न्याय क्षेत्र दशैंसम्मलाई सुनसान

न्याय क्षेत्र दशैंसम्मलाई सुनसान

भोलिदेखि १५ दिनको लागि जिल्लादेखि सर्वोच्च अदालतसम्म दशैं बिदाको निम्ति बन्द हुँदै छन् । आज सबै अदालतमा शुभकामना आदान प्रदान गरेर श्रीमान् र कर्मचारीहरु बिदावारी भएका छन् ।

यता सर्वोच्च अदालतमा पनि कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको बिदाईसहित शुभकामना साटासाट गरिएको छ । कार्की आगामी फूलपातीको दिनदेखि अवकाश हुन लाग्नुभएको छ । भोलिदेखि बन्द भएकाले आज सबै अदालतमा १५ दिनको लागि अन्तिम दिन कार्यालय खुलेको थियो ।

अबको दुई साता बन्दीप्रत्यक्षीकरणको मुद्दाको निम्ति सर्वोच्च अदालत दैनिक एकाध घण्टा मात्र खुल्नेछ । उता न्यायपरिषद्को बैठक पनि दशैंपछि मात्रै बस्ने भएको छ । यसअघि अघि बढाइएका सबै कारबाही प्रक्रिया रोकिएका छन् ।

कानुनमन्त्री गोविन्द शर्मा कोइराला यसबीच बिरामी पर्नुभएकाले कारबाहीको मुखमा पुगेका न्यायाधीशहरुले १५ दिनको राहत पाएको बताइएको छ । परिषद् स्रोतले भन्यो, ‘जे होस् यस पटकको दशैंमा उनीहरुलाई नरमाइलो नहुने भयो ।’

न्यायपरिषद्को बैठक नबसेका कारण दशैंभरि न्याय क्षेत्रमा कसैको पनि सरुवा,बढुवा,कारबाही नहुने पक्का छ ।

टिप्पणीहरू