विद्यार्थी कुटेर कहिलेसम्म बहादुर बन्ने ?

विद्यार्थी कुटेर कहिलेसम्म बहादुर बन्ने ?

– दर्शन शर्मा

अघिल्लो शुक्रवार र आइतवारको बीचमा धेरै फरक भयो, अवस्था । दुई दिनअघिकोे घटना मुखले गरेको सहमतिमा टुंगियो । विद्यार्थी (छोरो) कुट्ने प्रिन्सिपललाई जसरी पनि कारबाही गराउने अठोटमा रहेकी शिक्षक (आमा) गलिन् सायद । त्यसका अनेकौं कारण होलान् । विद्यालयभित्रको कुरा विद्यालयभित्रै मिलाउन सहमत भइन् । राजनीतिक कारण होलान् । व्यावसायिक कारण होलान् । एउटै ठाउँका मानिस मिलेर बस्नुपर्छ भन्ने पनि भयो होला । दुई दिनअघि ठूलो लागेको घटना पछि सानो पो लाग्यो कि ? आलो हुँदा जति दुखेको थियो घाउ पुरानो हुँदा कम दुख्यो कि ? सहमत हुन बाध्य पारियो कि ? विस्तारै घटनाको पटाक्षेप हुँदै जाला ।

एउटै स्कुलबाट शुक्रबार आमा–छोरो सँगै घर पुगे । बिहान पनि उसैगरी एउटै बसमा गएका थिए । घर पुगेर विद्यालयको पोशाक फेर्ने बेला आमाछोराको आँखा जुध्यो । आमाको ममतामयी नजरले गालामा बसेका नीलडाम पनि देख्यो । सुन्निएका गाला र रोएर थाकेका नयन पढ्न नसक्ने पनि कोही आमा हुन्छ र ?

६ कक्षा पढ्ने छोरोले विद्यालयमा शिक्षकको पिटाइ खाएको त परको कुरा, कुनै सिकायतको मौका पनि दिएको थिएन । पढाइमा अब्बल, व्यवहारमा असल– यति भएपछि आमालाई के चाहियो ! तर शुक्रबारको दृश्यले आमाको मनमा ठूलै आँधीहुरी ल्याइदियो । ‘छोरा, कसरी लाग्यो गालामा चोट ?’ सामान्य प्रश्न गर्न निकै गा¥हो भयो । त्यसमा छोराले दिएको जवाफ सामान्यभन्दा निकै परको छ ।

सुन्निएका गाला र रोएर थाकेका नयन पढ्न नसक्ने पनि कोही आमा हुन्छ र  ?  विद्यार्थीले गल्ती गर्नु असामान्य हाे, शिक्षकले कुट्नु सामान्य ।

‘चौथो पिरियडको क्लास चलिरहेको थियो । प्रिन्सिपल सर क्लासमा आउनुभयो । अपशब्द प्रयोग गर्दै मलाई उठाउनुभयो । म्यामको छोराको ताल त यो छ भन्दै गालामा चड्कन हान्न थाल्नुभयो । दायाँबायाँ दुबै गालामा चड्कन बर्सिइरहे । चौथो थप्पडसम्म त गन्न सकेँ त्यसपछि रिंगटा लाग्यो, सँगैको साथीले लड्न दिएन । सायद प्रिन्सिपल सरको हात दुख्यो अनि बाहिरिनुभयो ।’

‘अहिले के छ त छोराको अवस्था, अनि के भन्छ ?’

‘शारीरिक दुखाइ छैन । गालामा घाउ छ । (फोटोमा हेर्न सक्नुहुन्छ । उसको मामाले फेसबुकमा राखेको छ ।) त्यो स्कुल जानुप¥यो भने पढाइ नै छाड्छु भन्छ । आफैंले पढाउने स्कुलमा आफ्नै बच्चा सुरक्षित छैन भने अरुको के होला ? म पनि स्कुल पढाउन जान्न । मेरा दुई बाबु पनि जाँदैनन् ।’ मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर ६ बज्रबाराहीस्थित इअन इङ्लिस एकेडेमीमा कक्षा ६ मा पढ्ने बिसिङ्खेलका आगमन थापा र उनकी आमा सोही स्कुलकी शिक्षक मुना बस्नेतबीचको बातचित हो यो ।

आगमनले कुटाइ खानुको कारण अचम्मको छ । विद्यालयको सूचना घरमा पु¥याएन भनेर प्रिन्सिपल निर्मल केसीले कुटपिट गरेका रहेछन् । शुक्रबार अभिभावक भेला बोलाइएको थियो । भेलामा आगमनकी आमा उपस्थित भइनन् । आगमनलाई लाग्यो मेरी आमा अभिभावक मात्रै हैनन्, स्कुलको शिक्षक पनि हुन् । मैले नभने पनि सरहरूले भनिहाल्नुहुन्छ ।

प्रिन्सिपललाई लाग्यो शिक्षकको छोराले नै सूचना दिएन । तपाईंको मनमा प्रश्न आयो नि सूचना पु¥याउने काम स्कुलको कि विद्यार्थीको ? यसको जवाफमा किन टाउको दुखाइरहनु ! सिधासिधी कुरा गरौं, यसमा प्रिन्सिपलले पूर्वाग्रह राखेकै हुन् । त्यो भेलामा नआउने आगमनको मात्रै हैन, अरुका अभिभावक पनि थिए । सूचना नपु¥याउने विद्यार्थी अरु पनि थिए । आगमन यसै भन्दैछन् । प्रिन्सिपल केसीले आफ्नै सहकर्मीको छोरा अर्थात् जेहेन्दार र असल विद्यार्थी कुटेर बहादुरी देखाए ।

जब घटना शिक्षक बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिन्, त्यसले धेरै वटा प्रश्न जन्माएका छन् । अभिभावकहरूले जबरजस्त उठाउने साझा प्रश्न हो– आफ्नै शिक्षिकाको बच्चालाई नै यसरी कुटपिट हुन्छ भने अरूको हालत के होला ?

