समयको गति,कतिपयको दुर्गति

समयको गति,कतिपयको दुर्गति

जिन्दगीको बाटो कहिले उकालो अनि कहिले ओरालो । आज सब थोक भएकाहरु कतिखेर रित्तो हुन्छन् त्यो पनि भन्न सकिँदैन । यो सबै समयको खेल हो । समयसँगै हिँड्न जान्नेले कहिल्यै पछाडि फर्केर हेर्नुपर्दैन । तर समयलाई वास्ता नगर्नेको हालत बेहाल भएको पनि हामीले देखेका छौं ।

त्यसैको सही उदाहरण बनेको छ, सन् १८८८ मा अमेरिकाको न्यूयोर्कमा स्थापित कोडाक कम्पनीमा कुनै बेला एक लाख ७० हजार कर्मचारी काम गर्थे । त्यतिखेर दुनियाँको ८५ प्रतिशत फोटो उत्पादनमा प्रयोग हुने पेपर र रिल बिक्री वितरणको बजार उक्त कम्पनीले ओगटेको थियो ।

तर, सन् २००० पछि डिजिटल फोटोग्राफीको प्रचलन आउनेबित्तिकै कोडाक विस्थापित भयो । कम्पनीमा काम गर्ने सबै कर्मचारी एकै पटक सडकमा पुगे । यही लाइनमा एचएमटी घडी,बजाज स्कुटर, डाइनोरा टिभी,मर्फी रेडियो,नोकिया मोबाइल,राजदूत बाइक र एम्बेसडर कार पनि बजारबाट विलय भएको छ ।

समयसँगै आफ्नो उत्पादनमा परिवर्तन ल्याउन नसक्दा ती कम्पनीले बजारमा प्रतिस्पर्धा गर्न सकेनन् । अबको १० वर्षमा विश्वमा रहेका अहिलेका ७० देखि ९० प्रतिशत उद्योग बन्द हुने सम्भावना देखिन्छ । उवर एक सफ्टवेयर हो जोसँग आफ्नो कारसमेत छैन तर त्यो सबैभन्दा ठूलो ट्याक्सी कम्पनी बनेको छ ।

एयर बीएनबी विश्वको सबैभन्दा ठूलो चेन होटल कम्पनी हो तर त्योसँग आफ्नो एउटा होटल पनि छैन । पे टिएम,ओला क्याब्स, ओयो रुम्स जस्ता अरु थुप्रै कम्पनी छन् जसले लगानी नगरे पनि सफ्ट्वेयर एपमा जोडिएर मनग्गे आम्दानी गरिरहेका छन् ।

पछिल्लो समय संयुक्त राज्य अमेरिकाका वकिलहरु बेरोजगार बनेका छन् । उनीहरुले रोजगारी गुमाउनुको कारण प्रविधि भएको छ । आइबिएम वाटसन नामको एपले निमेषभरमा कानूनी सल्लाह र सुझाव दिने भएपछि धेरैले खर्च गरेर भौतिक रुपमा वकिल राख्ने झण्झटबाट मुक्ति लिएका छन् ।

सन् २०३० सम्म आइपुग्दा कम्प्युटर मानिसभन्दा पनि धेरै बुध्दिमान भइसक्ने अनुमान गरिन्छ । डिजेल वा पेट्रोल कारको स्थान विद्युतीय गाडीले लिइसक्ने छन् । बिना ड्राइभर कार गुड्न थाल्नेछन् । यसबाट दुर्घटना घट्ने भएकाले बिमा कम्पनीको औचित्य पनि समाप्त हुन बेर छैन । हिजो शहर वा बजारमा फोन गर्नका लागि पिसिओलाई शानको रुपमा लिइन्थ्यो भने आज हातहातमा मोबाइल फोन भएको छ ।

पिसिओ सञ्चालकहरुले केही समय अघिसम्म मोबाइलको रिचार्ज कार्ड बेच्न थाले । तर,मोबाइल बैंकिङ र डिजिटलको जमाना आएपछि उनीहरुलाई घरखर्च चलाउन पनि धौ धौ परेको छ । पसलहरुमा समेत मोबाइल बैकिङबाटै कारोबार हुन्छ । मुद्रा पनि डिजिटल हुन थालेको छ । त्यसैले अब दुनियाँ र समयसँगै दौडिन सक्नुपर्ने भएको छ । यसको निम्ति सबैले आफ्नो रफ्तार बढाउन जरुरी भएको बताइन्छ ।

टिप्पणीहरू