बालुवाटारको बैठक ८ घण्टा निरन्तर,परिणाम फेरि उस्तै

बालुवाटारको बैठक ८ घण्टा निरन्तर,परिणाम फेरि उस्तै

सत्तारुढ गठबन्धनको बैठक डेढ महिनादेखि निरन्तर बसे पनि आगामी निर्वाचनमा गरिने सीट बाँडफाँड र तालमेलबारे ठोस निश्कर्ष निस्केको छैन । शीर्ष नेताहरु र कार्यदलको बैठकमा हालसम्म प्रत्यक्ष निर्वाचनतर्फ संघीय संसदको करिब एक सय २० सीटमा सहमति भएको बताइएको छ ।

सँधै बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकमा गाँठो मधेस प्रदेशको ३२ सीटमा परेको हो । त्यसैगरी प्रदेश नम्बर १ का केही जिल्लाको निर्वाचन क्षेत्रबारे पनि दलहरुबीच आ–आफ्नै अडान कायम छ ।

हिजो प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सत्ता गठबन्धनको बैठक बसेको थियो । बिहान पौने १२ बजेबाट बसेको बैठक साँझ सवा ७ बजेसम्म लम्बियो । आठ घण्टासम्म बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतको उपस्थिति थियो । तर, सीट बाँडफाँडमा सहमति हुन नसकेपछि नेताहरु साँझ बालुवाटारबाट निस्किए ।

सीट बाँडफाँडको विषय अनिर्णित भएकै समयमा अहिले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको नयाँ विषयले गठबन्धनको बैठकमा प्रवेश पाएको छ । सीट बाँडफाँडसँगै उक्त विषयमा पनि दलहरुबीच थप रणनीति बनाएर अघि बढ्नुपर्ने जिम्मेवारी र दायित्व थपिएको छ ।

टिप्पणीहरू