पत्रकार धम्क्याउने अखिल अध्यक्षलाई महासंघको कडा चेतावनी

पत्रकार धम्क्याउने अखिल अध्यक्षलाई महासंघको कडा चेतावनी

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुक अध्यक्ष सुनिता बरालले अनलाइनखबर डटकममा कार्यरत पत्रकार बिनु सुवेदीलाई कुटपिट गर्ने धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रकाशित समाचारलाई लिएर अपशब्द प्रयोग गर्दै बरालले सामाजिक सञ्जाल ट्वीटरमार्फत कुटपिट गर्ने धम्की दिएको भन्दै महासंघले आज विज्ञप्ति निकालेर घटनाको भर्त्सना गरेको छ । झापामा रिपोर्टिङ सकेर फर्किएकी पत्रकार सुवेदीलाई हिजो ट्वीट गर्दै बरालले,‘बिनु सुवेदीले कुन दिन झापाली जनताको रामधुलाई भेट्छिन्’ भन्दै गालीगलौज गरेको जानकारी प्राप्त भएको महासंघको विज्ञप्तिमा उल्लेख छ ।

महासंघका महासचिव रोशन पुरीले सामाजिक सञ्जालमार्फत पत्रकारलाई आक्रमणको ठाडो धम्की दिनु अत्यन्त दुःखद र अशोभनीय काम भएको बताएका छन् ।‘सामाजिक सञ्जालमा विचार अभिव्यक्त गर्नु र त्यसप्रति टिकाटिप्पणी हुनु अभिव्यक्ति स्वतन्त्रता हो । तर अभिव्यक्ति स्वतन्त्रताका नाममा एउटा जिम्मेवार व्यक्तिबाट सामाजिक सञ्जालमार्फत पत्रकारलाई आक्रमणको ठाडो धम्की दिनु अत्यन्त दुःखद् र अशोभनीय काम हो’, महासंघले भनेको छ ।

महासंघले प्रेसविरोधी कार्यमा संलग्नमाथि तत्काल कानूनी कारबाहीको प्रक्रिया अघि बढाउन माग गरेको छ ।

‘महासंघ यस किसिमको हर्कतको कडा शब्दमा भर्त्सना गर्दै प्रेसको संवैधानिक स्वतन्त्रता र अधिकार सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू