राजधानीमा पहिलो नेपाल–चीन मिडिया सम्मेलन सम्पन्न

राजधानीमा पहिलो नेपाल–चीन मिडिया सम्मेलन सम्पन्न

प्रथम नेपाल–चीन मिडिया सम्मेलन आज काठमाडौंमा सम्पन्न भएको छ । दुई मुलुकबीच कायम आर्थिक तथा सांस्कृतिक आदान प्रदानलाई सुनौलो दशकको सँज्ञा दिँदै कार्यक्रम आयोजना गरिएको बताइन्छ ।

काठमाडौंस्थित हङकङ स्याटलाइट साउथ एसिया नेटवर्क टेलिभिजनले आयोजना गरेको सम्मेलनमा दुई मुुलुकबीच कायम कूटनीतिक सम्बन्धको ६७ औं वार्षिकोत्सवका अवसरमा आगामी महिना सम्पन्न हुने चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय महाधिवेशन सफलताको कामनासमेत गरिएको छ ।

काठमाडौंस्थित विभिन्न नेपाली सञ्चारगृहका प्रतिनिधि,चिनियाँ सञ्चार माध्यमका प्रतिनिधि र चिनियाँ व्यावसायिक समुदायको उल्लेख्य उपस्थितिवीच आयोजित कार्यक्रमलाई चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले बेइजिङबाट भिडियो सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा नेपाली सञ्चारकर्मीहरुले चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स’ बारे थप स्पष्ट जानकारी गराउन चीन सरकार र सम्बन्धित पक्षलाई सुझाव दिएका थिए ।

बीआरआईबारे फैलाइएको केही अफवाहलाई चिर्न त्यसबारे बेलैमा यथार्थ जानकारी गराउँदा उपयुक्त हुने सहभागी सविन धमलाको धारणा थियो । न्यूज एजेन्सी नेपालका प्रबन्ध निर्देशक धमलाले जनमानसमा रहेको बीआरआईसम्बन्धी भ्रम बेलैमा चिर्न सुझाव दिए ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा जनता टेलिभिजनका अध्यक्ष डा. विजय पौडेलले सीमानामा देखिएको अन्यौल हटाउन चिनियाँ सञ्चारमाध्यममार्फत् चीन सरकारलाई अनुरोध गरे । असल छिमेकी मुलुकको हैसियतमा रहेको चीनबारे अनर्गल प्रचार हुने गरेकाले दुई मुलुकका सञ्चारमाध्यमले त्यसलाई चिर्नुपर्ने सुझाव पौडेलको छ ।

त्यसैगरी,आफ्नो धारणा राख्दै योहो टेलिभिजनका समाचार प्रमुख जीवराम भण्डारीले चीनको विकास, समृध्दि र स्थायित्वको बारेमा पूर्व, पश्चिम र दक्षिणी गोलार्धमा हुँदै आएको आंशकालाई दुई मुलुकका सञ्चारमाध्यमले मिलेर निवारण गर्न सक्ने बताए । उनले मुलुकको विकास र समृद्धिको निम्ति चीनको राजनीतिक मोडल विश्वकै लागि अनुकरणीय हुने विश्वास समेत व्यक्त गरे । उनको भनाई थियो, ‘प्रजातन्त्र र मानवअधिकारको मापन मुलुकको विकाससँग हुनुपर्छ । कोरा प्रजातन्त्रले त्यसको अर्थ राख्दैन ।’

आयोजक टेलिभिजनले सम्मेलनको मुख्य उद्देश्य चीन र नेपालका सञ्चार माध्यमहरुबीच अनुभव आदानप्रदान गर्नु बताएको छ । साथै,दुवै देशका सांस्कृतिक र कला आदानप्रदानमा सहकार्य गर्न सकिने जानकारी पनि दिइएको छ । ‘सकारात्मक मिडिया रिपोर्टले दुई देशका जनताबीच कायम रहेको समझदारी र सम्बन्धलाई थप बलियो बनाउन बल पुग्नेछ,’ साउथ एसिया नेटवर्क टेलिभिजनका प्रमुख हौ चिहोङ्गले विश्वास व्यक्त गरे ।

यो टेलिभिजनले सन् २०२० को अगष्ट ८ देखि काठमाडौंबाट आफ्नो समाचार तथा भिडियो पोर्टल सञ्चालन गर्न थालेको हो । चीनमा एक दर्जन मुख्य शहरसहित टोकियो,न्यूयोर्क,मनिला, टोरोण्टो,सिड्नी,पेरिस, न्होम्पेन्ह,सिओल,किभ र काठमाडौंमा यसका समाचार केन्द्र स्थापना भएका छन् ।

टिप्पणीहरू