स्वदेशको ताजा हुँदाहुँदै बाहिरकै माछा ?

स्वदेशको ताजा हुँदाहुँदै बाहिरकै माछा ?

माछा त ताजा खान पाए पो ! नेपालमै उत्पादित स्वच्छ, ताजा माछाले हामीलाई नपुग्ने पनि होइन । नेपालका मत्स्य व्यवसायी भन्छन्, ‘नेपालमै पर्याप्त माछा उत्पादन हुन्छ । हामी माछामा आत्मनिर्भर भइसकेका छौं ।’ तर भारतबाट अवैध रुपमा भित्रिएका माछाले नेपाली बजार ओगटिदिँदा नेपालका माछा कृषकहरु प्रताडित छन् । नेपाल सरकारको राजश्व पनि गुमिरहेको छ भने यहाँका माछा उपभोक्ताहरुले स्वास्थ्यका लागि हानिकारक बासी र विषाक्त माछा किनेर खानुपरिरहेको छ ।

भारतबाट भन्सार छलेर अवैध तवरले ल्याइएका माछा नेपाली माछाकै भाउमा बिक्री गरिन्छ । यसले स्थानीय किसानको बजार धराशायी हुन गई मत्स्य किसानहरु आफ्नो लागत उठाउन नसक्दा बैंक र अन्य वित्तीय संस्थाबाट लिएको कर्जा भुक्तान गर्न नसकी पेशाबाटै पलायन हुने अवस्थामा पुगेको गुनासो आउन थालेको छ । अति नै भएपछि अहिले नेपालका मत्स्य व्यवसायीहरु भारतबाट अवैध रुपमा आयातीत माछा नियन्त्रणमा लिएर नष्ट गर्न आफैं लागिपरेका छन् ।

हाल दैनिक ४० देखि ४५ टन माछा भारतबाट नेपाल भित्रिने गरेको बताइन्छ । त्यसमा देखाउनकै लागि एक÷दुई टन वैधानिक बाटोबाट ल्याएर अरु सबै अवैध रुपमा भिœयाउने गरेको बताउँदै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ भन्छन्, ‘प्रतिकिलो ५६ रुपैयाँ भन्सार तिरेर वैध रुपमा आउँछन् भने हामी (नेपाली व्यवसायी) प्रतिस्पर्धा गर्न तयार छौं ।’

भारतबाट जिउँदो माछा ल्याउन त्यत्ति सम्भव देखिँदैन । मारिएको माछा लामो समयसम्म नसडोस्, नबिग्रोस् भनेर अखाद्य रासायनिक पदार्थ हालेर ल्याइने गरिएको नेपाली व्यवसायी बताउँछन् । ‘फर्मालिन र नाइटे«ड मिसावट गरिएको माछा जनस्वास्थ्यको दृष्टिले कति न्यायोचित रहन्छ ?’, उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले भने, ‘उपभोक्ताको स्वास्थ्यमा समेत गम्भीर खेलबाड गरिएको छ ।’

यस्ता विषाक्त रासायनिक पदार्थ मिलाइएका खाद्यवस्तुको सेवनले अल्सरदेखि लिएर क्यान्सरसमेत हुनसक्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी बताउँछन् ।

अवैध तथा अखाद्य भारतीय माछालाई नेपाल सरकारले कडाइका साथ नियन्त्रण गर्न नसक्दा नेपाली बजारमा भारतीय माछा छयाप्छ्याप्ती भएको हो । नेपाली माछा भन्दै झुक्याएर भारतीय माछाको व्यापार गरिँदा आम उपभोक्ता नराम्ररी ठगिएका छन् । पोखरा, काठमाडौंतिर चितवनको टाँडी, माडीको माछा भनेर र चितवनतिर जनकपुर, धादिङको माछा भन्दै भारतबाट ओसारिएका माछा बेच्ने गरिएको स्थानीय व्यवसायी बताउँछन् ।

स्वस्थ, ताजा माछाका लागि सकेसम्म जिउँदो नै खरिद गर्न वा नेपाली माछा मात्रै बेचिने ठाउँबाट माछा खरिद गर्न आम उपभोक्तालाई नेपाली मत्स्य किसानहरुको आग्रह छ । नेपालमै उत्पादित ताजा, स्वस्थकर माछा र भारतबाट आयातीत बासी, विषाक्त माछा कसरी चिन्ने ?

चितवन मत्स्य व्यवसायी संघका अध्यक्ष खगेन्द्र सुवेदीका अनुसार मरेको माछाको आँखा टल्केको र पारदर्शी छ भने त्यो ताजा नेपाली माछा हो । आँखा धमिलो र भित्र पसेको माछा बासी हो त्यो स्वस्थकर पनि हुँदैन । हातले थिच्दा ताजा माछामा औंला गड्दैन तर बासी माछामा औंला गड्छ । रंग खुइलिएको, भुँडी फुटेको माछा पनि खान योग्य हुँदैन । नेपाली माछाको आकार सानो–ठूलो हुन्छ तर भारतीय माछा भने एउटै आकारको आउँछ । स्वस्थ माछाको गिल्स रातो वा गाढा रातो हुनुपर्छ, सेतो प्याल्ल परेको, पहेँलो वा फिक्का छ भने त्यो स्वस्थकर वा ताजा हुँदै होइन ।

‘खुल्ला सीमाना हाम्रो दुर्भाग्य भएको छ, यसले नेपालमा ठूलो परिमाणमा भएको लगानी जोखिममा छ’, चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद न्यौपाने भन्छन्, ‘हामी आत्मनिर्भर भएको खाद्यवस्तुमा पनि भारतीय हस्तक्षेप नेपाली उद्योगी, व्यवसायीका लागि बडो विडम्बनाको अवस्था हो ।’

उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ, रत्ननगर उद्योग वाणिज्य संघ, खैरहनी उद्योग वाणिज्य संघ, चितवन चेम्बर अफ कमर्स, चितवन मत्स्य व्यवसायी संघ र नेपाल मत्स्य व्यवसायी संघले संयुक्त रुपमा हिजो नारायणगढमा अवैध एवम् अस्वस्थ माछा आयात नियन्त्रण सम्बन्धी सचेतना एवम् पत्रकार सम्मेलन आयोजना गरेका थिए । भारतबाट अवैध रुपमा भइरहेको माछा आयात रोक्न सरकारसँग माग गर्दै संयुक्त प्रेस विज्ञप्ति नै जारी गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘देशका विभिन्न क्वारेन्टाइन, चेकपोष्टहरुमा मत्स्य व्यवसायी संघका प्रतिनिधिसमेत रहने गरी कडाइका साथ अनुगमन गरी गैरकानुनी एवम् अवैध रुपमा माछा आयात गर्ने कार्यलाई अविलम्ब रोक्नको लागि सम्बन्धित निकायलाई अनुरोध गर्दछौं ।’

टिप्पणीहरू