राष्ट्रपतिको कदमको विरोधमा उत्रिएको लोसपा एमालेसँग गठबन्धन गर्न कस्सियो

राष्ट्रपतिको कदमको विरोधमा उत्रिएको लोसपा एमालेसँग गठबन्धन गर्न कस्सियो

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मङ्सिर ४ को निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ । नागरिकता विधयेकमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई लिएर परस्पर विपरित खेमामा रहेका दुई पार्टीबीच चुनावी सहकार्य हुने भएको हो ।

एमालेसँग गठबन्धन गर्न लोसपाले आज वार्ता समिति गठन गरेको छ । वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा गठित पाँच सदस्यीय वार्ता समितिमा नेताहरु शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनाल सदस्य रहेका छन् ।

अध्यक्ष ठाकुरले एमालेलगायतका अन्य विचार मिल्ने पार्टीसँग पनि निर्वाचनमा सहकार्य हुने बताए । यसअघि लोसपा सत्ता गठबन्धनमा मिसिन प्रयासरत थियो । तर, गठबन्धनका दुई दल माओवादी केन्द्र र जसपा सहकार्यका लागि तयार नभएपछि उसको प्रयास असफल भएको हो ।

यता, पाँच दलीय गठबन्धनविरुद्ध एक्लै प्रतिष्पर्धा गर्ने बताउँदै आएको एमाले पनि सम्भावित गठबन्धनको खोजीमा छ । एमालेले राजेन्द्र लिङ्ग्देन नेतृत्वको राप्रपासँग तालमेल गर्न वार्ता समिति बनाएर छलफलसमेत अघि बढाई सकेको छ ।

स्थानीय आवश्यकताका आधारमा तालमेल हुनसक्ने भन्दै एमालेले लोसपा, राप्रपा नेपाललगायतका पार्टीहरुसँग गठबन्धन गर्ने संकेत यसअघि नै दिइसकेको छ ।

टिप्पणीहरू