भूपू गृहसचिव भैसकेपछि प्रधानमन्त्री र गृहमन्त्रीलाई विदेशबाटै धन्यवाद

भूपू गृहसचिव भैसकेपछि प्रधानमन्त्री र गृहमन्त्रीलाई विदेशबाटै धन्यवाद

हालै गृह मन्त्रालयबाट हटाइएका सचिव टेकनारायण पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणप्रति विशेष आभार व्यक्त गरेका छन् । अघिल्लो वर्ष साउन २७ गतेदेखि गत असोज १ गतेसम्म गृह सचिवको जिम्मेवारीमा रहेका पाण्डेले आफूमाथि भरोशा गरेकोमा नेपाल सरकार,प्रधानमन्त्री र गृहमन्त्रीलाई लिखित धन्यवादसहित आभार व्यक्त गरेका हुन् ।

उनले महत्वपूर्ण सेवा अवधिमा कार्यसम्पादनमा सहयोग पुर्याएको भन्दै नेपाल प्रहरी,सशस्त्र प्रहरी बलका तत्कालीन र वर्तमान प्रमुख, महाशाखा प्रमुख,विभागीय प्रमुख, कार्यालय तथा इकाई प्रमुखहरुप्रति पनि हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् । गृह मन्त्रालय आफ्ना लागि नयाँ सिकाइको क्षेत्र भएको उल्लेख गर्दै उनले नयाँ परिवेशमा प्रणाली सुधारको निम्ति आफ्नो क्षमताले भ्याएसम्म योगदान पुर्याएको दाबी गरेका छन् ।

कामप्रति सँधै निष्ठावान र समयको ख्याल गर्ने सिध्दान्तमा चलेको उनले आफैँलाई बताएका छन् । पाण्डे गृह सचिवको रुपमा अष्ट्रेलियामा रहँदा यता सरकारले असोज १ गतेदेखि जिम्मेवारीबाट हटाएको हो ।उनी ‘एसिया प्यासिफिक मिनिस्टेरियल कन्फरेन्स अन डिज्यास्टर रिस्क रिडक्सन–२०२२’ मा सहभागी हुन त्यहाँ गएका थिए । गृह मन्त्रालयबाट झिकिएका पाण्डेलाई अहिले उपराष्ट्रपतिको कार्यालय पुर्याइएको छ । उनको ठाउँमा विनोदप्रकाश सिंहलाई ल्याइएको छ ।

मिति,चलानी नम्बर केही नखुलाइएको तर मन्त्रालयको लेटर प्याडमा लेखिएको पाण्डेको आभार तथा धन्यवाद पत्रमा सत्तारुढ दलहरुको महाधिवेशन, स्थानीय निर्वाचन र आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका कारण प्रणाली सुधारका लागि सामान्य समयजस्तै मापदण्ड विकास र अवलम्बन गर्न कहिँकतै चुकेको उनले स्वीकारेका छन् । ‘प्रणाली सुधारका लागि अन्य सामान्य समयमा जस्तो मापदण्ड विकास र अवलम्बन गर्न नसकिएको अनुभूति भएको छ,’ उनले लेखेका छन् ।

उनले सुरक्षा व्यवस्थाको महत्वपूर्ण र लामो इतिहास बोकेको मन्त्रालय भए पनि संघीयताको अभ्याससँगै गृहको भूमिका अझै विस्तारित, समन्वयकारी र प्रणालीगत बनाउनुपर्ने सुझाव दिएका छन् । नागरिकताको प्रमाणपत्र वितरणका निम्ति स्थानीय तहलाई वितरण केन्द्रको रुपमा स्थापित गर्ने कार्य नमूनाको रुपमा परीक्षण सके पनि अभ्यासमा ल्याउन नसकिएको उनको भनाइ छ ।

टिप्पणीहरू