वालेट आइएमई पेले बढायो ब्याजदर

वालेट आइएमई पेले बढायो ब्याजदर

जम्मा भएको रकममा ब्याज दिने एक मात्र वालेट आइएमई पेले हाल प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ । कम्पनीले साविकको ६ दशमलब ३ प्रतिशतको ब्याजदर बढाएर ७ दशमलब १३ प्रतिशत कायम गरेको हो ।

वालेट प्रयोगकर्ताहरुले अब बैंकमा पाउने सेवा आफ्नो मोबाइल वालेटमा आइएमई पेमार्फत सजिलै पाउन सक्ने भएका छन् । प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा एक हजार रुपैयाँ कायम राखी सुपरवालेटमा रूपान्तरण भएपछि यो सुविधा प्राप्त गर्न सक्छन् ।

आर्थिक समावेशीकरण एवम् वित्तीय पहुँचको अभिवृद्धिमा यो महत्वपूर्ण कदम हुने विश्वास कम्पनीले लिएको छ । यसका अतिरिक्त अन्य उपभोक्तालाई पनि डिजिटल भुक्तानीमा आकर्षित गर्न नयाँ आयाम हुन सक्ने विश्वास कम्पनीको छ ।

यसका साथै ग्राहकले नेपालीहरुको महान चाड दशैँ, तिहार र छठको अवसरमा आइएमई पे डिजिटल दशैँ तिहार २०७९ अभियानअन्तर्गत आइएमई पेमार्फत कुनै पनि कारोबार गरेर बम्परमा राफ्ट वारिअरको ई–स्कुटी, दैनिक दराजको डिस्काउण्ट भौचरका साथै अन्य धेरै उपहार जित्ने मौका पाउने बताइन्छ ।

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैंले अथवा एजेन्टहरु मार्फत् विभिन्न किसिमका भुक्तानी गर्न सक्छन् । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधा, विभिन्न अनलाइन तथा स्थलगत स्टोरमा क्यूआर स्कान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तानी गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । उक्त मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकको पनि सुविधा रहेको विज्ञप्तिमा जनाइएको छ ।

टिप्पणीहरू