गजुरीमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, सडक अवरुद्ध, गजुरी तनावग्रस्त

गजुरीमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, सडक अवरुद्ध, गजुरी तनावग्रस्त

धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले बिद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ ।

काठमाडौबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करले स्थानीय ६ वर्षीय विजय परियारको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राकेश सिंहले जानकारी दिए । गजुरीकै आदर्श माविमा अध्ययनरत परियारलाई बिद्यालय जाने क्रममा बसले ठक्कर दिएको हो ।

घटनापछि स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका छन् । सडक अवरुद्ध पारेका छन् । अहिले पृथ्वीराजमार्ग हुँदै गुड्ने सवारी गजुरी आसपासमै रोकिएका छन् । सडक खुलाउन स्थानीय र पीडितका आफन्तहरुसंग छलफल भैरहेको प्रहरीले जनाएको छ ।

गजुरीमा लाग्ने भीड कम गर्न प्रहरीले राजमार्गका ठाउँ ठाउँमा सवारी रोकेका छन् । बसमा लगाएको आगो धुनिबेसीबाट गएको दमकलले नियन्त्रणमा लिएको छ । आक्रोसित भीडले सडकमा नाराबाजी गरिरहेका छन् ।

घटनास्थलमा थप भीड बड्न नदिन प्रहरीले काठमाडौतर्फको गल्छी बजार र मुग्लिनतर्फको बेनिघाट क्षेत्रमा सवारी रोकेको छ । सयौं सवारी जाममा परेका छन् । एम्बुलेन्स लाई भने प्रहरीले स्केटिङ गरेर पास गराइरहेको छ ।

टिप्पणीहरू