राष्ट्रपतिले संविधान मिचेको भन्दै पत्रकारद्वारा पुरस्कार बहिष्कार

राष्ट्रपतिले संविधान मिचेको भन्दै पत्रकारद्वारा पुरस्कार बहिष्कार

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेको भन्दै बिरोध र आलोचना भैरहेका बेला पत्रकार नकुल अर्यालले भोलि उहाँको हातबाट दिइने पुरस्कार नलिने घोषणा गरेका छन् ।

जननिर्वाचित संसदले दुई-दुई पटक पारित गरी पठाएको विधेयक रोकेर राष्ट्रपतिबाट संविधानको गम्भीर उल्लङ्घन भएकाले उहाँको हातबाट पुरस्कार लिन उचित नहुने ठान्दै आफू पुरस्कार वितरण समारोहमा समेत उपस्थित नहुने अर्यालले बताए ।

संस्थाप्रति उच्च सम्मान रहेपनि राष्ट्रपति भण्डारीको पछिल्लो कदमले संविधानकाे गम्भीर उल्लंघन गर्नुका साथै लाेकतान्त्रिक मूल्यमान्यताप्रति घात गरेको आफ्नो निजी धारणा रहेको र संविधान उल्लङ्घनकर्ताको बाहुलीबाट पुरस्कार लिनु उचित नहुने ठानेर यस्तो निर्णय गरेको अर्यालले बताए ।

डेढ दशक लामाे पत्रकारिता यात्रामा आफूले सधैँ संवैधानिक सर्वाेच्चताकाे पक्षमा कलम चलाएको उनको भनाइ छ । अर्याललाई प्रेस काउन्सिल नेपालले यस वर्षको क्रियाशील पत्रकारिता पुरस्कार दिने निर्णय गरेको थियो ।

त्योसहित अन्य विधाका पुरस्कारहरु भोलि दिउँसो २ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहबीच राष्ट्रपति भण्डारीले प्रदान गर्ने तयारी छ ।

टिप्पणीहरू