिंगो नेपाली समुदायसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाएको भेटमा सहभागी ती पत्रकारले जानकारी दिए ।

टिप्पणीहरू