त्यो स्कुलमा चार सयभन्दा धेरै विद्यार्थी छन् । ३०–४० जना शिक्षक, कर्मचारी छन् । यी सबैले आफ्नै शिक्षिकाको बच्चालाई नै यसरी कुटपिट हुन्छ भने अरूको हालत के होला ?भनेर सोच्नुपर्छ । ४ देखि ६ महिनासम्म शिक्षकलाई तलब नखुवाउने अनि प्रिन्सिपललाई टाईमा बाँधिएको विद्यार्थी कुट्न ‘इजाजत’ दिने इअन एकेडेमीको भविष्य के होला भन्ने चिन्ता नगरौं, पढ्न भनेर विद्यालय गएका आफ्ना बालबालिका घाइते भएर साँझ घर फर्कने अवस्था आइरह्यो भने के होला भनेर चिन्ता गरौं । अझै स्कुल पठाएको सन्तान साँझ घर फर्किएन भने के होला ? सोच्दा पनि रिंगटा चल्छ नि !

हुन त सामाजिक सञ्जालमा स्टाटस लेख्नेबित्तिकै शिक्षकलाई प्रिन्सिपलको फोन आएको रहेछ स्टाटस हटाउन र स्कुलको कुरा स्कुलमै मिलाउन । निजी विद्यालयमा यो घटना पहिलो हैन, त्यही विद्यालयमा भएको घटना पनि यो पहिलो होइन । अरु कयौं विद्यार्थी कुटिएका छन् ।

केही समयअघि केही विद्यार्थी कुटिए । एक विद्यार्थी शिक्षकले दिएको यातनाले आत्महत्या गर्न भनेर हिंडेछन् । अभिभावकले जसोतसो फकाएर ती बालकको ज्यान त जोगियो, तर पढ्न जान ती बालकले मन गरेनन् । शिक्षकले कहिल्यै नकुट्ने प्रतिवद्धता जनाएपछि बालक विद्यालय फर्किए । कस्तो जाली कुरा गरेका शिक्षकले भने नि ती शिक्षकले पो नकुट्ने त अरुले कुट्न पाइयो नि ! नकुटिने विद्यार्थी अहिले पनि कुटिएका छन् । कारण उही हो, पढ्न नजानेको, गृहकार्य नगरेको, कक्षामा हल्ला गरेको यस्तै यस्तै ।

नङ नकाटेको, कपाल नकोरेको, टाइ नलगाएको यस्तै यस्तो त हुन् नि कारण ! कहिलेकाहीं सर क्लासमा पस्दा नउठेको, कहिलेकाहीं इमर्जेन्सी पर्दा नसोधी शौचालयतिर दगुरेको यस्ता पनि कारण हुने नै भए । विद्यार्थीले गल्ती गर्नु असामान्य हो, शिक्षकले कुट्नुु सामान्य । यस्तै सोच्ने पो गरिन्छ नि । कार्यालयको काम सकेर सँगै फर्कंदै गर्दा सहकर्मी भन्दै थिए, स्कुल पढ्दा सरहरूले पाइप नै पाइपले हिर्काउँथे । अरु त अरु आफ्नै काकाले हल्ला गरेको भनेर एक पिरियडभरि ट्वाइलेटमा थुन्दिएका छन् । विद्यार्थीलाई छुनै हुन्न भन्छन् । यस्तै सिकाइबाट हुर्किएकाहरू अहिले अभिभावक छन् ।

उनीहरूलाई विद्यार्थी कुटिनु सामान्य लाग्छ । अझै पनि कतिपय अभिभावक छोराछोरीलाई एक–दुई झापड लगाइदिन भनेर स्कुल पुगिरहेका हुन्छन् । दण्डरहित शिक्षाका बारेमा अभिभावक सचेत छैनन्, शिक्षक पनि विद्यार्थी कुट्नुलाई बहादुरी ठान्छन् । यसरी शैक्षिक स्थिति सुध्रिँदैन । विद्यार्थी कुट्नमा हैन, नकुटी पढाउनमा प्रतिस्पर्धा हुनु राम्रो हुन्छ । विश्वका अनुभवले शिक्षणको लौरे विधिभन्दा रचनात्मक विधि नै सफल भएका छन् ।

विकसित देशमा विद्यार्थी कुट्ने कल्पनै गर्न सकिन्न । त्यहाँ त विद्यार्थी फेल हुँदा शिक्षकले राजीनामा दिनु पर्छ । विद्यार्थीले कम नम्बर ल्याउँदा शिक्षकले जवाफ दिनुपर्छ । नेपालमा त कम नम्बर ल्याउँदा विद्यार्थीले कुटाइ खानुपर्छ, अभिभावकले जवाफ दिनुपर्छ । त्यही भएरै होला, यहाँ शिक्षकको कुटाईबाट विद्यार्थी अंगभंग भए पनि विद्यालयमै मिलाइन्छ । यसको दीर्घकालीन असर शिक्षक र अभिभावकले सोचेभन्दा भयानक हुन सक्छ । यो थाहा पाउँदा धेरै ढिलो भइसकेको हुनेछ ।

टिप्पणीहरू