नक्कली प्रमाणपत्र बनाउने र बोक्ने ९ जना समातिए

नक्कली प्रमाणपत्र बनाउने र बोक्ने ९ जना समातिए

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र बोक्ने सबैलाई नियन्त्रणमा लिएको छ । सन् २०२१ मा ईडिभीको नतिजामा नाम निस्किएको तर भीसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नभएपछि नक्कली प्रमाणपत्र बनाउनेलाई कार्यालयले हिजो पक्राउ गरेको हो ।

कक्षा १२ को नक्कली प्रमाणपत्र बनाएर पेश गरेको गोप्य सूचनाका आधारमा नेपालस्थित अमेरिकी दूतावाससँग समन्वय गरी प्रहरीले अनुसन्धान अघि बढाएको थियो । कार्यालयबाट खटिएको विशेष टोलीले महाराजगञ्जस्थित अमेरिकी दूतावास र काठमाडौंको विभिन्न ठाउँबाट सात जनालाई पक्राउ गरेको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न दुई जनालाई झापा प्रहरीसँग समन्वय गरेर नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा समिर राई, अरुण कार्की, राधिका तामाङ, सबिता श्रेष्ठ, विदुर प्याकुरेल, सुरज राय खत्री र वीरेन्द्रबहादुर रावल हुन् ।

त्यस्तै, दिनेश प्रसाई र सूर्यबहादुर श्रेष्ठ नक्कली प्रमाणपत्र बनाएको अभियोगमा समातिएका छन् । उनीहरुको साथबाट विभिन्न तहको फर्जी शैक्षिक प्रमाणपत्र र राहदानी बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २५ को लिखित सम्बन्धी कसूरमा आवश्यक कारबाहीको निम्ति जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ ।

टिप्पणीहरू