वर्षमान हराउन एमालेले अघि सार्यो पूर्व फौजी कमाण्डरलाई

वर्षमान हराउन एमालेले अघि सार्यो पूर्व फौजी कमाण्डरलाई

आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट चुनावी मैदानमा उत्रिएका छन्, ‘विमर्श’ अर्थात् पूर्णबहादुर बुढामगर ।

१० वर्षे जनयुद्धले जन्माएका ‘कमरेड’ विमर्श नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका हुन् ।सत–प्रतिशत रोल्पाली एमालेजनको समर्थनमा उनी एकल रुपमा केन्द्रसमक्ष सिफारिस भएको एमाले रोल्पाका एक सचिवालय सदस्यले जनाए ।

‘कमरेड पूर्णको राजनीतिक सपना यसपटक पूर्ण हुनेछ । जनयुद्धको तुफानी यात्रामा सँगसँगै हिँडियो, सँगसँगै लडियो । हामी रोल्पालीहरूले एउटा गर्वलाग्दो इतिहास बनाएका छौँ । पूर्ण कमरेड जुनसुकै पार्टीबाट उम्मेदवार बने पनि युद्धले जन्माएको एउटा नेता हो । वर्षमानलाई हेर्यौँ पटक पटक,पूर्ण कमरेडलाई हेरौँ यसपटक,’ जनमुक्ति सेनाका एक पूर्व बटालियन कमाण्डरले भने ।

एक समय पूरै रोल्पा माओवादीमय थियो । सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पा–१ बाट उम्मेदवार बन्दा नारा लाग्थ्यो– ‘सबैलाई हेर्यौँ पटक पटक, माओवादीलाई हेरौँ यसपटक ।’ माओवादी उम्मेदवारलाई मत माग्दै यिनै पूर्व बटालियन कमाण्डर विमर्शहरू नारा लगाइरहेका हुन्थे । पूर्वमन्त्री वर्षमान पुन पटक पटक सांसद,मन्त्री बने पनि जिल्लालाई केही नगरेको माओवादी नेताहरूकै गुनासो छ ।

उनले दुई दशकको राजनीतिक यात्राका क्रममा अनेकौँ उत्साह, कठिनाइ र भारी चुनौती भोगेको बताइन्छ । त्यसो त ‘कमरेड’ विमर्श माओवादी केन्द्रका उपमहासचिव तथा आफ्नै पूर्वकमान्डर वर्षमान पुन ‘अनन्त’ विरुद्ध चुनावी मैदानमा खडा भएका हुन् ।

जनयुद्धकालमा नेता विमर्श जनमुक्ति सेनाको बटालियन कमाण्डर हुँदा उनै अनन्त माथिल्लो तहको कमाण्डर भएको पूर्व जनमुक्ति सेनाका सदस्यहरूको भनाइ छ । नेकपा विभाजनपछि रामबहादुर थापा ‘बादल’को समर्थनमा रहेका उनी एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य पनि छन् ।

‘कमरेड विमर्शसँग कैयौँ पटक यात्रा गरियो । अग्रपंक्तिमा खटेर युद्ध लडियो । गण्डक अभियानका बेला सँगसँगै हिँड्यौँ । भोक र थकाई बिर्सेर पनि यात्रा गरेका छौँ । उनी मेरा राम्रा साथी हुन् । समयले फरकफरक कित्तामा उभ्यायो । तर पनि युवा मित्रको उम्मेदवारीले उत्साहित छौँ,’ माओवादी केन्द्र रोल्पाका एक सदस्यले भने ।

नेकपा (माओवादी) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाट राजनीतिक यात्रा आरम्भ गरेका उनी जनमुक्ति सेनाको बटालियन कमाण्डरसम्म बनेका थिए । गण्डक अभियानका क्रममा उनी लडाईंको अग्रपंक्तिमा खटिए । पार्टीको जिम्मेवारी र सैन्य भूमिका निर्वाह गर्ने क्रममा पश्चिम क्षेत्रको कुना–कुनामा पुगेको बताइन्छ ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विमर्शलाई आफ्ना पूर्व सहकर्मीहरूले अगाडि पर्दा मुखले चाहिँ बधाई तथा शुभकामना दिन थालेका छन् । ‘पूर्ण दाइलाई बधाई तथा शुभकामना छ, उहाँ र मेरो पार्टी फरक छ । म माओवादी र उहाँ एमाले । तरपनि हामीहरूबीच असल मित्रता छ,’ माओवादी केन्द्र त्रिवेणीका एक सदस्य भन्छन्, ‘युद्धताका हाम्रा बेग्लै दुःख थिए । नेताहरूले बुझेनन् । आगामी निर्वाचनमा उहाँलाई सक्दो सहयोग गर्नुपर्छ ।’

तत्कालीन नेकपा (माओवादी) ले २०६३ ताका युद्ध–मैदानका आफ्ना हजारौँ हतियार क्यान्टोनमेन्टमा थन्क्याएपछि विमर्श पनि खुला राजनीतिको रंगमञ्चमा उत्रिएका थिए । लगत्तै माओवादीको संगठन विस्तारमा लागेर पार्टी काममा खटिए ।

जिल्लामा काँग्रेस र माओवादीबीच चुनावी गठबन्धन भए पनि वर्षमानसँग काँग्रेस कार्यकर्ता असन्तुष्ट रहेको माओवादीजनको बुझाइ छ । त्यसो त काँग्रेस प्रतिनिधिसभा सदस्यको उम्मेदवारबिनै चुवानी मैदानमा जाने तयारी छ ।

‘गठबन्धन भए पनि रोल्पाली काँग्रेसले वर्षमानलाई भोट हाल्न सक्दैन । पहिलो कुरा हामीहरू आफ्नै उम्मेदवार खोज्छौँ । दोस्रो पूर्णजीलाई सहयोग गर्नसक्छौँ । माथिल्लो तहका नेताहरू मिले पनि माओवादीप्रति काँग्रेस कार्यकर्ताको मन भाँचिएको छ,’ नेपाली काँग्रेस रोल्पाका एक पदाधिकारीले बताए ।

शान्ति प्रक्रियापछि विस्तारै माओवादीको जनमत खस्किएको छ । माओवादी विभाजनले हजारौँ नेता–कार्यकर्ता छरिएका छन् । कैयौँ उच्च तहका नेता–कार्यकर्ता एमालेको केन्द्रीय कमिटीदेखि गाउँ कमिटीसम्म सक्रिय छन् ।

टिप्पणीहरू