देशसँग किन होला यस्तो दुश्मनी

देशसँग किन होला यस्तो दुश्मनी

‘माछा देखे दुलोभित्र हात, सर्प देखे दुलो बाहिर हात’ गर्ने केही कर्मचारीको बानी । मिल्दाखेरी अस्पतालका बिरामी वा आर्यघाटका दाउरामा पनि मिलाएर खान पछि नपर्ने गरेको आरोप यिनैमाथि ! राष्ट्रसेवक भनिएका कर्मचारीले नै कतिसम्म राष्ट्रघात गर्छन् भन्ने बुझ्नलाई एउटै तथ्य काफी हुन्छ, छात्रवृत्तिमा वैदेशिक अध्ययन । अमेरिका, युरोप, कोरिया, जापान र अष्ट्रेलिया पुगेका अधिकांश उतै हराउने रोगले अहिले निजामती र स्वास्थ्य सेवालाई सताउन थालेको छ । तर, यसरी हिँडेका कर्मचारीलाई समाउने र कारबाही गर्ने ऐन छैन । एउटा कर्मचारी सक्षम, सबल भएर फर्किएला भनी राज्यले लाखौं लगानीसहित विदेश पढ्न पठाउँछ तर विशेष गरी प्राविधिक फाँटका कर्मचारी बढी छन् ।

कृषिका सहसचिव राजेन्द्र अधिकारी अष्ट्रेलिया गए ०७२ मंसिर ९ गते । उनको पढाइदेखि तलव भत्तामै राज्यको २० औं लाख खर्च भयो । सम्झौताअनुसार २ वर्षपछि अर्थात् ०७४ मंसिरमा फर्किनुपथ्र्याे तर उतै रमाए । उनीझैँ पशु सेवा विभागका चिकित्सक सञ्जय मिजार भेटेरिनरी पब्लिक हेल्थ विषयमा स्नातकोत्तरका लागि अमेरिकातिर लागे । ०७४ साउन ३० गतेदेखि २०७६ साउन १८ गतेसम्म २ वर्षका लागि बेतलवी अध्ययन बिदा स्वीकृत गराएर गएका उनी फर्किएनन् । कृषिकै उपसचिव जयन्तीकुमारी भुसाल, बाली संरक्षण अधिकृत भीम चौलागाईं र रामकृष्ण कहारलगायत दर्जन कर्मचारी यसरी छात्रवृत्तिमा अध्ययनका लागि युरोपियन मुलुक पुगेर बेपत्ता भएका छन् । शहरी विकास तथा भवन निर्माण विभागकी इञ्जिनियर सुवर्णशोभा शाक्य सरकारी छात्रवृत्तिमा नेदरल्यान्ड्स पुगिन् । ०६९ भदौ १५ गतेदेखि स्वदेश फर्किएर सेवा प्रारम्भ गर्नुपर्ने थियो तर दश वर्षदेखि राज्यसँग सम्पर्कविहीन भइदिइन् । उनको अध्ययनकै नाममा राज्यले ७ लाख खर्चिएको छ । त्यसलाई बेरुजु शीर्षकमा राखिएको छ ।

उद्योग मन्त्रालयको कथा पनि उस्तै छ । खानी तथा भू–गर्भ विभागका जियोलोजिस्ट रोशन कोइराला पिएचडीका लागि भन्दै ०७४ साउन १७ गते अमेरिका गए, फर्किएनन् । त्यहीँका मेट्रोलोजिष्ट धर्मेन्द्र ठाकुर, जियोलोजिस्टद्वय रमेश पण्डित र शैलिना मानन्धरले पनि रोशन कोइरालाकै बाटो रोजे । अध्ययनका नाममा अमेरिका उडे, उतै हराए । क्यानाडा उडेका भूगर्भविद् सुदीप श्रेष्ठ हुन् वा जापान गएकी सम्झना बुढाथोकी सबै उस्तै । यस्तै अर्थ मन्त्रालयकी शाखा अधिकृत विजया आचार्य, शिक्षाका तुलसी भट्टराईले पनि मातृभूमिमाथि उस्तै घात गरेको पाइयो ।

विजया ०६३ सालमै अमेरिका उडेकी, ६५ मा फर्किनुपर्ने । १४ वर्षदेखि भगौडा कर्मचारीको रूपमा दर्ज भएकी छन् । यता शिक्षा मन्त्रालयका तुलसी भट्टराई कोरिया उडे शहरी प्रशासन र योजनामा स्नातकोत्तर गर्न तर योजना रहेछ उतै बस्ने । ०७४ साउन २४ मा उडेकी उनी तीन वर्षदेखि लापत्ता छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका इञ्जिनियर दृष्टि काफ्ले २०७४ पुस २२ देखि, इञ्जिनियर अनिल प्रजापति पनि २०७१ भदौ ९ बाट, मेकानिकल इञ्जिनियर प्रकाश तिमिल्सिना २०६९ फागुन १ गतेदेखि बेपत्ता छन् । यी सबै अध्ययनकै लागि युरोपियन मुलुकतिर उडेका हुन्। अझै डरलाग्दो चित्र देखिन्छ स्वास्थ्य सेवातिर । नेपालमा लाइसेन्स होल्डर झण्डै ३० हजार डाक्टरमध्ये १३ हजार हाराहारीमा विदेश पलायन भएका छन् ।

लाजमर्दाे कुराचाहिँ कुनै पनि सरकारी निकायसँग अध्ययनका लागि कति कर्मचारी विदेश पुगे भन्ने एकीकृत तथ्यांकसमेत छैन । सामान्य र अर्थका अधिकारीहरू पाँच सयभन्दा बढी कर्मचारी अहिले पनि वैदेशिक अध्ययनका नाममा विदेशतिरै रहेको बताउँछन् । त्यसमध्ये अधिकांश उतै लापत्ता हुने गरेको भेटिएपछि रेखा शर्मा संघीय मामिला तथा स्थानीय विकासमन्त्री हुँदा कारवाही प्रक्रिया अघि बढ्यो । तत्काल २५ जना कर्मचारीबाट असुलउपर गर्ने प्रक्रिया अघि बढाइएको थियो तर उनी मन्त्रीबाट हटेपछि प्रक्रिया त्यसै सेलायो । उनीपछिका मन्त्रीहरूले त्यसमा खासै चासो देखाएनन् ।

टिप्पणीहरू