डलर अर्बपति विनोद चौधरीका ती ४० वटा विदेशयात्रा, हरियो पासपोर्ट बोक्ने, भिआइपीमा कसले रोक्ने ?

डलर अर्बपति विनोद चौधरीका ती ४० वटा विदेशयात्रा, हरियो पासपोर्ट बोक्ने, भिआइपीमा कसले रोक्ने ?

डलर अर्बपति विनोद चौधरीका हरेक व्यावसायिक गतिविधि झैं उनका निजी जिन्दगी र देश विदेश यात्रा पनि अपारदर्शी पाइएको छ । जसरी पनि मुलुकबाट विदेशी मुद्रा बाहिर लैजान उद्यत रहेको आरोप खेप्दै आएका उनका कतिपय गतिविधिले समेत ती आरोपलाई पुष्टि गर्न थालेको छ । नेपाली नागरिकले अन्य मुलुकमा लगानी गर्न नसक्ने विद्यमान कानुनी अवस्थामा पनि आधा दर्जन मुलुकमा खुलेका उनका होटल, रिसोर्ट, रियलइस्टेट, अफसोर कम्पनीमा थुप्रिएका विदेशी मुद्राको स्रोतबारे बारम्बार प्रश्न उठ्दै आएको छ ।

तर, ती व्यवसाय भएका मुलुक र क्षेत्रमा कोरोना महामारीताका भएको चौधरीको नियमित आउजाउले अधिकांशलाई आश्चर्यचकित तुल्याइदिएको छ । २०७६ चैत ११ गतेदेखि नेपाललगायत भारत तथा विश्वका अधिकांश मुुलुकमा कोरोना संक्रमणका कारण सतप्रतिशत लकडाउन गरिएको थियो । महिनौँसम्म साराका सारा कारोबार ठप्प हुँदा सर्वसाधारण घरैमा थन्किए । हवाई उडान ठप्प थियो तैपनि त्यहीबेला चौधरीको विदेश भ्रमण बेरोकतोक भएको देखिन्छ । तीमध्ये अधिकांश भ्रमणचाहिँ भारत, बंगलादेश, श्रीलंका, युनाइटेड अरब इमिरेट्समा भएको हो । जहाँ अधिकांश उनी र उनको ग्रुपको लगानीका व्यवसाय छन् ।अर्कोतर्फ नेपाली कांग्रेसको सांसदसमेत रहेका उनी सिद्धान्ततः रातो राहदानीका स्वतः हकदार हुन् । तर, प्राप्त कूटनीतिक राहदानी बिरलै प्रयोग हुनु र सर्वसाधारणले प्रयोग गर्ने पहिलेकै हरियो पासपोर्टमा सबैतिर पुग्नुले पनि यसखाले यात्राको उद्देश्य र विषयलाई जटिल बनाइदिएको स्रोतको दाबी छ । सबैभन्दा रोचक पक्ष त उनले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाँदा र आउँदा साधारण राहदानी प्रयोग गरे पनि विशिष्ट कक्ष र अध्यागमनको कूटनीतिक च्यानल भने निर्वाध उपभोग गर्ने गरेको पाइन्छ ।

यसो गर्नुको मुख्य कारण विदेश आउजाउको गोपनीयता कायम राख्नु हो भन्ने सुरक्षा निकायका अधिकारीहरुको बुझाइ छ । साधारण राहदानी वाहकलाई विश्वभर इन्टरपोल वा अन्य सरकारी निकायको अनुरोधमा विशेष निगरानी गर्ने व्यवस्था छ । तर, कूटनीतिक राहदानी वाहकको हरेक गतिविधि सरकारी र सुरक्षा संयन्त्रले टिपोट गर्ने भएकाले उनले चलाखी गरेको सजिलै अनुमान लगाउन सकिन्छ । कतिपयले नयाँ दिल्लीबाट अन्य मुलुकमा जाँदा भने उनले कूटनीतिक राहदानी प्रयोग गरेको हुनसक्ने आशंका पनि गरेका छन् ।

