गर्भवती महिलामाथि सामूहिक बलात्कार, तीन महिने भ्रुणको मृत्यु

गर्भवती महिलामाथि सामूहिक बलात्कार, तीन महिने भ्रुणको मृत्यु

भारतमा एक गर्भवती महिलामाथि सामूहिक बलात्कार भएको छ । उत्तर प्रदेशको बरेलीमा खेतमा काम गरिरहेकी तीन महिनाकी गर्भवतीलाई तीन जनाको सूमहले जबरजस्ती करणी गरेको हो ।

उनीहरुले गत भदौ १३ गते ती महिलालाई करणी गरेको बताइन्छ । जी न्युजले भारतीय प्रहरीलाई उद्धृत गर्दै सामूहिक करणीपछि पीडित महिलाको गर्भमा रहेको तीन महिने शिशुको समेत मृत्यु भएको बताएको छ ।

गाउँकै गुण्डाले ती महिलालाई खेतमा काम गर्न गएको मौका छोपेर सामूहिक बलात्कार गरेको प्रहरीले पुष्टि गरेको छ । त्यसलगत्तै आरोपी तीनै जना पीडित महिलालाई त्यहीँ छाडेर भागेका थिए ।

प्राप्त समाचारअनुसार पीडित महिला राती अबेरसम्म घर नपुगेपछि उनलाई खोज्दै परिवारका सदस्य खेतमै पुगेका थिए । सोही खेतमा बेहोस अवस्थामा फेला परेकी उनलाई परिवारले निजी अस्पताल लगेर उपचार गरेपछि घटना सार्वजनिक भएको हो ।

बलात्कारका कारण महिलाको गर्भमा रहेको भ्रुणको मृत्यु भएको परिवारलाई चिकित्सकले बताएका थिए । हाल पीडित र उनका परिवारले न्याय माग गर्दै स्थानीय प्रहरी कार्यालयमा घेरा हालेका छन् । पीडित महिलासमेत मृत शिशु बोकेर त्यहीँ पुगेकी छन् ।

घटना लुकाउन गाउँमै सहमति

सोही दिन पीडित र अभियुक्त पक्षबीच खेतमा विवाद भएको घटनाको सम्बन्धमा अनुसन्धान गर्ने प्रहरी अधिकृतले बताएका छन् । तर यस विषयमा गाउँमै बैठक गरेर सहमति समेत भएको जी न्युजले जनाएको छ । यसको लिखित सहमति पनि प्राप्त भएको दाबी गरिएको छ ।

सो सम्बन्धमा स्थानीय प्रहरीले मुद्दा दर्ता गरिएको बताएको छ । प्रहरी अधिकारीहरुले आरोपीमाथि कडा कारबाहीको निम्ति निर्देशन समेत दिएका छन् । घटनापछि अहिले महिलाको पुनः स्वास्थ्य परीक्षण गरिएको छ । छानबिनबाट जे देखिन्छ, सोही आधारमा आरोपीमाथि कारबाही हुने प्रहरीको भनाइ छ ।

टिप्पणीहरू