भ्रामक समाचार फैलाएर इज्जतमाथि दाग नलगाउन मेयर बालेनलाई अस्पतालको जवाफ

भ्रामक समाचार फैलाएर इज्जतमाथि दाग नलगाउन मेयर बालेनलाई अस्पतालको जवाफ

काठमाडौको स्वयम्भूमा सञ्चालित मनमोहन मेमोरियल अस्पतालले सम्पत्ति कर नतिरेको भन्ने समाचारमा कुनै सत्यता नभएको जनाएको छ । अस्पतालले सम्पत्ति कर नतिरेको भन्दै काठमाडौँ महानगरले सूचना निकालेकोमा आपत्ति जनाउँदै मनमोहनले नियमितरुपमा कर तिरिरहेको पनि बताएको छ ।

अस्पतालले आज जारी गरेको विज्ञप्तिमा महानगरलाई तिर्नुपर्ने सम्पत्ति कर वडा कार्यालयमार्फत प्रक्रिया पूरा गरि तिर्दै आएको प्रष्ट पारेको हो । सेयर सदस्य, सर्वसाधारण नागरिक, अस्पतालका सेवाग्राही, शुभचिन्तकहरुलाई भ्रामक समाचारप्रति विश्वास नगर्न अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. एन शर्माले आग्रह गरेका छन् ।

‘नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि.द्वारा सञ्चालित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले सम्पत्ति कर नतिरेको र सोको लागि महानगरपालिकाबाट बारम्बार ताकेता भइरहेको भन्ने समाचारप्रति अस्पतालको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अस्पताल प्रशासनले काठमाडौ महानगरपालिकालाई तिर्नु÷बुझाउनुपर्ने सम्पत्ति÷घर जग्गा कर सम्बन्धित वडा कार्यालयमार्फत प्रक्रिया पूरा गरी तिर्दै अघि बढिरहेको कुरा सबैलाई जानकारी गराइन्छ ।’

भ्रामक समाचार फैलाएर अस्पतालको इज्जतमाथि दाग लगाउने प्रयास नगर्न पनि अस्पतालले भनेको छ । यसअघि वीर अस्पतालले पनि महानगरलाई यस्तै जवाफ दिएको थियो ।

टिप्पणीहरू