युवती बलात्कारमा अनौठो सफाइ

युवती बलात्कारमा अनौठो सफाइ

घरमा श्रीमती र बच्चासमेत भइसकेको पुरुषले बलात्कार गरेको भनी १८ वर्षीया किशोरीले दिएको उजुरीमा अभियुक्तलाई न्यायाधीशले सफाइ दिएका छन् ।

गत साउन १८ गते भक्तपुर जिल्ला अदालतका गोपालप्रसाद बास्तोलाबाट भएको फैसलाकी वादी युवतीले प्रहरी कार्यालय र अदालतमा समेत दिएको बयानमा प्रतिवादी खोकनाथ नेपालले आफूमाथि बलात्कार गरेको बताएकी थिइन् । प्रहरीमा उजुर हाली अदालतमा समेत बकपत्र गरेकी युवतीलाई ठाडो निवेदन लेख्न लगाएर हामीले मिलेरै यौनसम्पर्क कायम गरेका हौं भन्ने व्यहोरामा सहीछाप गराइएको छ ।

अदालतमा मुद्दा चलिरहेकै बेला बच्चासमेत जन्मिएपछि अहिले ती युवती कलिलो उमेरमै श्रीमानबिनाको छोरा हुर्काइरहेकी छन् । जिल्ला अदालतले अभियुक्तलाई सफाई दिँदा १८ वर्षे आमा र सन्तानको हेरचाह, पालनपोषण र सुरक्षित भविष्यबारे केही पनि बोलेको छैन ।

ती युवती र खोकनाथबीच ग्वार्कोमा सँगसँगै रहेको पसलका कारण चिनजान भएको हो । भक्तपुर बस्ने उनी घर जान लाग्दा कोटेश्वरसम्म पु¥याइदिने भनी खोकनाथले मोटरसाइकलमा राखी भक्तपुर, चारदोबाटोस्थित गेष्टहाउसमा चिया खान जाने भन्दै लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

खोकनाथलाई सफाइ दिनका लागि मुख्य आधार बनाइएको पीडित युवतीको ठाडो निवेदनमा उनको हस्ताक्षर नभएको र फेरिएको बयान भनिएको कागजमा न्यायाधीशको रोहवरमा औंठाछाप नरहेको समेत अदालत श्रोतले उल्लेख गरेको छ । प्रमाणित पनि नगरिएको ठाडो निवेदनलाई अदालतले प्रमाण मानेर फैसला गर्न मिल्छ कि मिल्दैन ? प्रायः फैसलामा उसउपर चित्त नबुझे माथिल्लो अदालतमा कानूनबमोजिम जानु भनी लेखिएको हुन्छ । यस फैसलामा यस्तो वाक्यांश नलेखिएकाले सरकारवादी यो मुद्दामा सरकारी वकिल पुनरावेदन गर्न नजाने मानसिकतामा रहेको पनि बताइएको छ ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/09/bhapu-ji-adalat.pdf” title=”bhapu ji adalat”]

टिप्पणीहरू