कोभिडको महामारी शुरु हुनै लाग्दा सन् २०१९ को नोभेम्बर ६ का दिन उनी साधारण राहदानी नम्बर ०६८८३६३५ बाट विदेश गएदेखि गत जुन १ तारिखसम्म ४० पटक विदेश आउजाउ गरेको देखिन्छ । यसबीच एक पटक सन् २०२० को मार्च १० तारिख दिउँसो १ बजेर २५ मीनेट जाँदा नेपाल टेक्न कूटनीतिक राहदानी नम्बर ००२८८५० प्रयोग गरेको पाइन्छ । उक्त राहदानी सन् २०१८ अप्रिल ५ का दिन पाँच वर्ष चार महिनाको निम्ति जारी भएको हो । केही समयअघि ११ मार्चको दिन उनी फिलिपिन्सका राष्ट्रपतिको शपथ ग्रहण समारोहमा श्रीमतीसहित मनिला पुगेका थिए । सोबाहेक अरु सबै यात्रा आफ्ना कम्पनी तथा व्यवसाय भएका मुलुकलक्ष्यित देखिन्छन् । कोरोना महामारीमा लगातार विदेश उड्नुलाई अर्को पक्षबाट समेत विश्लेषण गरिएको छ ।उनलाई त्यतिबेला विदेश भ्रमणको निम्ति नेपाल सरकार, संसद् वा उनकै पार्टी नेपाली काँग्रेसले समेत कुनै निश्चित जिम्मेवारी दिएर खटाएको थिएन । तर, सर्वत्र हवाई उडान ठप्प हुँदाको अवस्थामा पनि विदेश उडेको उड्यै गर्नुलाई सरकारी अधिकारीहरुले ‘खै’ भनेर टारेका छन् । कोरोनाको बेला साधारण राहदानीको पृष्ठ सकिएपछि उनले सन् २०२० अक्टोबरमा नयाँ राहदानी प्रयोग गरेका थिए । जसको नम्बर ११८१६९६९ हो ।

उनको अधिकांश विदेश यात्रा (६ चोटि युएई, २ चोटि बंगलादेश, २ चोटि श्रीलंका, ५ चोटि भारतसहित) यही नम्बरको साधारण राहदानीबाट हुँदै आएको पाइएको छ । तर डलर अर्बपतिले गत मे ३० तारिखका दिनदेखि भने बीए ०००६२९८ नम्बरको इ–पासपोर्ट बोक्न थालेका छन् । यो पनि साधारण नै हो । नयाँ राहदानी बनाएको झण्डै साढे दुई महिनापछि उनी साउन २७ गते नेपाल वायुसेवा निगम आरए २०६ को उडानमा नयाँ दिल्लीबाट दिउँसो ४ बजे काठमाडौं उत्रिएका थिए ।

उनको नाममा अलग अलग किसिमका पासपोर्ट जारी भएको राहदानी विभागको अभिलेखबाट पुष्टि हुन्छ । कुनै राहदानीमा नेपालबाट बाहिर गएको देखिए पनि लगत्तै मुलुक भित्रिएको पाइन्न । सम्भवतः उनले भारत जाँदा हवाई मार्ग र आउँदा स्थलमार्ग प्रयोग गरेको कारण त्यसो हुनसक्ने विमानस्थल स्रोतको भनाइ छ । चौधरीले कोरोनाको अघिल्लो साढे दुई वर्षे अवधिमा अधिकांश समय मुलुकबाहिर आउजाउमै बिताएका थिए ।

यसबारे जनआस्थाले चौधरी ग्रुपको प्रतिक्रिया लिन खोजेको थियो । तर उनका मिडिया फोकल पर्सन मधुसूदन पौडेलले आफू ग्रुपको सिनियर म्यानेजर भइसकेको हुँदा सम्बन्धित व्यक्तिहरूसँगै बुझ्न सल्लाह दिएका छन् ।

टिप्पणीहरू