समावेशी भनेको यस्तै हुन्छ कमरेड ?

समावेशी भनेको यस्तै हुन्छ कमरेड ?

आगामी निर्वाचनको निम्ति पार्टीको तल्ला कमिटीहरुबाट उम्मेदवार सिफारिस भएकाको नाम फाल्दै अर्काको नाम केन्द्रबाट थपक्क थपिएपछि स्थानीय नेता तथा कार्यकर्ताले माओवादी नेतृत्वको चर्को आलोचना गरेका छन् । यस्तो आलोचना टाढा र दुर्गम जिल्लामा नभएर राजधानीको मुटुसँग जोडिएको निर्वाचन क्षेत्रमा भएको छ ।

सामाखुशी,ठमेलसमेत जोडिएको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा प्रदेश सभा उम्मेदवारको निम्ति प्रत्यक्षतर्फ सिफारिस भएका रविन्द्र श्रेष्ठले सामाजिक सञ्जालमा ‘षड्यन्त्रको गन्ध’ भन्दै लेखेका छन् । अहिले सामाजिक सञ्जालबाट हटाइएको उक्त स्टाटसमा श्रेष्ठले तल्लो कमिटीले प्रत्यक्षतर्फ आफ्नो नाम सर्वसम्मत र एकल सिफारिस गरेर पठाए पनि नेतृत्वले समानुपातिकतिर धकेलिदिएपछि पार्टी नेतृत्वलाई चेतावनी दिएका हुन् ।

तपाईंमाथि षड्यन्त्र भएको हो ? भन्ने जनआस्थाको जिज्ञासामा उनले भने, ‘काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ को प्रदेश ‘क’ मा प्रत्यक्षतर्फ मेरो नाम एकल सर्वसम्मत सिफारिस भएकोमा दुई मत छैन । तर समानुपातिकमा सिफारिस भएको थाहा पाएपछि षड्यन्त्रको गन्ध पाएको हुँ ।’

रविन्द्रका अनुसार उक्त निर्वाचन क्षेत्र नम्बरको ‘क’ प्रदेशका वडा कमिटीहरुको सिफारिसमा क्षेत्रीय निर्वाचन कमिटी ६ बाट समेत सदस्यहरुले हस्ताक्षर गरेर एकल प्रत्यक्षको निम्ति पठाइएको नाम हटाउन नेतृत्वलाई केले अभिप्रेरित गर्यो भन्नेबारे आफूले थाहा नपाएको उनको भनाइ छ । श्रेष्ठका अनुसार तल्लो तहका नेता तथा कार्यकर्ताको सर्वसम्मत सिफारिस उल्टाउँदा धेरैले अपमान महसूस गर्ने र ‘ग्राउण्ड रियालिटी’ विपरित हुन गएको हो ।

उक्त निर्वाचन क्षेत्रमध्ये संघीय संसदको कोटा काँग्रेसले पाउने सम्भावना बढी रहेको बताइन्छ । तर प्रदेशमध्ये एउटामा माओवादी केन्द्रले पाउने निश्चित भएको उनले बताए । प्रत्यक्ष निर्वाचनतर्फको निम्ति सिफारिस भएको व्यक्तिलाई हटाउँदा गलत अर्थ लाग्ने रविन्द्रको भनाइ छ ।

उनले भने, ‘समानुपातिक निर्वाचनको उद्देश्य प्रत्यक्षमा निर्वाचित हुन नसक्ने,पछाडि परेको समूह वा समुदायको निम्ति राखिएको हो । तर,अहिले जतासुकै गलत व्याख्या गरिएकोमा धेरैको चित्त बुझेको छैन ।’

सोही क्षेत्रबाट माओवादीले निर्वाचन आयोगमा पेश गरेको बन्दसूचीमा पहिलो नम्बरमा महिला सरोज गुप्ताको नाम राखिएको छ । उनलाई मधेशी महिलाको कोटामा राखिएको हो । तर गुप्ताको असली थर पन्त रहेको बताइन्छ । उनी विवाहपछि गुप्ता बनेको स्रोतको दाबी छ । रविन्द्रको नाम समानुपातिकको १६ नम्बरमा उल्लेख छ ।

पन्त थर भएकी महिलालाई गुप्ताको हैसियतमा मधेशी महिलाको दर्जामा समानुपातिकको सूचीमा राखिएको विषयमा माओवादीभित्रैबाट विरोध भएको छ । वामपन्थी नेताहरुमध्ये अधिकांशका श्रीमती र श्रीमान फरक जात र थरका भएकाले समावेशी बनाउने नाममा आवश्यकताअनुसार माइती वा घरको थर प्रयोग गर्ने प्रवृत्ति डरलाग्दो भएको उनै रविन्द्रले पनि बताए ।

टिप्पणीहरू