अवैध सुपारी लुसुक्क छाड्ने तयारी

अवैध सुपारी लुसुक्क छाड्ने तयारी

गत साउन ५ गते प्रहरीले नियन्त्रणमा लिएको आठ ट्रक सुपारी राजस्व अनुसन्धान कार्यालय, इटहरीले खुसुक्क छोड्न लागेको रहस्य बाहिरिएको छ । सुनसरी जिल्ला अदालतको आदेशलाई अवज्ञा गर्दै कार्यालयले अवैध सुपारी लुकाइ छुपाई फुकुवा गर्न लागेको हो ।

पक्राउ परेको सुपारी नेपालमा उत्पादन भएको भन्नेबारे परीक्षणपछि मात्र छाड्ने अडान प्रहरीले लिएपछि अदालतले सोहीअनुसार निर्णय गरिदिएको थियो । तर,कार्यालयले कसैलाई जानकारी नगराई सुटुक्क छोड्ने प्रक्रिया अघि बढाएको स्रोतले बतायो ।

प्रहरीले बल्लतल्ल हात पारेको त्यत्रो सुपारी कार्यालयले त्यत्तिकै छोडिदिने भएपछि वास्तविक किसानहरु फेरि पनि मारमा पर्ने भएका छन् । यता, कार्यालय प्रमुख झलकराम शर्मा अधिकारीले भने यसलाई नकारेका छन् । भारतीय सुपारी भएकाले कार्यालयले हात पनि लगाउन नमिल्ने उनको भनाइ छ ।

उक्त सुपारी सिल गरेर कार्यालयमा राखिएको उनले बताए । साथै, उनले सुपारीको कुनै पनि मुलुकमा परीक्षण सम्भव नभएको दाबी गरे । ‘सुपारीको परीक्षण नेपालमा होस् कि भारतमा या अन्य मुलुकमा कहिँ पनि सम्भव छैन’ उनले भने ।

पछिल्लो समय अवैध रुपमा सुपारी ओसारपसार गर्ने क्रम बढेको छ । गुणस्तरहीन सुपारीमा रोक लगाउन नसक्दा वैध रुपमा खेती गर्दै आएका नेपाली कृषक वर्षौंदेखि मर्कामा पर्दै आएका छन् । सुपारीको खेलोफड्कोबाट अकुत सम्पत्ति कमाउने व्यापारीहरु दुवैतिर रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

झापाको मनोकामना ट्रेडर्सका नामबाट भारत लैजान खोजिएको दुई लाख १९ हजार पाँच सय ९६ किलो सुपारी झापामै उत्पादन भएको कागजात नक्कली भएको सुपारी खेती संघ र उद्योग वाणिज्य संघ झापाले प्रमाणितसमेत गरेको थियो ।

गत असार २६ गते विराटनगर भन्सारले प्रति ट्रक एक सय १३ रुपैयाँ राजस्व लिएर जाँचपास गरिदिएको थियो । सोही दिन आइसिपी मार्गबाट भारतको जोगबनी भन्सारमा छिरेका सुपारी बोकेका ती ट्रक एक हप्तापछि साउन ४ गते मात्र जोगबनी कस्टमबाट २७ लाख रुपैयाँको भन्सार शुल्क तिरेर जाँचपास भएका थिए ।

भारत बिहारको बथनाहमा रहेको मीरगन्ज पुल जीर्ण भएकाले हेभी लोडेड सुपारी बोकेका ती ट्रक सुनसरीको भन्टाबारी नाकाबाट रिरुट गराएर भारत लैजान खोजिएको थियो । सोही क्रममा इलाका प्रहरी कार्यालय, रानीले सुपारी बोकेका आठ वटा ट्रकलाई नियन्त्रणमा लिएको हो ।

सुपारीधनीहरुले भन्सार एजेन्ट किशोर शाहीमार्फत् सबै प्रमाणित कागजात भएको र भन्सार प्रक्रिया पनि पूरा भइसकेको सुपारी प्रहरीले बदनियतपूर्वक दुःख दिन पक्राउ गरेको आरोप लगाएका थिए । एजेन्ट शाहीका अनुसार यसअघि पनि ७० भन्दा बढी ट्रक सुपारी विराटनगर भन्सार हुँदै भारत निकासी भइसकेको थियो ।

तर, प्रहरीले भने नेपालमा उत्पादन भएको भन्नेबारे परीक्षणपछि मात्र सुपारी छाड्ने अडान लिएपछि सुपारीधनीहरु पछि हटेको बताइन्छ । करिब १० करोड मूल्य बराबरको उक्त सुपारी भारतको नागपुर लैजान खोजिएको थियो । मोरङ प्रहरीले थप अनुसन्धानका लागि भन्दै राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको ट्रक र सुपारी छाड्न खोजिएको हो ।

टिप्पणीहरू