गृहमन्त्रीको सक्रियतामा सुन काण्ड दबाइएको ठहर

गृहमन्त्रीको सक्रियतामा सुन काण्ड दबाइएको ठहर

गृहमन्त्री बालकृष्ण खाँणको सवारी हुँदा अगुवा गाडीमा रहने अंगरक्षक नै सुन काण्डमा सामेल भएपछि समातिएको काण्ड ढिसमिसको अवस्थामा पुगेको छ । गत भदौ पहिलो साता हेडक्वार्टर सँगैको एक नम्बर गणमा थुनिएका वरिष्ठ सई टंक कार्की मन्त्री खाँणको सवारीमा अघिपछि हिँड्ने सुरक्षाकर्मीको अगुवा र पछुवा सवारी साधनको समूहमा कार्यरत थिए ।

सुन काण्ड छरपस्ट भएपछि प्रहरी प्रधान कार्यालयले त्यहाँबाट थुतेर छानबिन गर्न थालेको थियो । यसअघि खाँण रक्षामन्त्री हुँदा पनि उनी सोही समूहमा थिए । गृहमन्त्रीमा नियुक्त भएपछि अगुवा गाडीमा हिँड्न थाले ।

गत असार ९ गते हिमालय एअरलाइन्सको दुबई उडानबाट छ जनाले अर्काको सुन बोकेर आएका थिए । ती सबै भिजिट भीसामा काम गर्न गएका हुन् । काम गर्न नपाएपछि सुन बोकाएर अरुले भरिया बनाई काठमाडौं पठाएको अनुसन्धानबाट खुलेको छ ।

उता काम गर्न गएकाले भाडाको लोभमा सुन बोकेको बयान दिए । नेपाल टेक्नासाथ छ जनामध्ये एक जनाले सुन लिएर अन्तै हिँडेपछि कुरो बाहिरियो । एसएसपी जीवन श्रेष्ठको नेतृत्वमा उनीहरु सबैमाथि अनुसन्धान भयो । उक्त सुन त्यसरी मगाउने काण्डको प्रपञ्च मिलाउने उनै टंक कार्की रहेको यथार्थ पनि खुल्दै गयो ।उताबाट सुन पठाउनेले काठमाडौं पुगेपछि ५० ग्राम सुन हराएको गुनासो गरे । सुन पठाउने आकाश ठकुरी थिए । ५० ग्राम सुनसहित भागेकालाई ठीक पार्ने प्रपञ्च कार्कीले मिलाएको रहस्य खुल्यो । त्यसरी सुन लिएर भाग्ने को थिए भन्नेबारे अरु पाँच जना र आकाशले कार्कीलाई बताएपछि त्यो सुन जम्मा पार्न उनी ज्यान फालेर दौडिएका थिए ।

५० ग्राम सुन नबुझाउनेलाई पक्रेर कार्कीलगायतको समूहले गौशाला वृत्तमा लगी ११ दिन थुनाए । ती व्यक्तिले आफूसँग भएको चार लाख र चेक लुटिएको आरोप लगाए । ती सबै काम उनै कार्कीको योजना र संलग्नतामा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पनि खुल्यो ।

त्यो दिन ५० ग्राम सुन बोकेर सरासर विमानस्थलबाट बाहिर गएका व्यक्ति एअरपोर्टबाट सुकेधारा पुगेका थिए । त्यसपछि उनलाई सिभिल ड्रेसका प्रहरीले पक्रे । प्रहरीले पक्रेर ११ दिनसम्म थुनेपछि किन त्यसरी थुनियो भन्ने बारेमा प्रहरी अनुसन्धान केन्द्रित भयो । डिएसपी कार्यरत रहेको वृत्तमा भएको उक्त घटनामा धेरै जना आशंकाको घेरामा तानिए । त्यसमध्ये कार्की प्रमुख योजनाकार प्रमाणित भए ।

प्रहरीले पीडित भनिएकालाई पनि बोलाएर बयान लियो । आफू संलग्न भएको समाचार बाहिरिएपछि मन्त्रीका पिएसओ सबैलाई छुटाउने नयाँ प्रपञ्चमा लागे । प्रहरीले अनुसन्धानमा सम्भव भएसम्मका ठाउँको सिसिटिभी फुटेजसमेत हेर्यो । तर अहिले मन्त्रीको निर्देशनमा सुन काण्डका कार्कीलाई हेर्ने बाहेक कारवाहीमा कलम चोप्न नसकेको बताइन्छ ।

‘यो सबै घटना गृहमन्त्रीले दबाएका हुन्,’ प्रहरी स्रोतलाई उद्धृत गर्दै गृह मन्त्रालयका एक जना अधिकृत भन्छन्, ‘पुष्टि को आधार छैन भनेर घटना सामसुमतर्फ अघि बढ्यो । तीन हप्ता बढीसम्म केही नगर्नु भनेको अब केही नगर्ने भन्ने हो ।’

टिप्पणीहरू