मन्त्री क्वार्टरका हाकिमबीच मारमुंग्री

मन्त्री क्वार्टरका हाकिमबीच मारमुंग्री

मन्त्री क्वार्टरको रेखदेख र स्याहार सम्भारको जिम्मेवारी पाएका कर्मचारी नै मुक्कामुक्कीमा उत्रिए त्यो पनि हाकिमकै अगाडि । यस्तो हुँदा अघिल्लो साता गौचरणतिर तनावको स्थिति पैदा भयो । हाकिमकै अघि सुब्बा र उपसचिव ‘तँ तँ र म म’को शैलीमा मात्र प्रस्तुत भएनन्, कुटाकुटमै उत्रिएपछि भर्खरै सरुवा भएर त्यहाँ पुगेका सहसचिव कुमार घिमिरेले हैरानी खेपे ।

यस्तो लफडा परेको हो, पुल्चोकस्थित मन्त्री क्वार्टरको हेरचाह गर्ने जिम्मेवारी प्राप्त संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा । त्यहाँका हाकिम (सहसचिव) कुमार घिमिरेकैसामु सुब्बा पशुपति पोखरेल र उपसचिव बेगनाथ पौडेल पाखुरा सुर्कासुर्की मात्र होइन, हात हालाहालकै तहमा उत्रिँदा दिनभर तनाव भएको बताइन्छ । लेखाका हाकिम उसै पनि पावरफुल, उनीसँग झगडा गर्ने पनि कर्मचारी संगठनको हर्ताकर्ता । तैँ रानी, मै रानी कसले भर्ने पानीको शैलीमा प्रस्तुत हुँदा त्यहाँ बबाल भएको हो ।

सुब्बा पशुपतिचाहिँ नाताले आधिकारिक ट्रेड युनियनका कावा अध्यक्ष भोला पोखरेलका आफन्त । राजनीतिक दलभन्दा पर स्वतन्त्र राष्ट्रिय कर्मचारी संगठन खोलेर त्यसको नेतृत्वदायी भूमिकामा छन् । यिनै दुई कर्मचारीबीच लफडाको मुख्य कारणचाहिँ लेखाका हाकिम पौडेलले तारन्तार ‘हाकिम र स्टोरकिपर मिलेर खाए’ भनी अफवाह फैलाउँदै हिँड्ने, विवादमात्र गरिरहने, निहुँ मात्रै खोज्ने हो भनिन्छ । यही लफडाका कारण अघिल्लो साता कार्यालय प्रमुखले पोखरेल र पौडेललाई राखेर वार्ता गराउन खोजे तर दुबैबीच गलफत्ती चल्यो ।

तत्कालका लागि हाकिमले सम्झाइ बुझाई घर पठाए तर उपसचिव पौडेलले भोलिपल्टदेखि झनै दुःख दिन थाले । कहिले फाइल साइन नगर्ने त कहिले भुक्तानी रोक्ने । यस्तो अवरोध जारी रहेपछि चर्काचर्की भएको कर्मचारी स्रोतले जनाएको छ । उपसचिव पौडेल यसअघि सुन्धारा कोलेनिकामा हुँदासमेत यसैगरी विवादमा तानिएका थिए ।

उनको यही स्वभावकै कारण सम्पत्ति शुद्धिकरणबाट समेत महिना दिनमै लखेटिएर संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा पुगेका थिए । त्यहाँ १६ महिना टिकेका उनी ५८ वर्षे उमेर हद लाग्न १८ महिना बाँकी रहँदा हालै मात्र कार्यालय प्रमुख भएर गौचरण पुगेका हाकिम कुमार घिमिरे र महालेखा नियन्त्रकका सचिव सुमनराज अर्यालसमक्ष राजीनामा बुझाई घरतिर हिँडेका छन् ।

टिप्पणीहरू