राष्ट्रपतिविरुद्ध मधेसमा प्रदर्शन, सिरहा र धनुषामा पुत्ला जलाइयो

राष्ट्रपतिविरुद्ध मधेसमा प्रदर्शन, सिरहा र धनुषामा पुत्ला जलाइयो

नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध मधेस प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन भएको छ । काठमाडौँमा सत्ता गठबन्धनमा आवद्ध दलका भ्रातृ संगठनहरुले आन्दोलन गरिरहेका बेला मधेसमा मधेस केन्द्रित राजनीतिक दलहरु सडकमा ओर्लिएका हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेको भन्दै सत्तारुढ जसपा, प्रतिपक्ष लोसपा, सिके राउतको जनमत पार्टी, तमलोपालगायतले छुट्टाछुट्टै आन्दोलन गरेका छन् । जसपाका नेता–कार्यकर्ताहरूले साँझ ५ बजे स्थानीय जनकचोकमा जम्मा भई राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेका छन् । त्यस क्रममा प्रहरी र जसपाका कार्यकर्ताबीच झडपसमेत भएको छ ।

जसपाका कार्यकर्ताहरुले आजै अपरान्ह वीरगञ्जमा पनि राष्ट्रपतिविरुद्ध प्रदर्शन गरेका छन् । आदर्शनगरमा जम्मा भएका जसपाको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघका नेता–कार्यकर्ताले टायर बालेर राष्ट्रपतिको कदमको विरोध गरेका हुन् ।

लोसपाले राष्ट्रपति भण्डारीविरुद्ध जनकपुरमा प्रदर्शन गरेको छ । पिराडी चोकमा जम्मा भएका लोसपाका कार्यकर्ताले एक घण्टा चक्काजाम गरेका थिए । जनमत पार्टीले आजै बिहान सिरहामा राष्ट्रपति भण्डारीको पुत्ला जलाएको थियो भने तमलोपाले राजीनामाको माग गर्दै जनकपुरधाममा प्रदर्शन गरेको थियो ।

टिप्पणीहरू