पाँचथरका युवाको राष्ट्रपतिलाई ज्ञापन

पाँचथरका युवाको राष्ट्रपतिलाई ज्ञापन

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित नागरिकता विधेयकलाई दोस्रो पटक पनि प्रमाणीकरण नगरेको भन्दै पाँचथरका युवाले ज्ञापन पत्र पठाएका छन् । संविधानका पालकले नै संविधानको पालना नगरेको भन्दै पाँचथरबाट सत्ता गठबन्धन दलका युवा संगठनहरुले जिल्ला प्रशासन कार्यालय मार्फत् राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएका छन् ।

राष्ट्रपति भण्डारीको कदमले जनताले निर्वाचित गरेर पठाएको संसद र लोकतन्त्रकोे धज्जी उडाएको उनीहरुको आरोप छ । संविधानको रक्षा गर्नुपर्ने ठाउँबाटै संविधानमाथि प्रहार भएको र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मान्यतामाथि गम्भीर प्रहार भएको उनीहरुको ठहर छ ।

नागरिकताविहीन नेपाली नागरिकको नागरिकता प्राप्त गर्ने संवैधानिक अधिकार हनन् हुनेगरी राष्ट्रपतिबाट जनताको सवैधानिक अधिकारसँग जोडिएको विषयमा खेलवाड गर्दै निश्चित राजनीतिक पार्टीको कार्यकर्ताको हैसियतमा पदीय मर्यादाभन्दा बाहिर गएको उनीहले ज्ञापन पत्रमा लेखेका छन् । राष्ट्रपतिका संविधानविपरितका गतिविधिविरुद्ध युवा संगठनहरु एकजुट भई ती सबै असंवैधानिक कार्यको घोर भत्र्सना गरिएको छ । उनीहरुले चरणबद्ध आन्दोलनका कार्यक्रमहरुको समेत जानकारी गराएका छन् ।

नेपाल तरुण दल, युवा संघ नेपाल, जसपा युवा संघ, वाईसीएल नेपालले संयुक्तरुपमा पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरेलाई हिजो ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले राष्ट्रपतिको कदमविरुद्ध सचेत रहन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सवैधानिक व्यवस्थाका पक्षधर सबै राजनीतिक दल, युवा, नागरिक समाज, वौद्धिक समुदाय, श्रमजीवी वर्ग, सञ्चार क्षेत्रलगायत सबैलाई आह्वान समेत गरेका छन् ।

टिप्पणीहरू