तीन वर्षीय नाबालक बिनाकसुर जेल

तीन वर्षीय नाबालक बिनाकसुर जेल

सुधारगृहको रुपमा चिनिने कारागारमा एक नाबालक दुई वर्षदेखि बिनाकसुर सजायँ भोगिरहेका छन् । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका –६, का तीन वर्षीय नाबालक प्रभास लोहारले अभिभावकसँगै सजायँ भोगिरहेको कारागार कार्यालय रुकुमपश्चिमले जनाएको छ । लागुऔषध(अफिम)मुद्दामा कैद सजायँ भोगिरहेकी आमा गाइने कामीको कारण उनले जेलमा बस्नुपरेको हो ।

कारागार कार्यालय रुकुमपश्चिमका प्रमुख प्रमुख अकबिर घर्तिका अनुसार नाबालक प्रभास आमासँगै २०७७ साउन ९ गतेदेखि जेलमा छन् । प्रभास अदालत आउँदा एक वर्षका मात्र थिए । गाइने कामीविरुद्ध रुकुमकोट जिल्ला अदालतले २०७८ पुस ८ गते १५ वर्ष कैद, पाँच लाख जरिवाना र २० हजार क्षतिपूर्तिको फैसला गरेको थियो ।

महिला ब्लकमा रहेका नाबालकले अन्य समस्या पनि झेलिरहेका छन् । पाँच जना महिलाको क्षमता रहेको यस कारागारमा नौ जना छन् । बस्ने, खाने, सुत्ने, खेल्नेलगायत विषयमा नाबालकका कानुनी अधिकार खुम्चिएको बार एशोसिएसन, अध्यक्ष अधिवक्ता गणेश हमालले बताउनुभयो । बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार नाबालकलाई बाल सुधार गृहमा वा अभिभावकको जिम्मामा राखिनुपर्ने हुन्छ । बिनाअपराध नाबालकलाई यसरी कारागारमा राखिनु बालअधिकारको ठाडो उल्लंघन भएको अधिवक्ता हमालले जनाउनुभयो । जिल्लामा बाल सुधारगृह छैन ।

कारागारमा कैद भुक्तान गरिरहेकी आमासँगै रहेका प्रभासलाई भविष्यमा मानसिक समस्या हुन सक्ने मनोविमर्शकर्ता दीपा धितालले बताउनुभयो । महिला पुनःस्थापना केन्द्र रुकुमको जिल्ला संयोजकसमेत रहनुभएकी धितालले बाल्यकाल कारागारमा बिताउँदा बाहिरी संसार थाहा नहुने भएकाले भविष्यमा समस्या हुन सक्ने उल्लेख गर्नुभयो । सन्तुलित तथा पोषणयुक्त आहार, स्याहारसुसार लगायतको कमीको कारण कारागारमा रहेका नाबालकको स्वास्थ्य बाहिरका बच्चाको जस्तो नहुने पनि उहाँले जनाउनुभयो ।

२५ जना कैदीबन्दीको क्षमता रहेको कारागार कार्यालयमा हाल ११५ जना रहेका छन् । १०५ पुरुष, नौ जना महिला र एक नाबालकले कारागारको साँघुरो र कठिन समय भोगिरहेका छन् । क्षमताभन्दा चार गुणा बढी कैदी बन्दीको कारण कैदीहरूलाई सुत्न, खेल्न, पानी तथा शौचालयको प्रयोगमा समेत कठिनाइ हुने गरेको छ ।

टिप्पणीहरू