सम्धिनीका लागि राष्ट्रपति संवेदनशील

सम्धिनीका लागि राष्ट्रपति संवेदनशील

कतिपय पद पदमात्रै हुँदैनन्, तिनका अलग गरिमा, नैतिकता र भूमिका हुन्छन् । अहिले सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच चलिरहेको चर्चा त्यस्तै कुरासँग सम्बन्धित छ ।

चर्चा हो, सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी सम्धिनी किरण यादवलाई महोत्तरीको क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिलाउने सिफारिसका निम्ति फोन गर्नुभएको । किरण त्यही निर्वाचन क्षेत्रबाट ०७४ मा पनि उठेकी थिइन् । त्यसबेला राजपाबाट उठेका शरदसिंह भण्डारीले ३० हजार ७ सय २२ मत ल्याएर जित्दा किरणले १३ हजार ९ सय ७४ मत पाएकी थिइन् । यसरी उनी १६ हजार ७ सय ४८ मतले पराजित भइन् ।

अहिले उनलाई त्यहीँबाट टिकट दिनुप¥यो र त्यसका लागि शरदसिंह भण्डारीलाई क्षेत्र नं. ४ मा जान भनिदिनुप¥यो भनी सम्माननीय राष्ट्रपतिले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवादेखि शरदसिंह निकट केही नेतालाई फोन गर्नुभएको प्रसंग पाँचदलीय गठबन्धनका शीर्ष नेताको बैठकमा उठेको छ । अहिले महन्थ ठाकुर नेतृत्वको लोसपामा रहेका पूर्व काँग्रेसी शरदसिंह सत्तारुढ गठबन्धनअन्तर्गतका नेता हैनन् । लोसपाले तराईमा एमालेसँग गठबन्धन गर्ने चर्चा छ । तर, किरणलाई टिकट दिनुपर्ने कांग्रेसले र क्षेत्र छोडिदिनुपर्ने शरद्सिंहले भन्ने अवस्था छ ! यो दुःख सुल्झाउन राष्ट्रपतिले सीधै शरदसिंहलाई त भन्न सक्नुभएको छैन । अरुमार्फत् सन्देश पुगेको स्वयं शरदले जनआस्थाको कुराकानीमा स्वीकार्नुभएको छ । किरणले प्रत्यक्षमा दावी गर्दा समानुपातिक सूचीमा सुनिश्चित होइन्थ्यो भन्ने इच्छा पालेको बुझ्न सकिन्छ ।

अहिले नेपाली कांग्रेसको सिफारिस सूचीमा किरण यादवको नाम क्षेत्र नं. २ बाट एकल सिफारिसमा परेको छ । तर, शरद्सिंह उठ्दा फेरि पनि हार्छु भन्ने त्रास छ । त्यहीँबाट समानुपातिकतर्फ सरोजकुमार यादव, ओमशंकर यादव, लक्ष्मीनारायण सिंह, महेन्द्रकुमार झा, सिकली यादवसहित सात जनाको नाम सिफारिस भएको छ । किरणकी बहिनी रेखा क्षेत्र नं. १ को प्रदेशसभा ‘ख’ बाट सिफारिसमा परेकी छन् । उनीसँगै ओमनारायण महासेठ, महेश सिंह र गोरकुल सिंहको पनि नाम छ ।राष्ट्रपतिकी कान्छी छोरी निशाकुसुमको विवाह किरणका छोरा अभिषेक यादवसँग भएको हो । किरण प्रथम राष्ट्रपति डा.रामवरण यादवकी भतिजी हुन् । किरणका बुबा रामलगनको खैनी, सिगरेट र पानपराग सेवनका कारण २०५६ सालमा क्यान्सर रोग लागेर निधन भएको थियो । त्यसपछि उनीहरुको रेखदेख डा.रामवरणले नै गर्दै आउनुभयो । घरमा ‘बिट्टु’ भनी बोलाइने किरणका छोरा अमेरिकाबाट इञ्जिनियरिङ अध्ययन गरेर फर्किएका हुन् भने राष्ट्रपतिपुत्री निशाकुसुम जनस्वास्थ्यमा स्नातकोत्तर (एमपिए) गरेर जनसेवा गरिरहेकी छन् ।

अहिले प्रथम राष्ट्रपति डा.यादव कांग्रेसभित्र त्यति कुरा नसुनिनेमा पर्नुहुन्छ । वीपी जीवित हुँदासम्म उहाँकै र त्यसपछि पनि गिरिजाप्रसाद कोइरालासँगको निकटताका कारण शेरबहादुर देउवासँग उहाँको पहिल्यैदेखि कुरा मिल्न छाडेको हो । अहिले पनि भतिजीहरुले टिकटबारे सोधखोज गर्दा उहाँले रामचन्द्र पौडेल, शेखर कोइरालाहरुसँग भन्न त सक्नुहुन्छ । तर, त्यो पक्ष कमजोर भएका कारण उनीहरुले पार्टी फरक भए पनि राष्ट्रपतिलाई अगाडि सारेका छन् ।

जबकि किरण आफैँ नेपाली कांग्रेसकी मनोनित केन्द्रीय सदस्य हुन् भने रामवरणका छोरा डा.चन्द्रमोहन यादव निर्वाचित केन्द्रीय सदस्य हुन् । डा.रामवरणले किरणलाई ०६४ को संविधानसभामा समानुपातिक सांसद बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँ राष्ट्रपति भएपछि रिक्त धनुषाको संविधानसभा सदस्य उपनिर्वाचनमा छोरा डा. चन्द्रमोहन प्रतिस्पर्धी थिए । तर, एमालेका रघुवीर महासेठसँग हारे ।

०७४ मा पनि उनी प्रदेशसभातर्फ क्षेत्र नं. ४ को ‘क’ बाट उम्मेदवार बन्दा जसपाका ज्ञानेन्द्रकुमार यादवसँग ६ हजार ७ सय ३३ मतले पराजित भए ।

टिप्पणीहरू