तलब नदिने सञ्चारगृहविरुध्द आन्दोलन घोषणा

तलब नदिने सञ्चारगृहविरुध्द आन्दोलन घोषणा

नेपालीहरुको महान पर्व दशैं नजिकिँदै गर्दा श्रमजीवी पत्रकारहरु तलबविहिन बनेकोप्रति ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघले बताएको छ । विभिन्न सञ्चारगृहले पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण बिदामा राख्ने,तलवभत्ता कटौती गर्ने,अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिने विषयप्रति ध्यानाकर्षण भएको महासंघले जनाएको हो ।

सम्बन्धित सञ्चारगृहसंग पटकपटक संवाद गर्दा तथा दबाबको कार्यक्रम अघि बढाउँदासमेत बेवास्ता गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ । सञ्चारगृहहरु यस्ता समस्या समाधानमा अझै गम्भीर र जिम्मेवार नबन्दा श्रमजीवी पत्रकारका समस्या थप जटिल बनेको उसको दुःखेसो छ ।

उसले दशैंअगावै आफ्नो संस्थामा कार्यरत सबै पत्रकारलाई बाँकी बक्यौतासहित सबै प्रकारका सेवासुविधा उपलब्ध गराएर सहज वातावरण सिर्जना गरिदिन आग्रह गरेको छ । उसले भनेको छ,‘दशैंअगावै आफ्नो संस्थामा कार्यरत सबै श्रमजीवी पत्रकारहरुको बाँकी बक्यौतासहित सबै प्रकारका सेवासुविधा उपलब्ध गराइ सहज वातावरण निर्माण गर्न मिडिया व्यवस्थापन पक्षसंग हार्दिक आग्रह गर्दछ ।’

साथै, अहिलेको अवस्थालाई मध्यनजर गर्दै मिडिया अनुगमन कार्यलाई तीव्रता दिएर जटिल समस्या देखिएका सञ्चारगृहविरुद्ध दबाबमूलक कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिइएको छ । यसका लागि महासंघले आफ्नो सम्पूर्ण शाखा, एसोसिएट तथा प्रदेश समितिलाई तयारी अवस्थामा रहन सुसूचितसमेत गराइसकेको छ ।

सञ्चारगृहमा घेराउ, धर्ना, अनशनसहित संघर्षका विभिन्न कार्यक्रम गर्ने उल्लेख गर्दै महासंघले श्रमजीवी पत्रकारको हकहितका लागि हुने सबै प्रकारका आन्दोलनमा सहभागी रहने प्रतिबद्धता जनाएको छ । असोज १२ गतेदेखि संघर्षका कार्यक्रमहरु अघि बढाउने जानकारी गराइएको छ ।

टिप्पणीहरू