क्याबिनेट रुमका सबै प्वाल कब्जा

क्याबिनेट रुमका सबै प्वाल कब्जा

आजकल पानी, चिया र डाइजेष्टिभ बिस्कुट– यत्ति हो खान पाइने । बैठकको अवधि घटेको छैन, प्रायः बेलुकी उही ४ देखि ५ घण्टा नै चल्छ ।

देश चलाउने ठाउँ यस्तो छ, जहाँ बाहिरी मानिसको त कुरै छाडौँ, निर्जीव हावा पनि छिर्न पाउँदैन ! प्रधानमन्त्रीको अस्वस्थ्यतापछि नियमित रुपमा बालुवाटारस्थित उहाँको सरकारी कम्पाउण्डमा मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ । ३ नं. गेटनजिकैको सभाहललाई मन्त्रिपरिषद् बैठक बस्ने दिन ‘क्याबिनेट हल’ बनाइन्छ ।

अघिपछि झ्यालहरु खुल्लै हुने,हावा छिर्ने अन्य ठाउँमा अवरोध गरिँदैन । तर, जब त्यो ‘क्याबिनेट हल’ मा परिणत हुन्छ,तब यताबाट ‘छिर्ला कि उताबाट छिर्ला’ भनेझै हावा छिर्ने प्वालहरु बन्द गराइन्छन् । त्यसो त हलभित्र एसीको व्यवस्था छ । गर्मीमा पसिनाको चिट्चिडाहट र ठण्डीमा चिसोको ‘स्युँस्युँ’ खेप्नु पर्दैन । तर, प्राकृतिक हावालाई दुश्मनै सम्झिएझैँ व्यवहार छ, बालुवाटारको ।

यस्तो हुन थालेको हो, कोरोना संक्रमणपछि । शायद, कोरोना हावाबाट पनि सर्छ भन्ने कुराप्रति चनासो भएका ‘अजासु’ कर्मचारीको बुद्धिले यस्तो भइरहेको हुनसक्ने एकजना मन्त्रीले जनआस्थालाई सुनाए । कोरोनापछि दुःख हावाको मात्रै होइन,खाजाको पनि छ ।

पहिला–पहिला मन्त्रिपरिषद् बैठक भनेपछि मन्त्रीहरु क्वार्टर वा अफिसका खाना र खाजा छाडेर पुग्थे । तर, आजकल पानी, चिया र डाइजेष्टिभ बिस्कुट– यत्ति हो खान पाइने । बैठकको अवधि घटेको छैन,प्रायः बेलुकी उही ४ देखि ५ घण्टा नै चल्छ ।

प्रधानमन्त्रीका लागि बेला–बेलामा कुटुकुटु चपाउने चिजहरु आइरहेका हुन्छन् । तर, ‘मलाई पनि भोक लाग्यो’ भन्न नमिल्नाले कतिपय मन्त्री हैरान छन् ।

जब मन्त्री यो दुःखमा छन् भने तिनलाई लिएर जाने अरुको दुःखको हिसाब छैन ।

एकजना क्याबिनेट मन्त्रीसँग कम्तिमा एउटा पिए, प्रहरीको पिएसओ, सेनाको जमदार र ड्राइभर गरी चार जना मान्छे पुगेका हुन्छन् । गृह र रक्षा सम्हालेका उपप्रधानमन्त्रीसँग थप १०–१० जनाको डफ्फा हुन्छ । गृहमन्त्रीसँग प्रहरी र सशस्त्रका अगुवा–पछुवा हुन्छन् भने रक्षामन्त्रीसँग प्रहरी, सशस्त्रसँगै सेनाको पनि डफ्फा हुन्छ ।

यी डफ्फालाई ३ नं. गेटसँगैको क्यान्टिन र प्रतिक्षालयमा बस्ने व्यवस्था हुन्छ । तर, कोरोना संक्रमणपछि क्यान्टिनमा खाने कुरा पाइन छाडेको छ । उही चिया, पानी र बिस्कुटकै भर ।

कोरोनाअघि यिनीहरुले पनि मन्त्रीका लागि तयार पारिएका खाना वा खाजा पाउँथे ।

क्याबिनेटमा ‘जोगी’

भारत,उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालले जारी गरेको नक्सापछि दिएको प्रतिक्रियाप्रति बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले रोष प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, ‘एउटा जाबो जोगीले धेरै ठूलो कुरा गर्‍यो !’
यस्तो कुरा सुनेपछि केही मन्त्री मुसुमुसु हाँसिरहेका थिए ।

एकजना मन्त्रीले भने, ‘देशको प्रधानमन्त्री भएर छिमेकी देशको मुख्यमन्त्रीबारे के टिप्पणी गर्नुभएको होला ? डोनाल्ड ट्रम्प वा मोदीकै कुरा काटेको भए पो एउटा मज्जा आउँथ्यो ..!’

टिप्पणीहरू