उद्योग विभागमा कुलमानका मान्छेसङ्ग मागियो घुस

उद्योग विभागमा कुलमानका मान्छेसङ्ग मागियो घुस

‘नानीदेखि लागेको बानी’ छाड्न मानिसलाई निकै गाह्रो हुन्छ । अहिले त्यही बानीका कारण नायव सुब्बा राजन खड्काहरुले उद्योग विभाग, त्रिपुरेश्वरलाई अर्को मालपोत बनाइदिएको आरोप लागेको छ ।

सेवाग्राहीसँग अवैध तवरले रकम असुल्ने, असुली सफल नहुने देखिए झपार्ने उद्योग विभागभित्रको पछिल्लो रोग बनेको छ । ‘तपाईं गइहाल्नुस्,तपाईंको काम अहिले हुँदैन’ भन्ने थेगो कर्मचारीहरुको नयाँ फर्मुला भएको एक जना भुक्तभोगीले बताए ।

पछिल्लो प्रमाणका रुपमा ती सेवाग्राहीसँग हाइड्रो पावरसँग सम्बन्धित विषय रहेको अनुभव छ । पुर्ख्यौली घर उदयपुर भई थापा थरका एक हाइड्रो लगानीकर्तासँग ती कर्मचारीले घुस मागेको दाबी गरिएको छ ।

तर आफ्नो प्रस्तावलाई थापाले अस्वीकार गरेपछि कर्मचारीले ‘तपाईं गइहाल्नुस्, तपाईंको काम हुँदैन’ भन्ने जवाफ दिएको बताइन्छ । पर्वत, लमजुङलगायत जिल्लामा हाइड्रो पावरमा लगानी गर्दै आएका लोकेन्द्र थापामाथि पनि कर्मचारीले त्यस्तै व्यवहार गरेका छन् । नेपाल विद्युत प्राधिकरणमा ११ औं तहको कर्मचारीको जिम्मेवारीबाट अवकाश प्राप्त थापा हाइड्रोको क्षमतावृद्धिसम्बन्धी काम लिएर जाँदा कर्मचारीले घुस्याहा व्यवहार देखाएको उनी निकट एक जनाले बताए ।

खड्कालगायतले निर्देशक,महानिर्देशक सबैको नाम लिँदै घुमाउरो तरिकाले बार्गेनिङ गरेपछि लोकेन्द्रले अस्वीकार गरेका थिए । ‘अण्डर टेबल’ को कुरो हुने गरेको लोकेन्द्रले जनआस्थालाई फोनमा बताए । जनआस्था संवाददाता हिजो साढे १ बजे विभाग पुग्दा लोकेन्द्र अनुमति शाखाका अधिकृत रामप्रसाद लुईटेलसँग उक्त घटनाबारे गुनासो गरिरहेका थिए ।

राजन खड्का भने आफ्नो कुर्सीबाट उठेर निर्देशकको कोठामा बसे । अर्का एक जना नायव सुब्बाको बारेमा कार्यालयका कर्मचारीहरु भन्दै थिए, ‘दुई दिनदेखि ज्वरो भन्दै अफिस आएका छैनन्, उनीहरुको तर्फबाट हामी माफी माग्छौं । यसलाई यहीँ बिर्सिदिनुस् ।’ त्यसैगरी अधिकृत लुईंटेलले पनि आफ्नो टिमबाट भएको गल्तीप्रति क्षमा माग्दै यस्तो घटना दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन् ।

रामप्रसादसँगको कुराकानीपछि लोकेन्द्रले जनआस्थासँग भने, ‘यी नायव सुब्बाहरु अन्डरटेबलको कुरा गर्छन् तर अरु हाकिमहरु समझदार र विश्वासिलो लागे ।’ खड्का उक्त महाशाखामा आउनुभन्दा अघि वैदेशिक लगानी महाशाखामा थिए । त्यहाँ पनि त्यस्तै व्यवहारको गुनासो आएको बताइन्छ । अधिकृत लीलाराज काफ्लेले पुल्पुलाएका कारण खड्काले त्यस्तो हर्कत गरेको भन्ने कर्मचारीहरु पनि भेटिएका छन्। उनीहरुको निश्कर्ष छ, ‘लीलाको लीला अपरम्पार छ ।’

टिप्पणीहरू