नेताले रहर गरेपछि कार्यकर्ताको बिजोग !

नेताले रहर गरेपछि कार्यकर्ताको बिजोग !

‘काम गर्ने कालु मकै खाने भालु’ भनेझैं पार्टी निर्माणको निम्ति रातोदिन खट्ने एमाले कार्यकर्ताहरू नेताले मूल्याङ्कन गर्लान् र आउँदो चुनावको लागि सांसदको टिकट पाउँला भन्ने आशा त्यत्तिकै तुहिएको छ । नेताहरू विदेश गएको बखत गाडीमा चढाउने, डुलाउने, मीठामिठा खाना खियाउने पियाउने र फर्कींदा उपहार दिएर पठाउने आप्रवासी नेताहरू रातविरात अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष इश्वर पोखरेलको निवासमा देखिन थालेपछि यस्तो आंकलन गरिएको थियो । उनीहरू काठमाडौंको सुन्धारामा टिकटको लागि डेराजम्जाएर बसेका पनि हुन् ।

टिकटका आकांक्षी कतिपयले पार्टी केन्द्रीय कार्यालय च्यासलमा पाइताला नटेके पनि राती राती नेताहरूको घरघर पुगेको देखिएको छ । दिउँसो घर जाँदा पार्टीको लागि स्वदेशमैं बसेर मरिमेट्ने कार्यकर्ताहरूले अनेकथरी बात लाउँछन्, देख्छन् र कुरा काट्छन् भनेर यी नेता रातीराती नेताको घरदैलोमा टुप्लुकिने गरेका हुन् । विशेष गरी अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा यस्ता नेता रातको ११ बजेपछि थुप्रिने गरेको स्रोतले दाबी गरेको छ ।

स्वदेशमैं बसेर पार्टी संगठन गरेका कार्यकर्ता भने दिनभर पार्टी कार्यालयमा नेता भेटेर आफ्नो कुरा राख्न पनि नपाउने अवस्थामा छन । पार्टी कार्यालयमा कुर्दा पनि नेता भेट्न नसकेपछि भोलिपल्ट घर दैलोमा भेटघाट गरेकै हुन् ।

अर्कोतर्फ केही केन्द्रीय नेता प्रतिनिधि सभाबाट विदा लिई सके पनि फेरि प्रदेश सभाकोको टिकट पाए लड्ने मनस्थितिमा देखिए । जसले गर्दा ग्रासरुट लेवलका कार्यकर्ताहरूले आशा झिनो बन्न पुग्यो ।

टिप्पणीहरू