चोरी मुद्दाका पटके प्रतिवादी छ महिनापछि समातिए

चोरी मुद्दाका पटके प्रतिवादी छ महिनापछि समातिए

चोरी मुद्दाका फरार प्रतिवादी छ महिनापछि पक्राउ परेका छन् । काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ जोरपाटी बस्ने ४३ वर्षीय राजु तामाङ चोरी कसूरमा समातिएका हुन् ।

उनीमाथि गत वैशाख १५ गते दिउँसो कोटेश्वरस्थित एक घरमा छिरेर नगद, घडी, सुनचाँदीका गरगहना चोरेको अभियोग छ । घरमा कोही नभएको मौका पारेर तामाङले १५ लाख ८४ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले तामाङलाई हिजो चाबहिलबाट नगद, सुनको सिक्री र फलामको रडसहित नियन्त्रणमा लिएको हो ।

राजु यसअघि पनि चोरी मुद्दामा धेरै पटक जेल परिसकेका कुख्यात अपराधी भएको प्रहरीले बताएको छ । उनीविरुद्द २०६९ असार ३१ गते ललितपुर जिल्ला अदालतले चोरी मुद्धामा कैद तथा जरिवाना सुनाएको थियो ।

त्यस्तै, २०७५ असोज २१ गते चोरी मुद्दामै काठमाडाैं जिल्ला अदालतले पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गरेको थियो । उच्च अदालत पाटनबाट तीन वर्ष कैद र ३० हजार जरिवाना ठहरी गरी उनी २०७८ असोज तीन गते कैद भुक्तान गरी छुटेको प्रहरीले बताइएको छ ।

तामाङ चोरी गर्न घरको पछाडितर्फको झ्यालको ग्रिल उप्काएर कोठामा प्रवेश गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाहीको निम्ति प्रहरी बृत नयाँ बानेश्वर पठाइएको छ ।

टिप्पणीहरू