राप्रपामा नयाँ लफडा : कपाली तमसुक गर्दै, कुरो फेर्दै
राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा नयाँ विवाद टुसाउन थालेको छ । झण्डै १० महिनाअघि रोपिएको विवाद अहिले पुनः उत्पन्न भएको बताइन्छ । गत अधिवेशनताका हुनेवाला अध्यक्ष लिङ्देनले डा. प्रकाशचन्द्र लोहनीसँग गरेको लिखित सम्झौता अहिले पार्टीभित्र ऐंजेरुको रुपमा पलाएको उनीहरुको भनाइ छ ।
‘त्यसबेला गरिएको भनिएको सम्झौता अहिले बाहिर आएपछि लफडा भएको हो,’ राप्रपा उच्च स्रोतले बतायो । चार दिनअघि कार्य सम्पादन समितिको बैठकमा समानुपातिक सांसदको सूचीबारे छलफल हुँदा उक्त सम्झौताको रहस्य बाहिरिएको बताइन्छ । बैठकमा डा. लोहनीले आफ्नो नाम सूचीको पहिलो नम्बरमा हुनुपर्ने भनाइ दोहोर्याएपछि पूर्व अध्यक्ष पशुपति समशेर राणाले पनि आफ्नो नाम पहिलो नम्बरमै हुनुपर्ने दावी गरेका थिए ।
बैठकमा नेताहरुबीच समानुपातिक सांसदको सूचीमा को अगाडि भन्ने विषयमा विवाद बढ्दै गएपछि लोहनीले गत मंसिरमा गरिएको सम्झौता खल्तीबाट फुत्त झिकेर पढेको उनका विरोधीहरुको भनाइ छ । डा. ले वाचन गरेको सम्झौतामा लोहनीलाई एक नम्बरमा निर्देशक समितिको अध्यक्ष बनाइने, उनैलाई त्यसपछि समानुपातिक सांसदको पहिलो नम्बरमा राखिने,तेस्रो नम्बरमा संसदीय दलको नेता पनि बनाइने र चार नम्बरमा पार्टीमा हुने महत्वपूर्ण पदको नियुक्ती उनको सल्लाह र सहमतिमा मात्रै हुने भनिएको छ ।
चार बुँदे उक्त सम्झौतामा अध्यक्ष भइनसकेका लिंगदेन र लोहनीले हस्ताक्षर गरेका छन् । डा.लोहनीले सम्झौता वाचन गरेपछि नेता ठाकुर शर्मा चुप बसेका थिए । अर्का नेता दीपक बोहोराले अधिवेशनअघि र अध्यक्ष हुनुभन्दा पहिले गरिएको कागजातलाई कसैले पनि मान्न नपर्ने अड्डी कस्दै ‘यस्तो कागजातलाई हामीले किन मान्ने ?’ भनेर चर्को विरोध गरेका थिए ।
त्यसपछि बैठकमा अहिलेलाई जे जस्तो बनाइएको सूचीलाई जस्ताको तस्तै निर्वाचन आयोगमा पठाउने सहमति गरिएको थियो । तर दुई दिनभित्र अर्को बैठक राखेर लोहनी र राणामध्ये कसलाई समानुपतिकको एक नम्बरमा राख्ने भन्ने विवाद निर्क्यौल गर्ने मौखिक सहमति भएको छ ।
हिजो बसेको बैठकमा त्यसबारे कुनै निश्कर्ष निकालिएन । यता समानुपातिक सूचीको एक नम्बरमा नपरे लोहनीले पार्टी छाड्नसक्ने बोहोरा पक्षको आरोप छ । उनीहरु एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर सूर्य चिन्ह लिए पनि विगतमा पद्य्मरत्न तुलाधर,गत निर्वाचनमा हृदयेश त्रिपाठी र बृजेशकुमार गुप्ता झैं स्वतन्त्र उम्मेदवार भएर चुनाव लड्ने मनस्थितिमा पुगेको उनीहरुको भनाइ छ ।
‘एमालेसँगको वार्ता काँचो धागो जस्तै छ, अहिलेसम्म केही भएको छैन । जुनसुकै बेला चुँडिन सक्छ ।’
उता राणाले पनि एक नम्बरमा समानुपातिकको उम्मेदवार नपाए त्यसै गर्नसक्ने धम्की दिएको बताइएको छ । त्यसरी अध्यक्ष लिंगदेनसँग डा. लोहनीले सम्झौता गर्दा धवलसमशेर राणा,श्याम गिरी,श्याम तिमिल्सिना, हेमजंग गुरुङलगायत साक्षी बसेका रहेछन् । यता राप्रपा कार्य सम्पादन समितिले नवराज सुवेदीको नाम पनि सिफारिस गरेको छैन ।
आयोगमा बुझाइएको सूचीमा हरिबहादुर बस्नेतको नाम एक नम्बरमा राखिएको छ । तर,सूची बुझाइ सकिएकाले आगामी दिनमा नाम सच्याउन निकै मुश्किल पर्ने विज्ञहरुको भनाइ छ । हालको आयोगको सफ्टवेयरबमोजिम क्रम संख्या चलाउनेबित्तिक्कै स्वतः पछाडिसम्म असर पर्ने बनाइएको दाबी छ । पहिलेको सफ्टवेयरमा जसको नाम जहाँबाट झिक्यो,त्यहाँ अर्को नाम थपक्क राख्न मिल्ने थियो । तर अहिले त्यस्तो नभएको प्राविधिकलाई उद्धृत गर्दै स्रोतले बतायो ।
सूचीबमोजिम एक नम्बरमा बस्नेत,दुई नम्बरमा उद्धव पौडेल, चार नम्बरमा दीपक खनाल,पाँच नम्बरमा डा. लोहनी र छ नम्बरमा पशुपतिको नाम राखिएको छ । अब नेताहरको मागबमोजिम राणालाई अघि ल्याउन परे उनीभन्दा अगाडिका सबैको नाम हटाउनैपर्ने सिस्टम रहेको स्रोतको भनाइ छ । ‘त्यसपछि मात्र राणाको नाम १ नम्बरमा आउनसक्छ,’ उनले भने ।
यस्तो अवस्थामा लोहनीले पार्टी छाडेमा राप्रपा नयाँ विवादमा फस्ने बताउन थालिएको छ । उता रविन्द्र मिश्रलाई यसअघि सहअध्यक्ष दिने सहमति गरिएको विषय पनि यतिखेर पेचिलो बनेको छ । उनलाई वरिष्ठ उपाध्यक्ष दिने भनिएको छ तर त्यो पनि निर्वाचितपछि राख्ने गरी छलफल भएको छ । छलफलमा हेमजंग गुरुङले ‘पछि आउने, अगाडि घुस्रने हुन्छ ?’ भनेर विरोध गरेका थिए ।
हालै अध्यक्ष राजेन्द्रले ओलीसँगको कुरो पनि नमिलिसकेको नेताहरुलाई रिपोर्टिङ गरेको बताइन्छ । उनको भनाइ उद्धृत गर्दै एक जना नेताले भने, ‘एमालेसँगको वार्ता काँचो धागो जस्तै छ, अहिलेसम्म केही भएको छैन । जुनसुकै बेला चुँडिन सक्छ ।’ सोही क्रममा अध्यक्षले चुनावमा मिलेर जान आफूलाई नेपाली काँग्रेसको तर्फबाट पनि प्रस्ताव प्राप्त भएको जानकारी गराएका छन् ।
टिप्पणीहरू