घटस्थापनाको भोलिपल्ट तराईमा राष्ट्रपतिको पुत्ला जलाइने

घटस्थापनाको भोलिपल्ट तराईमा राष्ट्रपतिको पुत्ला जलाइने

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपाललगायत केही साना दलबाहेक अरु सबै राजनीतिक दल विरोधमा देखिएका छन् । विशेषगरी तराई मधेसको मुद्दामा केन्द्रित राजनीतिक दलहरुले सबैभन्दा धेरै विरोध जनाएका छन् ।

त्यसमा जनता समाजवादी पार्टी (जसपा) मुख्य देखिन्छ । उक्त पार्टीको मधेस प्रदेश समितिले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुलाई संवैधानिक व्यवस्थाको घोर उल्लंघन भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीले फूलपातीको दिनसम्म विभिन्न किसिमका विरोध कार्यक्रम तय गरेको हो ।

विज्ञप्तिअनुसार भोलि नागरिक समाज, बुद्धिजीवीहरुसँग अन्तरक्रिया राखिएको छ । मंगलवार जिल्लाका सदरमुकाममा विरोध प्रदर्शन तथा राष्ट्रपतिको पुत्ला दहन गर्ने र असोज १३ गते जनप्रतिनिधिलाई विधेयक र अध्यादेशबारे जानकारी गराउने बताइएको छ ।

त्यसैगरी असोज १५ देखि १७ गतेसम्म तराईका सबै पालिका तथा वडामा भेला गरी राष्ट्रपतिको कदम तथा विधेयकको बारेमा पार्टी कार्यकर्ता र सर्वसाधारणलाई जानकारी गराउने भनिएको छ ।

टिप्पणीहरू